© २०२३
दाङको घोराही उप महानगरपालिकाले फोहोरबाट ग्याँस उत्पादनका लागि निजी कम्पनीलाई जिम्मा दिएको छ ।एक बर्ष भित्रै ग्याँस उत्पादन गर्ने गरी घोराही उपमहानगरपालिकाले नेपाल उर्जा विकास कम्पनी प्रालीलाई २० बर्षका लागि जिम्मा दिएको हो ।
फोहरबाट ग्याँस उत्पादनगरी आयआर्जन गर्ने तथा बजारबाट उत्पादन भएको फोहरलाई व्यवस्थापन गर्ने उद्देश्यले घोराही उप महानगरपालिकाले तयारी गरेको थियो । दुई बर्ष लामो गृहकार्य पछि घोराही उपमहानगरपालिका, बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्र ललितपुर र नेपाल उर्जा विकास कम्पनी प्राली काठमाडौं बीच सोमबार त्रिपक्षिय सम्झौता भएको छ । घोराही उप महानगरपालीकाका तर्फबाट प्रमुख नरुलाल चौधरी, ग्याँस उत्पादन गर्ने निजि कम्पनीका तर्फबाट नेपाल उर्जा विकास कम्पनी प्रालीका निर्देशक श्रीराम अधिकारी र बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका तर्फबाट कार्यक्रम व्यवस्थापक प्रकाश आर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्रमा साक्षिकारूपमा घोराही उप महानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनार र सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले समेत हस्ताक्षर गरेका छन् । निजि कम्पनीका तर्फबाट नेपाल उर्जा विकास कम्पनी प्रालीका प्रबन्धक फूलराज चौधरी र बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रका व्यवसाय विकास अधिकृत दिपक पौडेलले साक्षीकारूपमा हस्ताक्षर गरेका छन् ।
घोराही उप महानगरपालीका १६ करौतीडाँडामा २० करोड रूपैयाँको लागतमा उक्त ग्याँस उद्योग स्थापना हुने छ । सो बजेटमा ६० प्रतिशत निजि कम्पनी र ४० प्रतिशत विश्व बैंकको लगानी रहेको छ । घोराही उप महानगरपालिका १६ करौती डाँडामा रहेको ल्याण्डफिल साईडमै ग्याँस उद्योग स्थापना हुने छ । सम्झौता भए लगत्तै निर्माणको प्रकृया थाल्ने बैकल्पीक उर्जा प्रर्बद्धन केन्द्रले जनाएको छ । सम्झौता भएको १४ महिनामा पछि ग्याँस उत्पादन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले घोराही उप महानगरपालिका क्षेत्रबाट उत्पादन भएका कुहिने फोहोरहरूबाट दैनिक १ हजार ३ सय किलो ग्याँस निकाल्ने र ६ टन प्राङगारीक मल उत्पादन गर्ने जनाएको छ । उत्पादन थालेको ५ बर्ष सम्म घोराही उप महानगरपालिकाले फोहोर संकलन र ढुवानी गर्ने छ भने २० बर्षपछि सो कम्पनीले चालु अबस्थामा घोराही उप महानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको छ । त्यसैगरी कम्पनीले उत्पादन पश्चात कूल उत्पादनको १ प्रतिशत रोयल्टी रकम घोराही उप महानगरपालीकालाई बुझाउनु पर्ने छ । ५ बर्षपछि रोयल्टी आवश्यक छलफलका आधारमा निर्धारण गर्ने सम्झौता पत्रमा उल्लेख भएको छ ।
तत्कालिन घोराही नगरपालिकाले करिब ३ बर्ष पहिले देखी फोहोरबाट ग्याँस तथा मल उत्पादन गर्ने गरी निजी कम्पनी सँगको समन्वयमा प्रकृया थालेको थियो । लामो समयको अन्तरालपश्चात उप महानगरपालीकाले निजी कम्पनीसंग सहकार्य गरेको हो । अहिले घोराही उप महानगरपालीका क्षेत्रवाट दैनिक १५ देखी १८ टन गल्नेफोहर निस्कने गरेको छ । तर ग्यास उत्पादनका लागि दैनिक ३० टन गल्ने फोहर आवश्यक पर्ने उर्जा कम्पनीले जनाएको छ । त्यसका लागि अहिले घोराही उप महानगरपालीका क्षेत्र भित्रका कुखुरापालक किसान तथा गाई भैसी फर्महरूवाट गोवर तथा सूली संकलन गर्ने योजना कम्पनीले बनाएको छ ।