© २०२३
आफ्नो गाउँठाउँका नेता मन्त्री भएपछि गाउँको विकास हुने आशा गरेका दाङ बिजौरीका स्थानीयहरू निराश छन् । साविकको बिजौरी गाविस हाल तुलसीपुर उप महानगरपालिका–१८ हाडिमेमा जन्मीएका शंकर पोख्रेल मुख्यमन्त्री हुँदा पनि विकासले गति लिन नसकेको स्थानीयको गुनासो छ ।
जिल्लाको नेता मन्त्री भएपछि विकासका मुहान फुट्ने आशा गर्ने नागरिकका लागि आफ्नै गाउँले प्रदेशको मुख्यमन्त्री हुँदा समेत विकाश हुन नसकेकोमा स्थानीयहरूले चिन्ता ब्यक्त गरे । कृषिको लागि उर्वरा भूमि मानिने विजौरी गाविसमा सिंचाईको अभाव भएको स्थानीयहरू बताउँछन् । ५०÷६० वर्ष पहिले नेपाल सरकारले ग्वारखोला कुलो सिंचाई योजना बनाई कुटेचौरमा बाँध बनायो । उक्त सिंचाई योजनाले विजौरी गाविसका सम्पूर्ण भू–भाग सिंचाई गर्ने योजना अनुसार कुलो पक्कि बनाउँदै विजौरी गाउँ (मुख्यमन्त्रीको घरसम्म) सम्म त ल्याई पु¥यायो तर त्यसपछि बिस्तार गरेन ।
विजौरीका स्थानीय बासीन्दा तथा मुख्यमन्त्रीका सहपाठी डिल्लीबहादुर बस्नेतका अनुसार उक्त सिंचाई योजनालाई बिस्तार गर्ने हो भने बाह्रै महिना खेती गर्न सकिन्छ । तर शंकर पोख्रेलले त्यसतर्फ ध्यानै दिएनन् । “विजौरी सम्म त भयो तर त्यसलाई अझै विस्तार गर्ने हो भने मनिकापुर, दुधराससम्म सिंचाई सुविधा पु¥याउन सकिन्छ” रावतले भने । ग्वारखोला मनिकुलो सिंचाई योजना ५० वर्ष भन्दा पहिले सुरु भए पनि अहिलेसम्म हस्तान्तरण हुन सकेको छैन । उत्पादनको दृष्टिले पनि राम्रो मानिएको उप महानगरपालिकाका १८ र १९ नं. वडाबासीहरू कृषि क्षेत्रको विकासको अपेक्षामा छन् । त्यस्तै विजौरीलाई केन्द्र बनाउने गोरेटो तथा ट्रयाक सम्म खुलेको बिजौरीदेखि रोल्पाको दहवन जानेबाटो पनि अलपत्र अवस्थामा रहेको छ । दहवनका नागरिक आफूले उत्पादन गरेका बस्तु तथा तरकारी बिक्रीका लागि सोही बाटो प्रयोग गरेपनि बाटो विस्तारका लागि अहिले सम्म कसैको नजर पुग्न सकेको छैन । उक्त बाटोका बारेमा मुख्यमन्त्री जानकार रहेको स्थानीय प्रकाश रेग्मी बताउँछन् ।
पञ्चायतकाल तथा १० वर्षे जनयुद्धको समयमा सुरक्षित सडकका रूपमा प्रयोग भएको सडक बिस्तारमा नेताहरूको ध्यान नपुग्नु दुःखद भएको रेग्मीले बताए । संकटको समयमा प्रयोग गर्ने तथा सहज समयमा भुल्ने हाम्रा नेताको परीपाटिले देशमा विकाश नभएको उनको भनाइ छ । प्रदेश सरकारले बिजौरी–हाडिमे हुँदै छिल्लीकोट सम्म पुग्ने बाटोको स्तरोन्नतिको लागि २ करोड वजेट छुट्टाएको छ । त्यो बाहेक तत्कालीन विजौरी गाविसका लागि मुख्यमन्त्रीको नजर नगएको गुनासो स्थानीयहरूले गरेका छन् ।
मुख्यमन्त्रीकै गाविसमा पर्ने धार्मिक तथा पर्यटकिय क्षेत्र छिल्लिकोट पनि ओझेलमै परेको छ । अहिलेसम्म उक्त क्षेत्रमा विद्युतको सुबिधा पुग्न सकेको छैन । तल्लो विजौरी क्षेत्रका स्थानीय नागरिकहरूले ईन्टरनेटको सुबिधा लिइरहेपनि छिल्लीकोटका स्थानीयहरू फोन सेवाबाट बन्चीत रहेको स्थानीय परविर पुनले जानकारी दिए । स्वास्थ्य चौकी भएपनि औषधिको अभाव रहने उक्त क्षेत्रका वासीन्दाका लागि कसले ध्यान दिनुपर्ने हो नागरिकहरू प्रश्न गर्छन् ।
“मोबाईल सेवाको लागि कृष्णबहादुर महरासँग आग्रह गरेका थियौं त्यसका लागि अहिले सर्वे समेत भैसक्यो अब टावर निर्माणको काम हुने छ” पुनले भने । तर आफ्नै ठाउँमा जन्मेका पोख्रेलले नागरिकलाई निराश मात्रै बनाएको आरोप छ । शंकर पोख्रेल मुख्यमन्त्री भएपछि छिल्लीकोटको विकास हुने र त्यहाँका स्थानीयहरूको आयस्तर बृद्धि हुने अपेक्षा गरेका थिए । छिल्लिकोटमा पानीको समेत समस्या छ । त्यस्तै विजौरी हाडिमे क्षेत्रमा रहेको बेलझुण्डी खानेपानी पनि सिमेन्ट उद्योगको कारण प्रदूषित भएको छ ।
मुख्यमन्त्री शंकर पोख्रेलले कक्षा ७ सम्म अध्ययन गरेको जनता संस्कृत माध्यामिक विद्यालय पनि जस्ताको त्यस्तै छ । त्यही विद्यालयमा अध्ययन गरेका विद्यार्थी अहिले पाँच नं. प्रदेशको मुख्यमन्त्री भए तर विद्यालयको समस्या जहाँको त्यहिँ छ । नेपाल संस्कृत विश्वविद्यालयको १२ सय विगाह जमिन मध्ये आधा जनता संस्कृत विश्वविद्यालयलाई दिने मन्ने तत्कालीन राजाको आदेश भएपनि उक्त जग्गा अहिलेसम्म विद्यालयले पाउन सकेको छैन । आम्दानीको अन्य स्रोत नहुँदा विद्यालय समस्याग्रस्त छ । नेपाल संस्कृत विश्वविद्यालयले स्थानीय तहमा गएको भन्दै तलब भत्ता तथा मर्मत खर्च उपलब्ध गराउन छोडेपछि विद्यालय झन् समस्यामा परेको छ । आफ्नै विद्यालयले उत्पादन गरेको विद्यार्थी अहिले मुख्यमन्त्रीको पदमा पुगेपछि विद्यालयले उनीसँग धेरै अपेक्षा राखेको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कृष्णबहादुर केसी बताउँछन् । “विश्वविद्यालयसँग पाउनुपर्ने जग्गा मात्र मुख्यमन्त्रीले दिलाईदिए विद्यालय आफ्नै आम्दानीमा चल्ने थियो” केसीले भने ।
खानेपानी, सिंचाई, सडक, स्वास्थ्य तथा शिक्षामा सहजताको आशा गरेका बिजौरीबासीहरू यतिबेला निराश बनेका छन् । मुख्यमन्त्रीले आफ्नो जन्मस्थानको बिकासका बारेमा ध्यान नदिनुले उनीप्रतिको नागरिकको विश्वासमा कमी ल्याउने देखिएको छ ।