© २०२३
यस अघिका दुई आर्थिक बर्षमा बुद्धस्थल तिलौराकोट वरिपरिको खेतीयोग्य जमिनलाई अधिकरण गरि सम्बन्धित जग्गाधनीलाई मुआब्जा समेत दिइएको भएपनि सो जग्गाको उब्जनीको आम्दानी व्यक्तिको पाकेटमा पुगेको छ ।
तिलौराकोट दरबार क्षेत्रको उत्तर, पुर्वको कन्थक स्तुप क्षेत्र र सो वरपरका क्षेत्रको १७ बिगाहा ८ कठ्ठा साढे ८ धुर जग्गालाई मुआब्जा दिई अधिकरण गर्ने कार्य गत आव २०७४÷७५ मै सम्पन्न भएको भेटिएको छ । कुल १ सय ५ व्यक्तिका नाममा रहेको १ सय ५ कित्ता जग्गालाई २०७३÷७४ मा २० करोड र २०७४÷७५ मा २१ करोड १६ लाख ९६ हजार ६ सय ५२ गरि कुल ४१ करोड १६ लाख ९६ हजार ६ सय ५२ रूपैयाँको खर्चमा अधिकरण गरिएको जिल्ला प्रशासन कार्यालयको लेखा शाखाको तथ्याङ्कले देखाएको छ ।
गत आवको अषाढ मसान्त सम्मकै अबधीमा केहि सम्पर्कमा नआएका जग्गाधनीको जग्गा समेत पुरातत्व बिभागका नाममा लालपुर्जा बनाई सम्बन्धित व्यक्तिलाई मुआब्जा लिनका लागि सार्वजनिक सुचना जारी गरिएको थियो । अषाढ मसान्त सम्म पुरातत्व बिभागको नाममा सो खर्चमा जग्गाहरू आएपनि पुरानै जग्गाधनीहरूले नै बर्षेबालीको रूपमा रहेको धान खेतीसँगै अहिले आएर तोरी खेती गरेका छन् ।
पुरातत्व बिभागका नाममा अधिकरण गरिएका अधिकांस जग्गा बिगतमा खेतीपाती गरिँदै आएको सिंचाई सुबिधा रहेको उत्पादन योग्य जग्गाहरू रहेका छन् । मुआब्जा लिई सकेका पुरानै जग्गाधनीले जग्गामा धानखेती गरि जग्गाको भोगचलन गर्दै आए पनि पुरातत्व बिभागले आफ्नो नाममा रहेको सो जग्गाको संरक्षण गर्नुका साथै उत्पादनको आम्दानी बाध्न नसक्दा राज्यकोषलाई लाखौं रूपैयाँ घाटा भएको देखिएको छ । पुरातत्व बिभागले आफ्नो नामको जग्गामा समयमै तारबार गरि संरक्षण गर्ने बिषयमा समयमै निर्णय लिन नसक्दा उत्पादनको आम्दानी बाध्न नसकेको देखिएको हो ।
जिल्लाको धान उत्पादनको अवस्था बारे जानकारी लिँदा कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख सहसराम चौधरीले यस बर्ष बर्षा कम भएकोले धान उत्पादन घट्ने आँकलन गरि प्रारम्भिक रूपमा प्रति हेक्टर २ दशमलब ९३ मेट्रिक टन धान उत्पादनको अनुमान गरिएको जनाए । पछिल्लो समय जिल्लाको सबै स्थानीय तहमा गरिएको क्रप कटिङ्ग तथ्याङ्कमा प्रति हेक्टर ३ दशमलब ११ मेट्रिक टन धान उत्पादन भएको प्रमुख चौधरीले जानकारी दिए ।
सोहि तथ्यका आधारमा हेर्दा अधिकरण गरिएको १७ बिगाहा ८ कठ्ठा साढे ८ धुर (११ दशमलब ६ हेक्टर) जग्गाको क्षेत्रफलमा ३६ दशमलब शुन्य ७९ मेट्रिक टन धान उत्पादन भएको अवस्था छ ।
सोही उत्पादनको सरदर मूल्य प्रति मेट्रिक टन २५ हजार कायम गर्दा अधिकरण गरिएको जग्गामा ९ लाख १ हजार ९ सय ७५ रूपैयाँ बराबरको धान उत्पादन भएको देखिन्छ । पुरातत्वको नाममा रहेको जग्गामा पुरानै जग्गा धनीले यस बर्ष ९ लाख बढिको धान उत्पादन गरे पनि बिभागले आफनो नामको जग्गाको संरक्षण गर्न नसक्नु गम्भिर बिषयको रूपमा देखिएको छ । पुरातत्व बिभागको नाममा रहेको जग्गाको उत्पादन बाध्न नसकिएको बिषयमा प्रतिक्रिया लिदा पुरातत्ब बिभागका प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुवरले यस बर्षको अषाढ मसान्त सम्म अधिकरणको प्रक्रिया सकिएकोले सम्बन्धित जग्गाधनीले धान खेती गरि सकेकाले अधिकरण गरेको जग्गाको संरक्षण गर्न तथा उत्पादनको आम्दानी बाध्न समस्या भएको प्रतिक्रिया दिए ।
“अघिल्लो आवमै अधिकरणका लागी २० करोड खर्च भएको अवस्था रहेछ । त्यो जग्गाको संरक्षण किन गर्न सक्नु भएन त ? ” भन्ने टुडेकर्मीको प्रश्नको जवाफमा अघिल्लो आवमा अधिकरण गरिएको जग्गा खासै खेती योग्य नभएको र कतिपय जग्गाधनी धरौटी प्रक्रियामा रहेको भन्दै प्रमुख पुरातत्व अधिकृत कुवर पन्छिन खोजे । “यस बर्ष देखी सार्वजनिक सुचना नै प्रकाशन गरेर जग्गामा तारबार गरि संरक्षण गर्ने प्रक्रिया अगाडी बढाउने छौं” उनले थपे ।