© २०२३
गाउँगाउँ सम्म मोटरबाटो पुगेपछि सल्यानमा आलु खेती फस्टाएको छ । किसानहरू व्यवसायिक रूपमा आलु खेती गर्न थालेका छन् । र यसबाट उनीहरूको जीवनस्तर फेरिएको छ । खासगरि जिल्लाको बागचौर नगरपालिका वडा नम्बर १२ बाफुखोलामा ठूलो परिमाणमा किसानले आलु फलाउने गर्छन् । पछिल्लो समय गाउँबस्ती सम्म मोटरबाटो पुगेपछि आलु बिक्रीको चिन्ता हटेको छ । आलुसँग चामल साट्ने बाफुखोलाका किसान हिजोआज गाउँमै व्यापारी आउने भएपछि बारिबाटै नगद हात पारेर आलु बिक्री गर्ने गरेका छन् । आलु खेतीको विस्तारले युवाहरू गाउँमै स्वरोजगार बनेका छन् भने काला पहाड जानुपर्ने बाध्यता हटेको छ ।
व्यवसायिक आलु खेतीमा लागेपछि आफ्नो जीवनस्तर फेरिएको बाफुखोलाका स्थानीय कृषक डिल्ली ओलीले बताए । उनले एक वर्षमा मात्रै ४० क्विन्टल आलु उत्पादन गरेर सात लाख रूपैँया हात पारेको बताए । उनले भने, ‘पैले पैले आलु उत्पादन भएपनि बजारको ठूलो समस्या थियो । तर अहिले व्यापारीहरू खेतबारीमै आइपुग्ने गरेका छन् ।’ केही वर्ष अघिसम्म परिवार पाल्नका लागी पैसा कमाउन भारतमा जान बाध्य भए पनि आलु खेतीले घरमै रोजगारी पाएको उनले बताए । आलु खेतीबाट वार्षिक चार लाख रूपैयाँ आम्दानी गर्दै आएका अर्का स्थानीय कोमल ओलीले व्यवसायिक रूपमा आलु खेती गरे देखी आम्दानी पनि राम्रै हुन थालेको बताए । ‘अहिले घर खर्च चलाउन र बालबालिकालाई पढाउन समेत सजिलो भएको छ,’ उनले भने ।
बाफुखोलाकै अर्का स्थानीय दुर्गा ओलीले विगतमा बाटो नहुँदा धेरै आलु कुहिएर खेर जाने समस्या रहेकोमा अहिले त खरिदकर्ता गाउँमै आएर राम्रो मूल्यमा आलु खरिद गर्ने गरेको बताए । उनले भने, ‘बारीबाट प्रतिकिलो २२ देखि २४ रूपैयाँमा आलु बिक्री हुन्छ ।’
अहिले बाफुखोलाका किसानहरूले खाद्यन्न बालीको उत्पादन कम हुने भएकाले आलु खेतीलाई प्राथमिकता दिएका छन् । करिब एक हजार घरधुरी रहेको बाँफुखोलामा ८० प्रतिशत किसान व्यवसायिक आलु खेतीमा लागेका छन् । आलुको पकेट क्षेत्र मानिने बाफुखोलामा मात्रै वार्षिक ११ करोडको आलु उत्पादन भइ बिक्री हुने गरेको कृषि ज्ञान केन्द्र सल्यानले जनाएको छ । जिल्लाको वाँफुखोलाका अलावा कोटमौला, दमाचौर, ढाकाडाम, कोटबारा लगायतका क्षेत्रमा किसाने आलु फलाउने गर्छन् । जिल्लामा उत्पादित आलु सवैभन्दा बढी पोखरा जाने गरेको छ ।