© २०२३
बुधबार राति नेपाली कांग्रेसका नेता प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी र उहांकी आमा ग्यास सिलिण्डर दुर्घटनामा जलेर गम्भीर घाइते हुनुभएको छ ।
उहांको उपचार नेपालमा सम्भव नभएपछि विदेश लैजान किर्तिपुर बर्न अस्पतालले सिफारिश गरेको छ । सर्वप्रथम म उहांहरु दुबै जनाको पूर्ण स्वास्थ्य लाभका कामना गर्दछु ।
नेपालमा यो घटना नयां होइन यो भन्दा अगाडि यो भन्दा ठूला र भयानक दुर्घटनाहरु थुप्रै भएका छन् । थुप्रै सर्वसाधारण नागरिकको ज्यान गइसकेको छ ।
खाना पकाउने ग्यास लिक्वीड पेट्रोलियम ग्यास (एलपीजी) हो । ग्यास गह्रुंगो हुने भएकाले जहां सिलिण्डर राखिएको हुन्छ ग्यासको मात्रा भुईतिर हुन्छ । अक्सिजन (हावा) र ग्यास मिल्यो भने आगलागी हुन्छ । अझ सिलिण्डर पड्कियो भने त त्यो बम भन्दा पनि खतरानाक हुन्छ, भुई तलामा सिण्डिर पड्कियो भने चार तले घरको चौथो तल्ला पनि ध्वस्त पार्छ ।
ग्यास सिलिण्डरबाट आगलागी हुने मुख्य ३ कारण छन् । पहिलो सिलिण्डर, दोस्रो रेगुलेटर र तेस्रो ग्यास पाइप । तर सिलिण्डर पडकिनुका पछाडि रेगुलेटरबाट हुने ग्यास लिक प्रमूख कारण हो । आगलागी हुनुमा उपभोक्ताको असावधानी पनि हुन सक्छ । र उत्पादक तथा बिक्रेताको बदमासी पनि । मुख्य कुरा सरकारको प्रभावकारी अनुगमन र जनचेतनाको कमी ।
कसरी सुरक्षित हुने त ?
ग्यास उद्योगहरुमा उत्पादनकै समयमा ग्यासलाई सुरक्षित बनाउन भएका प्रयासमा केही कमजोरी हुन सक्छ । जस्तो कि सिलिण्डर तयार भएपछि सबै सिलिण्डर पानीमा डुबाएर परीक्षण गरिएको हुनुपर्छ । त्यो नहुंदा सिलिण्डर लिक भए–नभएको थाहा हुंदैन । यदि लिक भएको सिलिण्डर उपभोक्ताको घरमा पुग्यो भने दुर्घटना हुनसक्छ । सिलिण्डर लिक छ छैन थाहा पाउन सिलिण्डरको ज्याइन्ट (जोडिएको ठाउं) मा पानी राखेर थाहा पाउन सकिन्छ । लिक छ भने बुलबुल फोका उठ्छ ।
रेगुलेटरबाट ग्यास लिक भए नभएको थाहा पाउन एक मुठी पानी रेगुलेटरको वरिपरि खन्यायो भने पत्ता लाग्छ । लिक छ भने बुलबुल फोका उठ्छ । यदि हामीले सेन्सरवाला रेगुलेटर प्रयोग गरेको खण्डमा रेगुलेटरका कारण हुने दुर्घटना पूर्णत रोकिन्छ । गुणस्तरीय रेगुलेटर ३ सय देखि ४ सय सम्ममा पाउन सकिन्छ भने सेन्सरवाला १४ सय सम्म पर्छ ।
ग्यास पाइपको कुरा गर्नुपर्दा तीन लेयरको पाइप प्रयोग गर्दा सुरक्षित हुन्छ । पीभीसी पाइप प्रयोग गर्न हुंददैन । यो मुसाले काट्नसक्ने, तातोका कारण जल्न र पग्लिन सक्ने हुन्छ । अहिले बजारमा ९० प्रतिशत पीभीसी पाइप छ ।
तीन लेयरको पाइप एक मिटरको ३०० देखि ५०० रुपैयां मूल्यको हुन्छ । ग्याससंग सम्बन्धित वस्तु किन्दा हामीले सधै गुणस्तरीय वस्तु प्रयोग गर्नुपर्छ । सस्तोको लोभमा गुणस्तरहीन सामान प्रयोग गर्दा हामी र हाम्रो परिवारको ज्यान जोखिममा हुन्छ ।
सिलिण्डर डिलरबाट ल्याउँदा वा लैजाँदा कुनै पनि अवस्थामा गुडाउन हुंदैन । डिलरले घरसम्म ल्याइदिएको ग्यास चुहावटयुक्त छ कि छैन, परीक्षण गर्नुपर्छ । भान्सामा सिलिण्डर सधैँ ठाडो बनाएर राख्नुपर्छ ।
कुनै पनि अवस्थामा ग्यासलाई सुताएर वा कोल्टे पारेर वा घोप्ट्याएर प्रयोग गर्न हुंदैन ।
सिलिण्डर भन्दा कम्तीमा ६ इन्च माथि ग्यास चुलो राख्नुपर्छ । कहिलै पनि चुलोभन्दा सिलिण्डर माथि राख्नु हुँदैन। त्यस्तै ग्यासको रबर पाइप १.५ देखि २ मिटरभन्दा लामो हुनु हुँदैन । रेगुलेटर नमिलेर वा बिग्रेर पनि ग्यास लिक हुन सक्छ। सिलिण्डर फेरिसकेपछि रेगुलेटर राम्ररी कँस्नुपर्छ ।
सिलिन्डरमा ग्यास सकिनासाथ भान्साभन्दा बाहिर राख्नुपर्छ । पुराना सिलिण्डर प्रयोग गर्नुहुंदैन ।
ग्यास चुल्होका लागि चाहिने रेगुलेटर, पाइप, चुल्हो, रबरहरु नेपाल सरकारले गुणस्तर प्रमाण पत्र जारी गरेको कम्पनीको मात्रै प्रयोग गर्नुपर्छ।
ग्यास चुल्होसँग सम्बन्धित उपकरणहरु सकेसम्म हरेक दुई वर्षमा फेर्नुपर्छ ।
सिलिण्डरबाट चुल्होसम्म पु¥याउने पाइप अनिवार्य फेर्नुपर्छ ।
खाना पकाइसकेपछि रेगुलेटर अनिवार्यरुपमा बन्द गर्नुपर्छ। खाना पकाउँदा कोठाको झ्याल ढोका खुल्ला गर्नुपर्छ।
खाना पकाउन बस्दा सुतीको कपडा लगाएर बस्नुपर्छ । ग्यासको सिलिण्डर भएको ठाउँमा एलपी ग्यासको तीखो गन्ध आयो भने ग्यास लिक भएको बुझ्नुपर्छ ।
ग्यासको तिखो गन्ध थाहा पाउनेबित्तिक्कै आगोका झिल्का निस्कने जस्तै–चुल्हो, लाइटर, सलाई, बिजुलीका प्लग, धुप जस्ता कुनै पनि उपकरण चलाउनु हुँदैन ।
ग्यास लिक भएको थाहा पाउने बितिक्कै पहिले रेगुलेटर र पछि चुल्होको निभ बन्द गर्नुपर्छ । ग्यास लिक भएको सिलिण्डर रेगुलेटरबाट छुटाएपछि सिलिण्डरमा हुने सुरक्षा क्याप लगाएर कोठा बाहिर राख्ने । ग्यासको अनावश्यक भण्डारण नगर्ने ।
आगो लाग्ने बितिक्कै ग्यास पड्किंदैन । तर हामी पड्किन्छ भनेर भाग्छौँ । आगो लागिरहेको सिलिण्डर तत्कालै पड्किदैन, बरु सिलबन्द कुनै सिलिण्डर छेउमा छ भने त्यो चै पड्किन्छ, त्यसलाई तुरुन्तै बाहिर निकाल्नुपर्छ ।
आगो लाग्नेबितिक्कै लिक भएको ठाउँमा चिसो कपडाले छोप्ने, रेगुलेटर वा क्यापले ग्यासको चुहावट रोक्न सकिन्छ । ब्लान्केट भिजाएर सिलिण्डर छोप्ने, जुटको बोरा भिजाएर छोप्ने तथा पानी राख्ने बाल्टिनले बेस्सरी सिलिण्डर छोप्दा पनि आगलागी नियन्त्रण गर्न सकिन्छ ।
सिलिण्डरको म्याद पनि उपभोक्ताले जान्नैपर्ने कुरा हो ।
जो कोही सर्वसाधारणले पनि सहजै हेर्न र पत्ता लगाउन सक्छन्। सिलिण्डरको घाँटीमा भएका ३ वटा लाम्चा डण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्यादलाई जनाउनेगरी कोड राखिएको हुन्छ। सो कोडकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद पत्ता लगाउन सक्छन्।
यस्ता ग्यासको सुरुमा ए, बी, सी र डी मध्ये एउटा अक्षर लेखिएको हुन्छ। त्यसपछि १६, १७, २०, २२, २५ आदि अंकहरु लेखिएको हुन्छ। यसकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्याद थाहा पाउन सक्छन्।
ए, बी, सी र डीले अंग्रेजीका क्रमशः ३–३ महिना जनाउँछ। एले जनवरी, फेबरुअरी र मार्च महिना जनाउँछ भने बीले अप्रिल, मे, जुन महिनालाई जनाउँछ। सीले जुलाई, अगष्ट र सेप्टेम्बर तथा डीले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ।
त्यस्तै अंग्रेजी अक्षरपछि लेखिएको अंकले मिति जनाउँछ। जस्तै २३ अंक लेखिएको भएमा त्यसको म्याद २०२३ सम्म हो भन्ने बुझ्नुपर्दछ। ‘बी २३’ लेखिएको सिलिण्डरको म्याद सन् २०२३को जुन महिनासम्म हो भन्ने बुझ्नुपर्दछ। यस हिसावले मूल्याङ्कन गर्दा अहिले प्रयोगमा आएका सिलिण्डर १६ अंकभन्दा मुनिको हुनु हुँदैन। अहिलेको मितिलाई ए १६ ले जनाउँदछ। तर यो मिति अन्तिम मिति हुने भएकाले बजारमा २६ अंकसम्मका सिलिण्डर पाइन्छ।
एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ। १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ। तर ग्यास उद्योगहरुले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वन नगरेको समेत पाइने गरेको छ।
हाइड्रोलिक टेष्ट गरेपछि सिलिण्डर नचुहिने पाइयो भने मात्रै त्यो सिलिण्डर पुनः ५ वर्षसम्म प्रयोग गर्न सकिने नत्र कवाडीमा दिनुपर्ने हुन्छ। सिलिण्डरको म्याद सकिएपछि वा बीचमै चुहावट भएमा त्यसलाई मर्मत तथा वल्डिङ गरेर प्रयोग गर्न पाइँदैन।
सिलण्डरको म्याद मात्रै होइन, त्यसको तौल पनि धेरैलाई थाहा नभएको हुन सक्छ। विभिन्न कम्पनीका सिलिण्डरको तौल फरक फरक हुने गरेको छ। फलामको तौल फरक फरक भए पनि त्यसले कुनै प्रभाव भने पार्दैन। केही सिलिण्डरको १४ र केही सिलिण्डरको १५ केजीभन्दा बढी तौल हुने गरेको छ।
यो पनि सिलिण्डरमा स्पष्टसँग जनाइएको हुन्छ। सिलिण्डरको घाँटीमा रहेका तीन डण्डीमध्ये एउटामा वा घाँटीमुनि सुरुमा सिलिण्डरको तौल र त्यसको मुनि ग्यासको तौल १४ दशमलव २ केजी लेखिएको हुन्छ।
सिलिण्डरको फलामको तौल जति भए पनि ग्यासको तौल भने १४ दशमलव २ केजी हुनैपर्छ। लेखिएको फलामको सिलिण्डरको तौल र ग्यासको तौल जोड्दा आउने समग्र तौल जोखेर पनि ग्यासको वास्तविक तौल जो कोहीले पत्ता लगाउन सक्दछन्। ग्याससहितको एउटा सिलिण्डर जोख्दा १४ दशमलव २ केजी र फलामको जम्मा तौल जोड्दा आउने योगफल मिल्नुपर्दछ। अन्यथा ग्यासको तौलमा घटीबढी भएको बुझ्न सकिन्छ।
यसरी भान्सामा प्रयोग हुने सिलिण्डरको म्याद बुझ्न सकेमा यसबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्नका लागि पनि सावधानी अपनाउन सकिन्छ।
त्यस्तै सिलिण्डरमा फलामको तौल र ग्यासको तौल जोड्दा आउने कुल योगफल पनि सबैले चेक जाँच गर्नु जरुरी छ। यसबाट ग्यासको तौलमा कमी गराएर हुन सक्ने ठगीबाट जोगिन सहयोग पुग्छ नै सम्वन्धित पक्षलाई पनि सही तौल कायम राख्न दवाव पुग्दछ।
देशभर अहिले २८ लाख बढी सिलिण्डरहरु उपभोक्ताका घरमा छन् । दैनिक ८० हजारदेखि एक लाख सिलिण्डर बजारबाट खाली उठ्ने र त्यति नै संख्यामा रिबोटलिङ भएर वितरकमार्फत उपभोक्ताको घरमा पुग्ने तथ्यांक छ । यसका अतिरिक्त देशभरका झण्डै ६० वटा ग्यास उद्योगको आफ्नै स्टोरेजमा पनि ग्यास मौज्दात हुन्छ ।
सबैभन्दा महत्वपूर्ण विषय सरकारले ग्यास विक्रि वितरणलाई कडाईका साथ नियमन र अनुगमन गर्न जरुरी छ । ग्यासका डिलरहरु मानव वस्ती भन्दा टाढा खुला ठाउंमा हुनुपर्छ । तर अहिले घर घर गल्ली गल्लीमा ग्यास सिलिण्डरका डिलर छ्यापछ्यापती छन् । यस्तो गैर जिम्मेवार परिपाटीलाई रोक्नुपर्छ । यसतर्फ बेलैमा ध्यान दिइएन भने भविष्यमा झन् ठूला दुर्घटनाको शिकार हुनुपर्नेछ ।
(ग्यास विक्रेता संघ रुपन्देहीका अध्यक्ष पन्थसंग टि.आर. शर्माले गरेको कुराकानीमा आधारित )