© २०२३
झिमरुक गाउँपालिका–८ लिवाङका रबि परियारलाई राम्रोसँग आँखा नदेख्ने समस्या थियो । ७३ वर्षिय परियारले स्पष्टसँग आँखा नदेख्दा संसार अँध्यारोजस्तै लागेको थियो । जिल्ला बाहिर पुगेर आँखा चेकजाँच गर्न उनलाई समय मिलेको थिएन ।
बिहीवारदेखि दुई दिनसम्म संचालन भएको मोतियाविन्दुको शल्यक्रियामा उनी उपचार गराउन विजुवार आए । शिविरमा उपचार गराएपछि उनले स्पष्टसँग आँखा देख्ने भएका छन् । ‘अहिले राम्रोसँग देख्ने भएको छु’, उनले भने, ‘बल्ल संसार देखेजस्तो लाग्यो ।’ उनलाई छोरा देब परियारले उपचार गराउन ल्याएका थिए । ‘बस्न र खानाको पैसा लागेन्’, देवले भने,‘उपचार गरेको पैसा लागेको छ ।’ कालो चस्मा र औषधिसहित बुवालाई उपचार गराएर फर्केको उनले बताए ।
बायाँ आँखाले धमिलो देख्दै आएकी प्यूठान नगरपालिका–८ धर्मावतीकी लक्ष्मी सुनारले पनि मोतियाविन्दुको शल्यक्रिया गरिन् ।
उनलाई उपचार गराउन पैसा लागेन् । प्यूठान नगरपालिकाको कार्यालयले नगरक्षेत्रका जेष्ठ नागरीकहरूका लागि आँखाको चेकजाँच र शल्यक्रिया गर्ने व्यवस्था निःशुल्क बनाएको छ । नगरपालिकाले वार्षिक रूपमा एकमुष्ट बजेट विनियोजन गरी नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्र, प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारलाई प्रदान गर्नेगर्छ । नेत्रज्योतिले सोही बजेटबाट वार्षिक रूपमा नगरका विभिन्न वडामा पुगेर जेष्ठ नागरीकहरूको उपचार गर्दै आएको छ । उपचार गराउन आएका अन्य गाउँ तथा नगरपालिका क्षेत्रका जेष्ठ नागरीकहरूले तीन हजार एक सय २५ रूपैयाँ खर्च गरेका छन् । अन्य स्थानीय तहले पनि जेष्ठ नागरीकहरूका लागि बजेट विनियोजन गरेर यस्ता शिविरहरू निःशुल्क रूपमा संचालन गर्न बृद्धबृद्धाहरूले सुझाव दिएका छन् । ‘बृद्धबृद्धालाई दोसल्ला र माला लगाएर मात्र सम्मान हुँदैन्’,मोतियाविन्दुको शल्याक्रिया गराउन आएका झिमरुक गाउँपालिका–३ ओखरकोट दारीमचौरका रण बहादुर खड्काले भने,‘अरू स्थानीय तहले पनि सिक्नुपर्छ ।’
शिविरमा विभिन्न क्षेत्रका ५० जना बृद्धबृद्धाहरूले मोतियाविन्दुको शल्यक्रिया गरेका छन् । धेरैजसो बृद्धबृद्धाहरू ६० वर्ष माथिका छन् । लुम्विनी आँखा अस्पताल भैरहवाका डा.स्वता सिँहको नेतृत्वको टोलीले विरामीको उपचार गरेका छन् । बृद्धबृद्धाहरूलाई १५ दिनपछि पूनः चेकजाँचका लागि अस्पताल बोलाइएको आँखा अस्पतालकी क्लिनीक इन्चार्ज सिर्जना भण्डारीले जानकारी गराइन् । जिल्ला बाहिर पुगेर आँखाको शल्यक्रिया गर्नुपरे दश÷पन्ध्र हजार रूपैयाँ खर्च हुने अस्पतालले जनाएको छ । मोतियाविन्दुको शल्यक्रिया गरिएका नगरपालिका क्षेत्रका बृद्धबृद्धाहरूलाई यसअघि वडा÷वडामा संचालन गरिएको आँखा शिविरमा पहिचान गरिएको थियो । गतवर्षदेखि सहयोग गर्दै आइरहेको नगरपालिकाले यसवर्ष पनि सवै बृद्धबृद्धाहरूको आँखाको उपचार निःशुल्क गर्नेगरी बजेट विनियोजन गरेको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले जानकारी गराए ।