© २०२३
परम्परागत मौरी घारमा वर्षको मुस्किलले चार पटक सम्म मह काडेर व्यवसाय सञ्चालन गर्न कठिनाई देखीन्छ । त्यसो त शहरी क्षेत्रमा गरिने मौरी व्यवसाय उन्नत जातको मौरीको मात्रै हुने गर्दछ । टन्न उत्पादन हुने तर खपतमा निकै कठिनाई भोग्नुपरेको देखिन्छ उन्नत जातको मौरी पालकहरूको । गाउँमा पनि त्यसको प्रभाव परेको देखिन्छ ।
उन्नत जातको मौरीबाट राम्रै उत्पादन र आम्दानी गर्न सकिने भन्दै मौरी पालक कृषकहरूले प्राय उन्नत जातको मौरी व्यवसाय गरेको पाइन्छ । तर वीरेन्द्रनगर १५ रतु (भिर) सुर्खेतका शक्तिबहादुर थापा (बुढा) ले भने गाउँमै बसेर परम्परागत घारको स्थानिय सेरेना जातको मौरीलाई आधुनिक घारमा राखी व्यवसाय सञ्चालन गर्दै आएका छन् । कर्णाली पदेश सरकारले अर्गानिक प्रदेशको लक्ष्य राखेको छ सोहि अनुसार आफूले पनि अर्गानिक मौरीको मह उत्पादनका लागि लोकल मौरीपालन शुरु गरेको थापा बताउँछन् । उनी भन्छन् ‘मौरीपालन आफैमा कठिन व्यवसाय हो । त्यसमा पनि लोकल जातको मौरी घार छोडेर भाग्ने बढि सम्भावना हुन्छ । त्यो चुनौतीका बाबजुद पनि मैले परम्परागत घारको मौरी आधुनीक घारमा पाल्दै आएको छु । गाउमा जंगल चरन गरेका लोकल मौरीको मह किन्नेको भिड घरमै आई पुग्छ ।’ आफूले उत्पादन गरेको लोकल मौरीको मह खपतमा कुनै समस्या नभएको शक्तिको भनाई छ । उनी थप्छन् ‘मेरो घर वीरेन्द्रनगर नगरपालीकाको विकट वडा १५ नं. मा पर्छ । तर ग्राहकहरू लोकल मौरीको मह लिन घरमै आईपुग्छन् । मैले ग्राहकहरूलाई मह पु¥याउन सकेकै छैन ।’ परम्परागत घारबाट वर्षको मुस्किलले चारपटक मह निकाल्न सकिने भएपनि आधुनीक घारबाट महिनामै दुईतिन पटक सम्म मह निकाल्न सकिने भएकोले परम्परागत घार भन्दा आधुनिक घारबाट थुप्रै फाईदा भएको शक्ती बताउँछन् ।
२०७२ सालबाट स्थानीय सेरेना जातको मौरी पाल्दै आएका शक्तिसँग हाल ४० घार मौरी रहेका छन् । मौरीबाट मात्रै महिनाको करिब १५ हजारजति कमाई हुन्छ । शक्तिले भने ‘कृषि क्षेत्रबाटै आर्थिक सम्बद्धि आउँछ । मैले मौरी बाहेक जडिबुटि तथा फलफूल र बाख्रापालन समेत गर्दै आएको छु ।’ करिब ३ लाखको लगानीमा गरिएको मौरी पालनका लागि जिल्ला कृषि विकास कार्यालय सुर्खेतले दुईलाख बराबरको अनुदान रकम दिएको थियो त्यो बाहेक अरू कुनै संघ संस्था र राज्यबाट सहयोग नपाएको शक्ति गुनासो गर्छन् । करिब ५ लाखको लगानीमा शक्तिले ५६ वटा बाख्रा समेत पालन गर्दै आएका छन् । टिमुर, कागती र अनार खेती समेत सँगसँगै गर्दै आएका शक्तिले कृषकका लागि सरकारले अनुदान मात्रै नभएर सौलियत दरमा ऋण उपलब्ध गराउन सके थप हौसला मिल्ने बताउँछन् । सुर्खेत जिल्लाको उत्कृष्ट कृषक बन्ने लक्ष्यका साथ कृषि पेशामा होमीयका शक्तिको पाँच जनाको परिवारलाई आनन्दले घरखर्च पुगेको छ । उनी भन्छन् ‘तीन जना छोराछोरीलाई पढाउन र घरखर्चका लागि कसैलाई गुहार्न परेको छैन । गाउँमा रोजगार छैन भन्नेहरूका लागि साहस बन्न सकेको महसुस मैले गरेको छु ।’ रोजगारी छैन भनी बिदेशीनेहरूका लागी गतिलो उदाहरण बनेका छन् शक्ती थापा । कर्णाली प्रदेश सरकारको अर्गानिक प्रदेश बनाउने लक्ष्यमा पनी एउटा ईटा थप्न सफल भएका छन् उनी ।à