© २०२३
कोजाग्रत पूर्णिमाका दिन जुवा खेलिरहेको आशंकामा छापा मार्न गएका प्रहरी हबल्दारलाई जिल्ला प्रहरी कार्यालय दाङले स्पस्टिकरण मागेको छ । छापा मार्न गएका प्रहरीहरू मध्ये प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्ड प्रहरी हबल्दार राजबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय दाङले फिर्ता समेत बोलाएको छ । फिर्ता बोलाएसँगै उनलाई लिखित स्पस्टिकरण समेत मागिएको छ ।
घोराहीको डिके पेट्रोल पम्प नजिकै जुवा खेलिरहेको आशंकामा छापा मार्न आफ्नो सुरक्षामा खटिएका प्रहरीहरूलाई दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले खटाएका थिए । छापा मार्नको लागि राष्ट्रिय अनुसन्धान कार्यालय दाङका एसपी तथा प्रजीअको सुरक्षामा खटिएको सशस्त्र र जनपथ प्रहरी गएको थियो । चाडपर्व तथा अन्य समयमा पनि जिल्लाका ठूला व्यक्तिहरूका घरमा प्रहरीले छापा मार्दै आएको थियो । तर यसवर्ष प्रहरीले ठूला अखडाहरूमा छापा नमारेका कारण प्रहरीसँग मिलेमतोमा जुवा खेलाईएको हुनसक्ने अनुमान गरिएको छ । जुवा खेलीरहेको सूचना आएपनि जिल्ला प्रहरी कार्यालय मौन बसेको प्रति प्रमुख जिल्ला अधिकारीलाई चित्त बुझेन ।
जिल्लाको सुरक्षा निकायको प्रमुखको हैसीयतले प्रमुख जिल्ला अधिकारीले आफ्नो मातहतका सुरक्षा निकाय परीचालन गरे । तर खानतलासीका क्रममा केही नभेटिएको जिल्ला प्रहरी कार्यालय बताउछ ।
छापा मार्नेक्रममा केही नभेटिएको जिल्ला प्रहरी प्रमुख एसपि कृष्णहरी शर्मा पोख्रेलले बताएका छन् । तर छापा मार्न गएको टोलीले नगद आठ लाख सहित ३५ जना व्यक्तिहरू रहेको बताएको छ । छापा मार्न सिडीओले खटाएकै कारण उनको सुरक्षा गार्ड एसपिले तान्नु नियमित प्रकृया होला, तर स्पस्टिकरण सोधिनुले जिल्ला प्रहरी कार्यालयमाथि नै प्रश्न उठेको छ । प्रहरी भएका कारण प्रमुख जिल्ला अधिकारीले खटाएको काम गर्दा सुरक्षा गार्डले जिल्ला प्रहरी कार्यालयलाई खबर गर्नु नपर्ने प्रहरीका एक उच्च पदस्थ अधिकारीले बताए । उनले जुवाको आशंकामा छापा मार्न गएका प्रहरी हवल्दारलाई स्पस्टिकरण सोधिनु गलत भएको बताएका छन् ।
यस अघि नियमित रूपमा जनपथ प्रहरीले गरेको काम प्रमुख जिल्ला अधिकारीको निर्देशनमा अनुसन्धान तथा सशस्त्र प्रहरीलाई गराएकोमा प्रहरी प्रमुख एसपी कृष्णहरी शर्मा असन्तुष्ट बनेका छन् । उता नियमित रूपमा प्रहरीले गरेको काम नगरेपछि जिल्ला सुरक्षाको प्रमुखको हैसीयतले सुरक्षाका जुनसुकै अंगहरू पनि प्रयोग गर्नसक्ने प्रमुख जिल्ला अधिकारीको भनाइ छ । प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्ड राजबहादुर थापालाई जिल्ला झिकाएको तर स्पस्टिकरण भने नमागिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रामप्रसाद घर्तिले दाबी गरे । “उनको प्युठान सरुवा भएको थियो, त्यसैले जिल्लामा तानेर पठाउने तयारीका भैरहेको छ, स्पस्टिकरण सोधिएको भन्ने हल्ला मात्रै हो” प्रहरी प्रवक्ता घर्तिले भने । तर जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक धनदेव साउदले हस्ताक्षर गरेको स्पस्टिकरण पत्रमा छापा मार्न जानुको कारणहरू लिखित रूपमा पेश गर्न भनिएको छ । छापामार्न जानु अघि जिल्ला प्रहरी कार्यालयलाई खवर नगरेका कारण उनीसँग स्पस्टिकरण मागीएको बुझिएको छ ।
प्रमुख जिल्ला अधिकारीको आदेश मान्नु निमयसंगत नभएको भन्दै उनीसंग स्पस्टिकरण माग्नुले जिल्ला प्रहरी कार्यालयकै मिलेमतोमा जुवा खेलाईरहेको भन्ने आशंका उत्पन्न भएको छ । सानातिना जुवाका अखडामा छापा मारेर प्रहरीले आफ्नो सकृयता देखाएजस्तो गरेपनि ठूला अखडाहरूलाई संरक्षण गरिरहेको बजारमा चर्चाको विषय बनेको छ ।