© २०२३
प्यूठान नगरपालिका वडा नम्बर–८ निवासी काले कुमालले स्पष्टसँग आँखा देख्दैनन् । अस्पताल पुगेर आँखा पुनः चेकजाँच गराउने उनको ठूलो धोको थियो । धेरै समय अघिदेखि नै अस्पताल पुग्ने योजनामा रहेपनि समय मिलेको थिएन । बिहीवार घरनजिकै दम्तीस्थित चौतारामा निःशुल्क आँखा शिविर संचालन भएपछि कुमाल खुसी भए । उनले शिविरमा पुगेर आँखा जँचाए । ‘अस्पताल गएर आँखा जँचाउन पाएको थिएन’,उनले भने,‘घर अगाडि शिविर संचालन भएपछि राहत मिल्यो । औषधी लिएर फर्केको छु ।’
प्यूठान नगरपालिकाको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्र, प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारले शिविरको आयोजना गरेको हो ।
नगरपालिका क्षेत्रमा पर्ने दुर्गम र सामाजिक सचेतनाको हिसावले पछाडी परेका दलित, जनजाती समुदायलाई लक्षित गरी दम्ती चौतारामा शिविर संचालन गरिएको आँखा अस्पताल विजुवारका क्लिनिक इन्चार्ज सिर्जना भण्डारीले जानकारी दिइन् ।
गत आर्थिक वर्ष संचालन गर्ने योजना भएपनि समय नमिलेको उनले सुनाइन । ‘शिविरमा १ सय ५३ जनाले आँखा जाँच गराए’,उनले भनिन्,‘धेरैजसो ४० देखि ६० वर्षका बृद्धबृद्धाहरू हुनुहुन्थ्यो ।’ भण्डारीका अनुसार १५ जनाको मोतियाविन्दु देखिएको छ । उनीहरूलाई आउँदो कात्तिक १५ गते विजुवारमा हुने मोतियाविन्दु शल्यक्रियामा आउन सुझाव दिइएको छ । ‘नगरपालिकाभित्रका जेष्ठ नागरीकहरूको सवै उपचार निःशुल्क हुन्छ’,उनले भनिन्,‘सवै खर्चका लागि नगरपालिकाले सहयोग गरेको छ ।’
नगरपालिकाले सवै जेष्ठ नागरीकहरूको उपचारका लागि गतवर्ष पाँच लाख रूपैयाँ आर्थिक सहयोग गरेको उनले बताइन । नगरबासी बाहेक अन्य ठाउँका व्यक्तिहरूको शल्यक्रिया गर्दा तीन हजार रूपैयाँ खर्च लाग्ने भण्डारीको भनाई छ । गत आर्थिक वर्ष विनियोजित बजेटबाट नगरपालिकाभित्रका सवै क्षेत्रमा शिविर संचालन गरिएको छ । शिविरमा चेकजाँच गर्ने विरामीहरूलाई चस्मा, औषधी समेत निःशुल्क प्रदान गरिनेछ ।
घर छाडेर उपचार गर्न नसक्ने जेष्ठ नागरीकहरूलाई लक्षित गरी गाउँघरमै आँखा शिविर संचालनका लागि सहयोग गरिएको नगरप्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी गराए । ‘बुढाबुढी आफैँमा असक्त हुन्छन्’,उनले भने,‘उनीहरूको हेरचाह गर्नु स्थानीय सरकारको दायित्व हो ।’ आँखा अस्पतालको सहकार्यमा गाउँमै शिविर चलाएर सेवा पु¥याइएको उनको भनाई छ । यसवर्ष पनि शिविर संचालनका लागि बजेट विनियोजन गरिएको उनले बताए ।