© २०२३
तुलसीपुर उपमहानगरपालिका–१९ की ६५ बर्षीय डिल्लीकुमारी शर्मा उपचारका लागि बिजौरीमा रहेको मध्यपश्चिम क्षेत्रिय आयुर्वेद अस्पताल पुगिन् । उनको शरीरको जोर्नी दुख्ने समस्या थियो । उनी जेष्ठ नागरीक बर्गमा पर्ने भएकोले अस्पतालले नाम दर्ता देखी औषधि सम्म सवै निशुल्क रूपमा दियो । उपचार गर्न भनेर सर सापट गरेर ल्याएको पैसा खर्च नभएर निशुल्क उपचार भएपछि उनको खुशिको सिमा नै रहेन । लाग्थ्यो उनको आधा रोग उनको खुशीले नै निको भयो । “बुढाबुढी संग पैसा हुदैन भनेर अस्पतालले पनि सित्तैमा उपचार गरीदियो” शर्माले भनिन् । जोर्नी दुखि रहने र ज्वरो आउने समस्याले सताईएकी उनलाई डाक्टरले नियमित रूपमा औषधि खान र सकिएपछि फेरी आउन सल्लाह समेत दिएको उनले बताईन् । “पहिले देखी नै उपचारगर्न नजीकको अस्पताल भनेकै यही हो मलाई त यहाँको औषधिको धेरै नै विश्वास लाग्छ” शर्माले भनिन् । हाम्रै वरपर पाईने जडिवुटिबाट बनाईने औषधिको धुलो दिने भएकोले खानपनि सजिलो हुने उनको भनाई छ ।
त्यस्तै तुलसीपुर उप महानगरपालीका ४ खाद्रेका रणबहादुर थापा (बर्ष ६५) पनि उपचारका लागि आयुर्वेद अस्पताल बिजौरी पुगे । आफुले थाहा पाएदेखी आयुर्वेद अस्पतालमा उपचार गराएका थापालाई त्यहाँको औषधिले निको भैरहेको बताउछन् । अहिले उनलाई ज्वरो आउने समस्या थियो । उपचार गर्दा उनलाई निमोनिया भएको पत्तालाग्यो । निमोनियाले ग्रसित थापालाई दम पनि रहेको उपचारमा संलग्न आयुर्वेद चिकित्सक डा.रेश्मा वलीले जानकारी दिईन् । विरामीको अवस्था हेरेर आयुर्वेदिक तथा एलोपेथिक औषधि दिने गरेको डाक्टर वलीको भनाई छ । सुरुमा विरामीलाई आयुर्वेदिक औषधिमात्र दिने हो भने रोग ढिला निको हुने भएकोले दुवै औषधि चलाउछौ डा.वलीले भनिन् । ५÷७ दिन पछिको फ्लो अपमा आउने विरामीहरूलाई आयुर्वेदिक औषधि नै चलाउने गरेको डा. वलीले जानकारी दिइन् । त्यस्तै रोल्पा घर भएका ७१ वर्षिय पञ्चबहादुर वली पनि उपचारका लागि अस्पतालमा आएका थिए । उनलाई अम्लपित्त भएको थियो । उनीपनि जेष्ठ नागरीक वर्गमा पर्ने भएकोले उपचार निःशुल्क भयो । उनी खुसीले सरकारलाई धन्यवाद समेत दिए । “जवानीमा त दुईचार पैसा कमाउन पनि सकिन्छ र उपचार गर्नपनि सकिन्छ तर हातगोडा गलेर कमाउन नसक्नेवेला निःशुल्क उपचार पाउदा सरकार अभिभावक नै भैदियो” वलीले भने ।
आयुर्वेद अस्पतालमा पहिला पनि जेष्ठ नागरीक, गरिब तथा विपन्नहरूको निःशुल्क रूपमा उपचार भने भैरहेको मेसु रामकामेश्वर यादवले जानकारी दिए । तर अस्पतालसँग त्यसको एकिन तथ्याङ्क भने नरहेको उनको भनाई छ । अहिले यादवले त्यसको पनि तथ्याङ्क राख्न लगाएका छन् । यो आर्थिक वर्षको अशोज १५ सम्ममा मात्रै ३ सय जनाको निःशुल्क उपचार गरेको अस्पतालको तथ्याङ्कमा छ । निःशुल्क उपचारको दायरामा पर्ने सवै वर्गका मानिसहरूको परिचय पत्रको आधारमा उपचार गर्ने गरेको यादवको भनाई छ । थोरै भएपनि औषधि किन्न सक्ने देखीयो भने ३ वटा औषधिहरू निशुल्क दिने तथा अन्य औषधिहरू खरीद गर्न लगाउने गरेको यादवले बताए । औषधि नै किन्न नसक्ने जस्ता विरामीलाई सम्पूर्ण औषधिहरू निशुल्क दिने गरेको मध्यपश्चिम क्षेत्रिय आयुर्वेद अस्पतालका मेसु यादवले जानकारी दिए ।
बेलाबखतमा आयुर्वेद अस्पतालमा विरामीहरू आउने गरेपनि विशेषज्ञ डाक्टरको अभावमा उपचार प्रभावित हुने गरेको छ । ५ जना विशेषज्ञ डाक्टरको दरबन्दी भएको अस्पतालमा अहिले एक जना मात्र छन् । अस्पतालका मेसु तथा बालरोग विशेषज्ञ डाक्टर राम कामेश्वर यादवका अनुसार विरामीहरू नियमित रूपमा आउने गरेपनि विशेषज्ञ डाक्टर नहुँदा फर्कने गरेका छन् । “म आएको एक वर्ष भयो गतवर्षको तथ्याङ्क हेर्ने हो भने वालरोगका विरामीहरू बढेका छन्” यादवले भने । त्यस्तै डाक्टर यादव आएदेखी पाएल्स र फिसरको पनि अप्रेसन भैरहेको छ । आयुर्वेदिक पद्दति अनुसार पाएल्स र फिसरको सफल उपचार भैरहेकोले अहिले बिरामीहरू पनि अलि बढेको यादवको भनाई छ । उक्त रोगको अप्रेसन पनि डाक्टर यादव आफैले गर्दै आईरहेका छन् ।
अहिले अस्पतालको भौतिक संरचनामा समेत सुधार भएको सेवाग्राहीहरू बताउँछन् । “पहिला अस्पताल आउदा खासै विरामीहरू पनि आउँदैनथे डाक्टरलाई पर्खदा पनि पट्यार लाग्थ्यो तर अहिले अस्पतालको विरामी प्रतिक्षालयमा टीभि राखीएको छ समय वितेको पत्तै हुँदैन” दाङ राजपुर गाउँपालीकाकी ४४ वर्षिय हरिकला पुनले भनिन् । विरामीहरूलाई विभिन्न रोगबाट बच्ने उपायहरू जानकारी दिने उद्देश्यले टिभि जडान गरीएको मेसु यादवको भनाई छ । स्वास्थ्य मन्त्रालयवाट दिईने सिमित बजेटले अस्पतालको व्यवस्थापन गर्न समस्या भएको डाक्टर यादव बताउछन् । “म आए देखी अस्पताल सुधारमा लागि रहेको छु एक्लो मानिसले कति सुधार गर्न सक्छ” ? उनले प्रतिप्रश्न गरे । तल्लो तहका कर्मचारी नहुदा सरसफाईमा समेत समस्या भैरहेको उनले बताए । “क्षेत्रिय अस्पतालमा जम्मा २४ जना कर्मचारी छौ, भएको स्रोत र साधनको प्रयोग गरेर अहिले थोरै भएपनि परीर्वतनको आभाष दिलाएका छौ” यादवले भने ।
अस्पतालमा उपकरणहरू प्रसस्त मात्रामा भएपनि चलाउनको लागि प्राविधिकहरू नभएको मेसु यादवले बताए । साधा एक्सरे, रंगिन एक्सरे र भिडियो एक्सरे अहिले प्राविधिक नभएका कारण बन्द अवस्थामा छन् । एक्सेर चलाउनको लागि करारमा घोराहीकी सम्झना डिसिलाई नियुक्त गरेपनि गएको असार देखि उनको करार थपिएको छैन । भिडियो एक्सरेको लागि महिला तथा प्रसुति रोग विशेषज्ञ अथवा रेडियोलोजिष्टको आवश्यकता पर्ने भएपनि मन्त्रालयवाट त्यसको व्यवस्था नगर्दा उपकरणहरू विग्रदै गैरहेका छन् ।