© २०२३
नेपाल एयरलायन्सले दाङको टरीगाउँ विमानस्थलमा परीक्षण उडान गरेको छ । १० वर्ष अगाडि दाङको टरीगाउँ विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्वीनेटर विमान अवतर गरेको थियो । १० बर्ष अगाडि टरीगाउँ विमानस्थलको घाँसे मैदानमा विमान अवतरण गरेको स्मरण गर्दै क्याप्टेन आङनुरी शेर्पाले अहिले निकै राम्रो भएको प्रतिकृया दिएका छन् । अहिलेकै अवस्थामा १६ सीटे जहाजका लागि उडान भर्न कुनै समस्या नभएको बताउँदै क्याप्टेन शेर्पाले पाँच सय मिटर बिस्तार गरेमा ३२ सीटे जहाज बस्न सक्ने जानकारी दिए । नेपाल वायुसेवा निगमका इन्जिनियर विशाल पौडेलका अनुसार धावनमार्ग उपयुक्त रहेकोले टरिगाउँ विमानस्थल सुरक्षित समेत रहेको छ । विमानस्थल वरपर रहेका रुख बिरुवा र घरले कुनै असर नगर्ने उनले बताए । विमानस्थलको अवस्था बुझ्न आएको प्राविधिक टोलीमा क्याप्टेन उद्धव घिमिरे, मोनिका रञ्जीत र सन्तोष निरौला रहेका छन् । प्राविधिक टोलीले पैतिस सय रूपैयाँ भाडा निर्धारण गरे पनि कुनै घाटा नलाग्ने बताएको छ । इन्धन डिपो स्थापना गरेमा नियमित उडान भर्न सहज हुने उनीहरूले सुझाव दिएका छन् ।
प्राविधिकहरूले पेश गरेको प्रतिवेदनका आधारमा दशैं अघि विमान नियमित हुने उनीहरूले बताएका छन् ।
संघिय सांसद मेटमणी चौंधरी, तुलसीपुर उप महानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलका बीच मंगलवार जहाजले परिक्षण उडान गर्ने र त्यसपछि नियमित उडान भर्ने सहमति भएको थियो । वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल नियुक्त भए लगत्तै उनले देशभर बन्द रहेका बिमानस्थल सुचारु गर्नुपर्ने भन्दै आधा दर्जन एयरपोर्टहरूमा परिक्षण उडान सुरु गरेका हुन् । खरेलका अनुसार अधिकाश जिल्लाहरूमा दशै अघि नियमित उडान गर्ने तयारीमा रहेको समेत जानकारी दिएका छन् । “हामी जनताको सेवा गर्न आएका हौ दुर दराजका जनतालाई सेवा दिनु प्रमुख काम र कर्तव्य हाम्रो हो” उनले भने । प्राबिधिक रूपमा सफल परिक्षण उडान भएका जिल्लामा दशै अघि हवाई सेवा सञ्चालन हुने उनको भनाई छ । भौतिक संरचना नभएका स्थानहरूमा निर्माणको काम हुदै गर्छ तर उडान नरोकिने उनले बताए ।
दाङमा कालोपत्रे भएर जहाजको प्रतिक्षामा रहेको टरिगाँउ विमान स्थल सञ्चालन गर्न दाङका जनप्रतिनिधिहरू एकजुट भएका छन् । टरीगाँउ विमानस्थल सानो भएकोले ठुला जहाजहरू अवतरण गर्न नसकिएको भन्दै नारायणपुर क्षेत्रमा विमानस्थल बनाउने भन्दै ५ नं प्रदेशले बजेट समेत छुट्टाएको छ । तर जनता समक्ष कहाँ र कस्तो विमानस्थल बन्दै छ भन्ने जानकारी नहुदा स्थानीयहरू आन्दोलीत पनि भएका छन् । नारायणपुर क्षेत्रका जनताहरूको माग पनि अन्तराष्ट्रिय विमानस्थल निर्माण नहुँदा सम्म टरिगाउ बिमानस्थलमा नियमित रूपमा उडान हुनुपर्ने बताउछन् । २०७१ सालमा तुलसिपुर उद्योग बाणिज्य संघले निजि लगानीमा करिव दस महिना र जनप्रतिनिधिहरू निर्वाचित भए लगत्तै तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको पहलमा समिट एयरलाइन्सको जहाज करिब ९ महिना सञ्चालनमा आएको थियो ।