© २०२३
गाउँपालिकाले सुरक्षा भत्ता दिँदै परिचय पत्र बनाइदिएपनि राउटेले ठाउँ छाडी सुर्खेत झरेका छन् । यससँगै राउटेलाई स्थायी रूपमा बसाउने गुराँस गाउँपालिकाको योजना तुहिएको छ । गत असार ३१ गते गुराँस गाउँपालिका दैलेखले ४२ घरधुरीका १ सय ४९ जना राउटेलाई स्थायी परिचयपत्र प्रदान गरेको थियो । राउटेहरूलाई स्थायी परिचयपत्र वितरण गरी स्थायी रूपमा बस्ती बसाउने योजना पालीकाले बनाएको थियो । गुराँस गाउँपालिका–८ गर्चेखोलामा बस्दै आएका राउटेलाई सामाजिक सुरक्षा भत्ता समेत गुराँसबाटै दिने योजना गाउँपालिकाको थियो ।
एक गैरसरकारी संस्था र गुराँस गाउँपालिकाको समन्वयमा राउटे बस्तीमा तीन जना कर्मचारी नियुक्ति गरी व्यवहारिक शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्ने गरी कर्मचारी समेत खटाइयो तर त्यो सपना पूरा हुन सकेन । गुराँस गाउँपालिका दैलेखबाट स्थायी परिचयपत्र पाएको तीन महिनापनि नपुग्दै राउटेहरू लेकबेशी नगरपालिका–१० सुर्खेतमा आई बस्न थालेका छन् ।
यस विषयमा राउटे मुखीया दिलबहादुर शाहि आफ्नो परम्परा छोड्न नमिल्ने बताउँछन् । उनी भन्छन् ‘हामी स्थायी रूपमा एकै ठाउँमा बस्न सक्दैनौं । राउटेहरूको जंगल नै घर हो । हामीलाई स्थायी घर होईन भोको पेट भर्न चामल चाहिन्छ ।’ उखानसंग आफ्नो परम्परालाई जोड्दै उनले थपे ‘ राउटेको घर हुँदैन, रोटीको टाउको हँुदैन, आईमाईको जात हुँदैन । त्यसैले हामी जंगलमै रमाउन चाहान्छौं ।’
त्यस्तै राउटेहरूलाई स्थायी परिचयपत्र वितरण गरी स्थायी रूपमा बस्ती बसाल्न पहल गर्दै गरेका गुरांस गाउंपालीकाका अध्यक्ष खेमबहादुर वलीले भन्छन् ‘राउटेहरूलाई स्थायी रूपमा बस्ती बसाल्न त्यति सजीलो रहेनछ । यद्यपी सोसेक संस्थाको सहयोगमा हामीले तिनजना कर्मचारी खटाएका छौं । राउटेहरू जहां गएपनी उनीहरू गुराँस गाउँपालिका नागरिक हुन् ।’ उनीहरूलाई खाद्य तथा सहयोग सामागी्र वितरणमा एकद्धार प्रणाली हुनुपर्ने उनको भनाई रहेको छ । उनले थपे ‘ हामीले राउटेहरूलाई सहयोग सामागी्र वितरणमा एकद्धार प्रणाली हुनुपर्ने माग गरेका छौं । त्यसमा मन्त्रालयसंग पनि छलफल भएको छ ।’ सयोगमा एकद्वारा प्रणाली नहुंदा राउटेहरूलाई कहिले आवश्यकता भन्दा बढि सामग्री वितरण र कहिले पाँच महिना भोकै रहनुपर्ने बाध्यता रहेको समेत उनले बताएका छन् ।
राउटेकी भान्जी भनेर चिनिएकी राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्का (अधिकारीले) लामो समय राउटेसंगै काम गर्दै आएकोले उनीहरूले आफूलाई मात्रै बढि विस्वास गर्ने बताईन् । उनले भनिन् ‘मैले २०६३ सालदेखि राउटेका हरेक सुख दुःखमा साथ दिएकी छु । पहिले पहिले त उनीहरू मलाई पनी विश्वास गर्दैनथे । धेरै लामो संघर्षपछि मेरो विश्वास मान्ने भएका छन् ।’ राउटेहरूलाई सरकारले गास, बास र कपासको पुर्ण ग्यारेण्टि गर्न सक्छ भने आफू राउटेहरूको स्थायी बास बसाल्न सक्ने समेत खड्काको भनाई रहेको छ । प्रतिष्ठानसँग पैसा नभएपनी राउटेका लागि विभिन्न निकायसंग हात थाप्दै उनीहरूको भोको पेट भर्दै आएको उनको भनाई रहेको छ ।