© २०२३
दाङ, ७ पुस ।
कडा दुखाइ, शरीरमा कमजोर हुने, खाना खान मन नलाग्ने यी लक्षण भएका बिरामीले कल्पना पनि गरेका हुँदैनन् आफूलाई कुन रोग लागेको भनेर । स्वास्थ्य परीक्षण गर्दा सिकलसेल एनिमिया भने पछि मात्रै थाहा हुने यो रोग दाङका थारु समुदायमा बढी मात्रामा देखा परेको छ । दाङमा ३ सय २८ सिकलसेलका बिरामी रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । रोग समयमा पत्ता नलाग्ने र उपचार हुन नसकेर बिरामीलाई समस्या भएको थियो । राप्ती प्रादेशिक अस्तालमा परीक्षण हुन थालेपछि बिरामीले सहज भएको महसुस गरेका छन् ।
दाङको राप्ती गाउँपालिका –६ की राजकुमारी चौधरीलाई खुट्टा दुख्ने, जीउ दुख्ने, अल्छी लाग्ने समस्या छ । उनी विगत १० वर्षदेखि सिकलसेल पीडित छन् । देशका विभिन्न अस्पतालमा उपचार गराउँदा रोग पत्ता नलागेपछि भारतमा लगेर उपचार गरियो । परीक्षणका क्रममा उनलाई समस्या भएको तीन वर्षपछि बल्ल सिकलसेल एनिमिया भएको पुष्टि भयो । उनले आफूलाई सिकलसेल भएको थाहा पाएपछि त्यसको उपचार गराउँदा १५ लाख खर्च गरेको बताइन् । अहिले पनि उनलाई बेलाबेलामा समस्या बल्झिन्छ । “बेलाबेलामा खुट्टा दुख्ने, हात, छाती, पेट दुख्ने समस्या हुन्छ भने कहिले श्वास फेर्न पनि गाह्रो हुन्छ”–उनले भनिन् ।
डाक्टरको सल्लाहमा उनले नियमित औषधि सेवन गरिरहेकी छन् । यसो गर्दा उनको लाखौँ रकम खर्च भैसकेको छ तर रोग निको भएको छैन । औषधि सहज रुपमा पाउन नसक्दा उनलाई बेलाबेलामा समस्या हुने गरेको छ ।
गढवा गाउँपालिका वडा नम्बर ३ की सरिता चौधरीलाई पनि सिकलसेल देखिएको छ । उनलाई सिकलसेल भएको दुई वर्ष भयो । नियमित औषधि खाइरहनुपर्छ । औषधि खाँदा–खाँदा पैसा सकिएको उनले बताइन् । “पटक–पटक बिरामी भइरहन्छु, नियमित औषधि खाइरहनुपर्छ,” उनले भनिन्, “पैसा अभावमा कहिलेकाहीँ औषधि छुट्छ । आम्दानीको स्रोत भनेकै खेतीपाती हो । यसबाट आएको पैसाले घरखर्च चलाउनु की उपचार गर्नु समस्या भएको छ ।
दाङमा सिकलसेलका धेरै बिरामी भेटिएका केही स्थानीय तहमा गत असार अन्तिम साता १० वर्षदेखि ३० वर्ष उमेर समूहका व्यक्तिहरूको रगत परीक्षण गरिएको थियो । स्वास्थ्य कार्यालय दाङको समन्वयमा ७ वटा पालिकाहरु घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा, राजपुर, राप्ती र दंगिशरण गाउँपालिकामा रगत परीक्षण गरिएको छ ।
जसमा दुई हजार ८ सय २ जनाको परीक्षण गर्दा ३ सय २८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार राप्तीमा ४ सय १८ जनाको परीक्षण गर्दा ५४ जना, गढवामा ४ सय २१ जनाको परीक्षण गर्दा ४१ जना, लमही नगरपालिकामा ४ सय १६ जनाको परीक्षण गर्दा ४८ जनामा सिकलसेल एनिमिया पुष्टि भएको छ । यसैगरी, राजपुर गाउँपालिकामा १ सय ३ जनाको परीक्षण गर्दा १० जना, दंगीशरणमा ४ सय ५ जनाको परीक्षण गर्दा ६६ जना, तुलसीपुर उपमहानगरमा ४ सय ५४ जनाको परीक्षण गर्दा ७२ जना र घोराही उपमहानगरपालिकामा ४ सय ५२ जनाको परीक्षण गर्दा ३७ जनामा सिकलसेल एनिमिया पुष्टि भएको छ ।
अहिले धेरै जनाको ‘स्क्रिनिङ’ नै हुन सकेको छैन । यसले गर्दा पनि खास यस्ता रोगीहरूको पहिचान हुन सकेको छैन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरम स्क्रिनिङका लागि मेसिन रहे पनि उल्लेख्य मात्रामा मानिस आउने गरेका छैनन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक सय ६६ जनाले औषधि खाइरहेका छन् । राप्ती स्वास्थ्य प्रतिष्ठानकी सामाजिक सेवा इकाईले सेवा व्यवस्थापन हेर्दै आएकी शोभा पोख्रेलले सरकारले बिरामीका लागि उपलब्ध गराउँदै आएको फोलिक एसिड, हाईड्रोक्सिेरिया दिने गरिएको बताइन् । उपचारका लागि आउने बिरामी मध्ये घोराही १७ का एकै परिवारका ४ जनामा सिकलसेल एनिमियाको जटिल समस्या छ । उनीहरुलाई चौबिसै घण्टा सेवा दिनुपर्ने अवस्था भएकाले जतिबेला पनि सेवाका लागि तत्परता लिने गरिएको उनले बताइन् ।
सरकारले २०७२ साउन १ गतेदेखि सिकलसेल एनिमियाका बिरामीलाई एक लाख रुपैयाँसम्म उपचार खर्च दिने व्यवस्था गरेको छ । अस्पतालले सिकलसेल एनिमिया भएको भनी प्रमाणित गरेको कार्डसहित स्वास्थ्य कार्यालयमा आएमा कार्यालयले एक लाख बराबरको निःशुल्क उपचारका लागि सिफारिस गर्ने गरिएको छ । थारू समुदायमा लाग्ने यो रोगबाट धेरै जना पीडित भएको हुनसक्ने भए पनि सबैको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था भएको छ ।
यसका लागि स्थानीय सरकार तथा प्रदेश सरकारले पनि चासो देखाएको छ । थारू समुदायमा यो रोग भयावह जस्तै छ । “विगतमा पनि सिकलसेलका लागि बजेट छुट्याएका थियौँ, यसपटक पनि छुट्याएका छौँ,” घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले भने, “गाउँगाउँमा पुगेर सेचतना फैलाउने र रोगको दर बढ्न नदिने अभियान चलाउँदैछौँ ।” यसका लागि विवाह कुण्डलीदेखि स्वास्थ्य सचेतनाका कार्यक्रम हुने गरेका छन् । घोराही र तुलसीपुरमा सिकलसेलको रक्त परीक्षण हुने गरेको छ । अत्यावश्यक विरामीको हकमा सातै दिन तथा अरुको हकमा हप्ताको सोमबार र बिहीबार रक्त परीक्षणको व्यवस्था मिलाइएको उनले बताए ।
सरकारले ‘सिकल सेल एनिमिया’ भएका बिरामीको उपचारका लागि आवश्यक पर्ने रगत परीक्षण गर्ने मेसिन खरीद, स्वास्थ्यकर्मीका लागि तालिम, जनचेतना अभिवृद्धिका लागि गाउँ तहमा सचेतना कार्यक्रम गर्न तत्कालै पर्याप्त बजेटको व्यवस्था गर्नु जरूरी देखिन्छ ।
आउने पुस्तामा सिकल सेल एनिमिया सर्न नदिन गाउँ तहमा जनचेतना अभिवृद्धि गरी बिहेबारीमा ध्यान पुर्याउनु पर्ने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताए । “थारू गाउँका बढघर, गुरुवा, गाउँको वडा तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय, स्वास्थ्य चौकी जस्ता संयन्त्रलाई परिचालन गर्न सकिन्छ ।”
चिकित्सकका अनुसार सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो । मानिसको रगतको कोशिकामा क्रोमोजोम हुन्छ र त्यसमा जिन हुन्छ । जिन धेरै प्रकारका हुन्छन् । तिनमा खराबी आएमा सिकलसेल एनिमिया हुन्छ । यसमा दुखाइ धेरै हुने भएकाले बिरामीलाई पिडा दिन्छ । यो रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि सङ्क्रमित हुने धेरै सम्भावना रहन्छ । तर आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ । सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोविनलाई असर पार्ने वंशाणुगत रोग हो । रातो रक्तकोषको आकार परिवर्तन भई सिकल अथवा हँसियाको रूप लिने हुनाले यसलाई सिकलसेल एनिमिया भनिन्छ ।