© २०२३
सल्यान, १९ मंसिर ।
सल्यान कपुरकोटका किसानहरुले छ महिनाको अवधिमा तरकारी बिक्री गरेर १७ करोड २३ लाख बढी रकम हात पारेका छन् । कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार देशका विभिन्न शहर बजारबाट कपुरकोट आएर व्यापारीहरुले किसानहरुसँग १७ करोड २३ लाख १६ हजार ५९० रुपैयाँ बराबरको ताजा तरकारी र फलफुल खरिद गरेर लगेका हुन् ।
गत जेठ २३ गते देखि कात्तिक ३० गते सम्म ४२ लाख नौ हजार ९२ किलो ताजा तरकारी तथा फलफुल कपुरकोटस्थित तरकारी बजारबाट किसानहरुले बिक्री गरेको बजार केन्द्रले जनाएको छ । वेमौसमी तरकारी खेतीका लागि ख्याती कमाएको कपुरकोटमा अहिलेको मंसिर महिनामा पनि तरकारी खरिद बिक्री भइरहेको छ ।
देशकै ठूला तरकारी बजार मध्येको सल्यान कपुरकोटको तरकारीबाट वर्षेनी करोडौँको तरकारी जिल्ला निकासी हुने गरेको छ । यो छ महिनाको अवधिमा कपुरकोटस्थित तरकारी बजारबाट ४१ लाख २३ हजार २९१ किलो ताजा तरकारी, ६७ हजार ३७० किलो अदुवा र १८ हजार ४३१ किलो फलफुल निकासी भएको कृषि उपज बजार केन्द्रका कर्मचारी चन्द्रमणी खड्काले जानकारी दिए ।
यहाँका किसानले बिशेष गरेर टमाटर, काउली, बन्दागोभी, भेडेखुर्सानी, सिमी, फर्सी, आलु, कांँक्रा, गाजर, हरियो धनिया, अदुवा लगायतका बेमौसमी तरकारी तथा फलफुल उत्पादन गर्ने गर्दछन् । यहाँबाट सबै भन्दा बढी टमाटर निकासी हुने गरेको छ । जेठ २३ देखि कात्तिक ३० गते सम्म निकासी भएको ४२ लाख नौ हजार ९२ किलो तरकारी मध्ये १३ लाख ८१ हजार ३४३ किलो टमाटर निकासी भएको कृषि उपज बजार केन्द्र कपुरकोटको विवरणमा उल्लेख छ । कपुरकोट क्षेत्रमा किसानहरुले ब्यावसायिक रुपमा बेमौसमी ताजा तरकारी उत्पादन गर्ने गरेका छन् । खेतीयोग्य जमिनको अधिकांश जमिनमा किसानहरुले विगतका वर्षहरु देखि नै ताजा तरकारी, फलफुल र अदुवा खेती गर्दै आएका छन् ।
गत वर्षको तरकारी सिजनमा पनि कपुरकोट तरकारी बजारबाट ४० लाख ५० हजार ७९ किलो तरकारी बिक्री गरेका थिए । जसबाट १८ करोड ७७ लाख १८ हजार ४११ रुपैयाँ आम्दानी भएको थियो । किसानहरुले सिधै व्यापारीहरुसँग मोलमोलाई गरेर तरकारी बेच्ने गरेका छन् । तथापि किसानहरुले व्यापारीले जुन मूल्यमा भन्छन् त्यही मूल्यमा तरकारी बेच्नुपर्ने बाध्यता रहेको गुनासो गर्दछन् । अझै पनि यहाँका किसानले उन्नत जातको बिउ, मल र प्राविधिक ज्ञान पर्याप्त रुपमा पाउन सकेका छैनन् ।
कसरी सुरु भयो कपुरकोटमा तरकारी खेती ?
वि.सं. २०४२÷०४३ मा स्थापना भएको राप्ति एकीकृत ग्रामीण विकास परियोजनाले राप्तिका पाँचै जिल्लामा गरेको अनुसन्धानबाट सल्यान जिल्लाको यस क्षेत्रमा वेमौसमी तरकारी खेति गर्न सकिने उपयुक्त स्थान भएको ठानेर त्यस परियोजनाले यस क्षेत्रमा (भीएफसी) कार्यक्रम लागु गरी सुरु गरेको देखिन्छ । कृषि उपज बजार सञ्चालक समितिका पूर्व अध्यक्ष शोभाकर शर्माका अनुसार भीएफसी कार्यक्रम लागु भएपछि यस क्षेत्र वरपरका किसानहरुलाई समेटेर बेमौसमी तरकारी एवंम् फलफूल सम्बन्धी आधुनिक खेति प्रणालीको बारेमा विभिन्न तालिम एवम् ज्ञान बांँड्ने, रोगनाशक किटनाशक औषधिहरुको वारेमा जानकारी एवंम् बजारीकरणको ज्ञान दिन थालियो ।
यसरी बढ्दै गएको कृषि उपज बजारलाई अझ व्यवस्थित बनाउने उद्देश्यका साथ २०४७ सालमा हिमाली बेमौसमी ताजा तरकारी फलफूल उत्पादन संघ दर्ता गरी एउटा कार्यसमिति पनि गठन गरिएको थियो । जसको अध्यक्षमा ईश्वरी प्रसाद शर्मालाई चयन गरियो । उक्त समिति, भीएफसी, जिल्ला कृषि विकास कार्यालय, कृषि सेवा केन्द्र, स्थानीय निकाय एवंम् आम जनसमुदायहरुबाट कपुरकोटको कृषि उपज बजार केन्द्रको विकास एवंम् व्यवस्थापन गरिएको थियो । ‘त्यसपछि यस क्षेत्रका किसानहरुले बेमौसमी तरकारी एवम् फलफुल खेती सुरु गरेको पाइन्छ । सुरुमा यस क्षेत्रमा केराउ खेती गरिएको थियो’, बजार केन्द्रका पूर्व अध्यक्ष शर्माले भने ।