© २०२३
दाङ, २० मङ्सिर ।
यस वर्ष दाङमा धान उत्पादन घटेको छ । समयमा बर्षा नहुँदा र राखेको ब्याड समयमा रोप्न नपाउँदा दाङमा धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र दाङले दिएको तथ्याङ्कमा उल्लेख छ । घोराही –५ का रुपलाल वलीले पानी नपरेर ढिलो गरी धान रोप्नुपर्दा विगतभन्दा यो पटक धान उत्पादनमा गिरावट आएको बताए । “यस बर्ष दाङमा ब्याड राखेको समयमै रोप्ने वातावरण बनेन पानीको समस्या भएका कारण पालो पालो गरि धान रोपाई गर्दा धेरै ढिला भैसकेको थियो”–वलीले भने, “विकासे धान रोप्न थालिएपछि अहिले रैथाने धान उत्पादनमा पनि गिरावट आएको हो ।”
घोराही –६ गुरुवागाउँका महेश चौधरीले भने, “गत वर्ष १५ कट्ठा खेतमा ६० मुरी धान फलेकोमा यसवर्ष सोही जमिनमा रोपिएको धान ५० मुरी मात्र फल्यो । ढिला गरी रोपाई भएका कारण र पसाउने समयमा पानी नपरेको हुँदा उत्पादन घटेको हो ।” आम्दानीको स्रोत भनेको खेतीपाती मात्रै भएकाले धान उत्पादनमा कमी आएपछि आम्दानीको स्रोत घटेको बताए । घर खर्च, छोराछोरीको पढाई खर्च सबै खेतीपातीले धानेको थियो । यसपालि घर खर्च टार्न पनि समस्या हुने उनको भनाई छ । महङ्गोमा किनेको मल, बिउ र खेतला खर्च पनि उठ्न मुस्किल हुने भएको उनको भनाई छ ।
अघिल्लो वर्ष दाङमा धान खेती गर्नेको संख्यामा वृद्धि भएको थियो । हाईब्रिड जातको बिउमा समस्या देखिनु, धानमा मरुवा, गवारो किरा लाग्नु जस्ता कारणले पनि यसवर्ष धान उत्पादनमा गिरावट आएको ज्ञान केन्द्रको भनाई छ ।
दाङमा यसवर्ष पाँच प्रतिशतले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ । यो वर्ष १ लाख ५३ हजार ४ सय ६३ मेट्रिक टन धान उत्पादन भएपनि यो गतवर्षको तुलनामा पाँच प्रतिशतले कम रहेको कार्यालयले जनाएको छ । जिल्लामा यो पटक ३७ हजार ४ सय ३० हेक्टर वर्षे धान लगाएकोमा ५ प्रतिशतले उत्पादकत्वमा कमी आएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए । अर्थविज्ञ लामिछानेले यो वर्ष प्रति हेक्टर ४ दशमलव १० मेट्रिक टन धान उत्पादन भएको बताए । अघिल्लो वर्ष जिल्लामा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।
गत कात्तिक १६ गतेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७९÷०८० को लागि धानको सर्मथन मूल्य तोकेको छ । मोटा धानको मूल्य दुई हजार ९ सय ६७ रुपैयाँ तोकेको हो । यो मूल्य गत वर्षको तुलनामा २ सय १५ रुपैयाँ बढी हो । त्यस्तै मध्यम धानको मूल्य प्रति क्वीन्टल ३ हजार १ सय २८ रुपैयाँ तोकेको छ यो मूल्य गत वर्षको तुलनामा २ सय २६ रुपैयाँ भन्दा बढी हो ।
नेपाल सरकारले किसानको सहुलियतका लागि धान स्याहार्ने बेलामा धानको समर्थन मूल्य तोकेको थियो । तर दाङका किसानले सरकारले तोकेको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारीको मनोमानीका कारण आफूलाई समस्या परेको किसानको गुनासो छ । संघीय सरकारले तोकेको मूल्य नै जिल्लामा अनुमोदन हुने भए पनि हालसम्म निर्णय हुन सकेको छैन । धानको मूल्य निर्धारण नहुँदा किसानले सरकारले तोकेको धानको मूल्य पाउन सकेका छैनन् ।