© २०२३
पाल्पा तानसेनलाई पर्यटकको गन्तव्यस्थल बनाउने तयारीमा तानसेनवासी जुटेका छन् । दिनप्रतिदिन सुस्ताउँदै गएपछि उनिहरु पूर्वाधारको विकास गर्दै पर्यटनमार्फत तानसेनलाई जीवन्त राख्ने प्रयासमा जुटेका हुन । तानसेन नेपालको पर्यटकको पाँच प्रमुख गन्तव्यमध्ये एक गन्तव्यस्थल बनाउने दाबी उनिहरुको छ ।
तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही नगरपालिकाले पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको बताउँछन् । तानसेनमा पञ्चायतकालदेखि पर्यटन शब्द लेख्न र भन्न नछाडिएपनि यसमा तथ्यांकीय परिवर्तन नआएको हुदा नगरपालिकाले परिणाम देखाउनेगरी काम गर्न थालेको बताए । विगतदेखि वर्तमानसम्म तानसेनको पर्यटन विकासका लागि योजना पनि बने, गोष्ठीहरु पनि भए प्रमुख शाहीले भने उपलब्धि भएन । उनले तानसेनको समग्र बिकास, पूर्वाधार विकासलाई पर्यटनसँग जोड्ने दाबी गरे । स्थानीय र पर्यटनको विज्ञहरुलाई सहभागी गराइ काम गर्ने र पयटनको प्रचार प्रसार एप्स मार्फत गरिने प्रमुख शाहीको भनाई छ । यसका लागि नगरपालिकाले नगरपालिकाको वडाअध्यक्ष संयोजक र पर्यटन विज्ञहरुलाई समेटी टूरिजम एक्सन कमिटी फर तानसेन (ट्याक्ट) गठन गरी काम अगाडी बढाएको छ ।
तानसेनमा पर्यटकलाई तान्नका लागि नगरपालिकाले मगर साँस्कृतिक संग्राहालयको योजनालाई अगाडी ल्याएको बताए । उनका अनुसार उक्त संग्राहालयका लागि तानसेन नगरपालिकाको हिमाली मनोरम दृश्य देखिने गरी ठाउँ छनोट गरिनेछ । मगर साँस्कृतिक संग्राहालय बीचमा रहने र त्यसको वरीपरि कम लागतका करिब १ सय घर बनाईने गरी योजना गरिएको शाहीले बताए । शाहीका अनुुसार संग्रालयको निर्माणका लागि नगरपालिकाले स्रोत जुटाउने र होम स्टेको रुपमा रहने घरका लागि व्यक्तिले लगानी हुने गरी निर्माण हुनेछन् । होम स्टेको संचालन भने विकास समिती गठन गरि व्यवस्थापन गरिनेछ । संस्कृतिको संरक्षण सम्बर्धन गर्दै पर्यटन मार्फत नगरलाई समृद्ध बनाउनका लागि आन्तरिक र बाह्य लगानी भित्रीने गरी काम अगाडी बढेको उनले बताए । पर्यटन विकासका लागि अल्पकालीन र दिर्घकालिन योजनाका साथ नगरले काम गर्ने उनले बताए । शाहीले नगरपालिकाले नगरभित्र रहेको होटल व्यवशायीहरुलाई राखी पर्यटन विकासमा सहयोग पुग्नेगरी तालिम दिन लागेको बताए ।
नगरले आन्तरिक पर्यटकको पाँच गन्तव्यमध्ये एक र बाह्य पर्यटकको १० गन्तव्यमध्ये एक बनाउन लागिएको नगरपालिकाका प्रवक्ता दामोदर घिमीरले बताए । मगर जातीको बाहुल्यता भएको जिल्ला र मगर संस्कृतिको धनी जिल्ला भएका कारण मगर साँस्कृतिक संग्राहालयको अवधारणा अगाडी बढाइएको घिमीरेको भनाई छ । उनले पाल्पाका अन्य स्थानीय तहसँगपनि समन्वय गर्ने गरी पर्यटनको एकिकृत पूर्वाधार विकास र पाल्पाका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि काम गरिने नीति नगरपालिकाले लिएको बताए ।
संग्राहालय निर्माणपछि आन्तरिक र बाह्य पर्यटकमा बृद्धि हुनुको साथै तानसेनको सान बढ्ने नेपाल आदिवासी जनजाती महासंघ पाल्पाका संस्थापक अध्यक्ष गमबहादुर थापाले बताए । संग्राहालय मगर जातीको प्राचीक कला, संस्कृति, रितिरिवाजको अध्ययन गर्ने थलोको रुपमा विकास हुने थापाको दाबी छ । उनका अनुसार होम स्टेमा मगर परिकारको स्वादमा मगर संस्कृतिको अध्ययन गर्दै मगर सांस्कृतिक कार्यक्रमको समेत अवलोकन गर्ने व्यवस्था संग्राहालय गरिनेछ । यहाँ आउनेले झ्याउरे नाँच, जीवई मावा (नाँच), सोरठी देख्न र परम्परागत तरिकाबाट पकाइएको मगर खाना पनि खान पाउनेछन् । मगरहरुको लोप भएको मगर ढूट (भाषा) को संरक्षण र सम्बर्धन हुने गरी संग्राहालयमा उक्त भाषा सिक्न व्यवस्थापन पनि गर्ने बताए ।
पाल्पा दरबार संग्राहालयमा पर्यटन प्रवर्धनलाई टेवा पुग्ने गरी तयार गरीएको श्रव्य दृश्य सामग्री कक्षको व्यवस्था गर्न लागेको नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत विष्णु पौडेलले बताए ।उनले रानीमहलको प्रचार प्रसार र भौतिक पूर्वाधार विकासका लागि नगरले काम गरिरहेको जानकारी दिए । नगरपालिकाले नगरको वडा नंं १० तेल्घाको गुफाचौरमा नेपालकै ठूलो गणेशधाम बनाउने योजना अनुसार काम गरिरहेको छ । तानसेनको होलाङदीदेखि सेतीपोखरी हुदै गुफाचौरसम्मको करिब १० किलोमिटर सडकलाई प्राथमिकता दिइ काम गरेको छ । त्यहाँ राख्नका लागि १४ फिट उचाइ र साढे बाह् टन तौल भएको गणेशको मूर्ती तयार गरिसकेको छ ।
नगरभित्र रहेको सम्पदा र मन्दिरहरुको गुरु योजना बनाउने कामको थालनी गरेको तानसेन नगरपालिकाको भनाई छ । गुरुयोजना शुरु गरिएका मन्दिर तथा पार्कहरुमा तानसेनको भगवती मन्दिर, रिडीको ऋषिकेश मन्दिर, मदनपोखराको वकल मन्दिर, वन्दीपोखराको लिपिनदेवी, रतनपाँडेको साधना स्थल, श्रीनगरको बृहतपार्क लगायत छन् ।
=================
तानसेनको समग्र बिकास, पूर्वाधार विकासलाई पर्यटनसँग जोडिएको छ । पर्यटन मार्फत नगरलाई समृद्ध बनाउनका लागि आन्तरिक र बाह्य लगानी भित्रीने गरी नगरपालिका अगाडी बढेको छ ।
अशोक कुमार शाही
प्रमुख, तानसेन नगरपालिका, पाल्पा
===============
आन्तरिक र बाह्य पर्यटकमा बृद्धि हुनुको साथै तानसेनको सान बढ्नेछ । संग्राहालय मगर जातीको प्राचीक कला, संस्कृति, रितिरिवाजको अध्ययन गर्ने थलोको रुपमा विकास हुन्छ ।
गमबहादुर थापा
संस्थापक अध्यक्ष,
नेपाल आदिवासी जनजाती महासंघ पाल्पा