© २०२३
एच.के. श्रेष्ठ
मीथिकल सन्दर्भमा समीक्षाः
हिन्दु पौराणिक जगबाट स्थापित हरितालिका तीज शिव र पार्वतीको मीथिकल पृष्ठभूमिमा ठोक्किएकै छ । तीज ब्रतको मनोविज्ञान नारीले शिवरूपी केटा या पति प्राप्ती विद्यमान छ । पहिलो कुरा पार्वतीले मात्रै पति शिव प्राप्ती कामना मात्रै होइन शिवको पनि पूर्व सतीरूपी पार्वती पुनः प्राप्तीकोखातिर अदम्य त्यग, तपस्या,यान्चा र अध्यवसाय थियो । अहिले आधुनिक केटा वा पुरुष वा पतिमा शिवीय आत्मा त्यग, तपस्या र अठोट कहाँ कोसँग हुने ? शिवत्व नै कसैमा सम्भव होइन स्वैर कल्पना हो । अर्को कुरा देविरूपी पार्वतीकोजस्तो अध्यवसाय, सतित्व, त्यागतपस्या र च्यास्टिटी (यौन पवित्रता) र पतिब्रतता अर्थात पार्वतीत्वको चरित्र आधुनिक महिलामा कल्पनै नगरौं । यो हाँस्यासपद मात्र हो ।
उनीहरूको ध्येय आध्यात्मिक, आत्मीय र प्लेटोनिक प्रेम भावको हो भने अहिलेको जोडी भौतिक रूपलेमात्र जोडी आध्यात्मिक पक्षमा बिजोडी हुन् । उनको ब्रत कामना नै वस्तुगत सयल,भोगविलाषी,धनदौलत मोजमस्ती भर्नका लागि उही खालका जोडी प्राप्तिको हुन्छ । गुदी भाव अझ दुबैमा पारस्परिक समर्पण, सहअस्तित्व र एकअर्कामा भन्ने हो भने ज्याक्स डेरिडाको वाइनरि अपोजिसन् (एउटाबिना अर्कोको अस्तित्वै असम्भव) जस्तो हो । के यो भौतिक हेडोनिष्ट समाजमा सम्भव छ ? उनीहरूको अनन्तः दाम्पत्यको लागि एकखालको सत्याग्रह हो । अहिलेको महिला पुरुषमा हेतु यस्तै हुन्छ ? आफ्ना सयलमा थोरै कमि हुनासाथ आपसी साथ होइन डिभोर्सतर्फ लाग्छन् ।
किन मनाउने कसरी मनाउने ?ः प्रश्न उठ्छ यो पर्वलाई नै वाईवाई गर्ने त ? त्यसो होइन । सामाजिक, साँस्कृतिक र मौलिक दायरामा मनमउने तीज । प्रायः हरेक चाडवाडको धार्मिक, साँस्कृतिक आधार हुन्छ । तर, साँस्कृतिक खोलभित्र परम्परादेखिकै जरो गाढेको रुढीवाद,अन्धविश्वास र पछि झाँग्गिएको विकृतिका कुसँस्कृतिहरू छन् । कुलाई हटाएर संस्कृतिलाई मात्र अनुयायी गरी खाँटी पर्वको तीज मनाउने बिद्रोह शुरु गरौं । यसरी मौलिक सँस्कृतिलाई मात्र समाजले अंगाले काइदा र फाइदाको तीज बन्न जान्छ । नारी गौंण र पुरुष प्रधान अर्थात नारी ना–मर्द र पुरुष मर्दको मानसिकताबाट प्रभावित भएर होइन, समानता र आपसी अनिवार्यताको स्थायी मान्यताले मनाऔं । दुई अतिवाद– रुढीवाद तथा अन्धविश्वासको अतिवाद र आधुनिकताको चरम बिसँगतिको अतिवाद निषेधै गर्न जरुरी भइसक्यो । दावि गर्न सकिन्छ, हरितालिका तीज र माइती घर पर्यायवाचीको मर्म हो । तीज सिर्फ तीज नभएर माइत वा मावली जाने तृष्णा र स्वादसंग जोडिएको हो । हरेक महिलाको सर्बोत्तम प्यार माइती घर नै हुनाले अन्य कुनै पनि अवसर छोडेर माइती घर जान नै छनौट गर्छन् । यद्यपि मुठीभर शहरी वातावरण यसबाट असहमत होला ! लामो अन्तरालमा माइती मावली जाँदा, नातिनातिना देखि बाजे बज्यै र अन्य कुल कुटुम्भ भेटघाट भई जम्माहुँदा यसको मज्जा, आनन्द नै बेग्लै हुन्छ । माइती चेली, इष्टमित्र भेटघाट भनेको खानपिनमात्रै नभएर प्रत्यक्ष रूपमा हाल चाल खबरखाबर बुझ्नु पनि हो । पहाड, बस्ति र गाउँघरमा दुबै पक्षले दुबैतर्फको वस्तुभाउ, खेति–पाति, घाँस–दाउरा घर–गोठ, ऋण–धन, स्वास्थ्य–सुविधा आदि आदि खबर उत्सुकतासाथ सोधपुछ गरी जानकारी लिनु हो । हाम्रो समाजमा गरिब,धनी, सबैले मान्ने चलन मुताविक टाढा टाढा विवाह गरेर दिएको चेलिबेटीहरू जसरी पनि माइत ल्याउने र जानेले घरमाइतको सम्बन्धलाई पुनः रिन्यु गर्दछ र सम्बन्ध झन् प्रगाढ बनाउँछ । मनका धुलोमैलो तथा मनमुटावलाई समेत पखाल्ने काम गर्दछ । दुवै पक्षको नातागोताबीच विच्छेदित हुँदै गएको सम्बन्ध तीजको भेटघाटले पुनर्जीवित गर्दछ । सरसफाइ, नुहाइ धुवाइ गरी राम्रा र चोखा कपडाले राम्रै प्रभाव पार्दछ । सबै भेला भएर नाचगान गर्नु मीठो नमीठो भोजन गर्नुले एक आपसमा सहयोग, सद्भाव र सुमधुरता बढाउँदछ । वर्षभरिका मनमा दविएको पीडा, मर्म, वेदना र दुखका थुप्राहरू गीत संगीतकोे माध्यमबाट प्रस्तुत हुने हँुदा मानसिक शान्तिमात्र होइन सृजनशीलता र मौलिकताको समेत विकास गर्न टेवा पुराउँछ । मानव जीवनलाई उत्तिकै खाँचो मनोरञ्जन यसले परिपूर्तिमा सघाउँछ ।
यस अवसरमा नारी जातिले लिने ब्रत उपवासकोे सकारात्मक पक्ष नभएका होइनन् । मान्छे शारीरिक र मानसिक रूपमा स्वस्थ वा रोगमुक्त हुन सहयोग पुग्छ । वेलाबेलामा उपवास बस्नुले शरीरको स्वास्थ्यमा राम्रो सुधार ल्याउँछ । मेडिटेसनपूर्वक उपवास बस्दा मानसिक स्वच्छता प्रदान गर्दछ । अर्र्कोे प्रभावमा ध्यानपूर्वको परिश्रम गरेर धैर्य धारण गरी लगनशील भएमा खोजेको कुरा प्राप्त हुँदोरहेछ भन्ने हो । मानव जातिले गर्ने जुनसकै काममा पनि यस्तो तपस्या, त्याग र योगदानको खाँचो छ । त्यो पूरा भएमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने मार्गनिर्देशनको रूपमा लिन सकिन्छ । देवभक्तिले हरेकलाई केहि न केहि आत्मअनुशासनमा राख्न परोक्ष योगदान थप्दछ ।
के गर्ने, के नगर्ने ?ः वर्षैभरको बोझ फ्यात्त बिसाएर मानसिक हिलिङ्ग दिन हाजिर हुने तीज निश्चित मनोरञ्जनको प्रस्तुतिमा रहन्छ, रहनु अन्यथा होइन । तर, विज्ञान र प्रविधिको विकासले आविष्कार उपकरणहरूको र आधुनिकीकरणको अराजक अतिक्रमणको विस्तारवादको प्रवेश रोक्न सुस्ताउन हुँदैन । समानान्तर रूपमा हुर्कदै र बढ्दै गइरहेको विकृति र विसंगतिविरुद्ध हाम्रो मौलिक संस्कार संस्कृतिको नढिलाई बैठक बसी निराकरण थालिहाल्न पर्दछ । हिजोअस्तिका पुस्ताहरूले मनाउने तीज र आजको पुस्ताहरूले मनाउने तीजका तौरतरिका, शैलीहरूमा आकाश जमीन फरक छन् । एक त महिनौ अगाडीदेखि दरखाने र अर्को सार्वजनिक स्थलहरूमा, होटल र पार्टी प्यालेसहरूमा गएर दर खाने कुचलनले तीजको भाउ घटाएको छ । चाडपर्वलाई पैसासँग गाँसिएको छ । शहरीकरणको विकास साँस्कृतिक विनासको रूपमा खडा छ । मुनाफाको प्रयोजनले व्यापारिक चरित्र हावी भएको छ । ब्यापारकि प्रयोजनका सम्पूर्ण तीज सामाग्रीहरू, बजार बिक्रिवितरण, विज्ञापन तरुन्त प्रतिबन्धको अपरिहार्यता भयो । आफ्नो वास्तविक संस्कृतिअनुरूप मनका व्यथा, गाथा, वेदना, समाजका वास्तविक चित्रण, घर–माइतका परिवेशलाई नेपाली लोकसंस्कारका बाजागाजाका साथमा गाउने गाउँबस्तिका भाकाहरू र मौलिकतालाई चटक्कै छाडेर कुसंस्कृति भण्डारण गरी भीडीओ र अडीयो चक्काहरूका बासी गीत संगीतहरूद्वारा नाचगान किन गर्ने ? तीजका गीतमा दमाइ, कामी, सार्की, पोडे,च्यामे, राइ, लिम्बू, कुमाल, थारु ,मगर, नेवार, क्षेत्री, वाहुन सबका सब पहिचान र मौलिकता चम्काइनु पर्दछ । समाजमा सशक्त च्यालेन्जमा उत्रिएको शोषणदमनm अन्याय,अत्याचार, भ्रष्टाचार, बहुहिंसा, कुरितिआदि विरुद्ध र बाल, महिला,बृद्ध, असाहय, गरिबका ससुरक्षा, अधिकारकाखातिर उठेका बोलका गीत गाइनु पर्छ । आफ्नै सिप र कलाको नाँच छमछमिनु पर्छ । बहु जाति भाषा भेषसहित आफ्नै पाखापखेरी माटोको बाजागाजा घन्काइनु पर्छ तीजमा । आआफ्ने घर, नातागोता, छरछिमेककै घर, प्रांगणमा नै दर खाइनु उत्तम हुन्छ । ठीक समयमा ठीक ढंगले मनाएर खाँटी चाडवाडको मूल्य मान्यता दिनुपर्छ । यान्त्रिकढंगले पर्व मनाउने चलन दुरुत्सहित गर्नुछ ।
गरगहनारूपी पशुत्वबाट विद्रोहको प्रश्नः पूँजीवादी कुरीतिको अराजकता गरगहनामा देखिन्छ । हुनेखानेहरूले गहना आतंक नै चलाएका छन् । मनोबैज्ञानिक र आर्थिक असरको असाध्यै मारमा गरिब वर्ग छ । आत्मानुशासन र संस्कृति, मूल्य मान्यता तथा परम्पराको दायराभन्दा अगाडि भड्किलो, देखावटि तडकभडक र अनुशासनहिन ढंगले सांस्कृतिक विलुप्तिको मार्गमा बढिरह्को छ । सक्दो कस्मेटिक प्रयोग नै तीजको सफलता हास्यास्पद छ । प्रश्न गम्भीर छ गहनाको सन्दर्भमा । स्वयं शिवले पार्वतीलाई कुनै गरगहना दिएका थिएनन ्। उनले पनि लगाएकी थिइनन् । परापूर्व कालदेखि पितृसत्तात्मक लक्षको घेराबन्दि र सिकार नारीलाई बनाइयो । पुरुष प्रधानत्वको जालसाजीअनुरूप नारीलाई पाशविक बन्धनमा राखिने र सताउने प्रपञ्च भयो आफ्नो शासनमा कजाउन गहना नामको बन्धन भिराइयो ।त्यसो हो भने महिलाले घाँटीमा लगाउने नेक्लेस, सिक्री वा माला पुरुषको दाम्लो हो । खुट्टामा लगाउने पाउजु पुरुषको नेल हो । हातमा लगाइदिएका चुरा ब्रासिलेट आदि पुरुषको अधिनमा राख्ने हतकडी हुन् । अन्य गहना नामको सामाग्रीहरू पनि सबै त्यस्तै त्यस्तै हुन् । ती सबैको एउटै उद्देश्य नारीलाई पुरुष कब्जामा पारेर स्वतन्त्रताबाट बञ्चित गरी पुरुष अधिनको जेलमा राख्नु हो । अनि सबै महिलाले गहना नामको दाम्लो, हत्कडी र नेल स्वीकार गरिरहने कि त्यागेर विद्रोह गरी स्वतन्त्र हुने ? तीज मनाउँदा मनाउँदै सोंच्नुस्, सोँच्दा सोँच्दै मनाउनुस् !
à