© २०२३
गाउँमा मोटर चलेपछि बाँगी बाँसटारीका विष्णु कार्की कतार जान छाडेर भैंसीपालेका छन् । सात वर्ष देखि दूध उत्पादन गरिरहेका छन् । अनिल भैंसी फार्म खोलेर १८ वटा भंैसी र ९ गाई पालेका छन् । उत्पादित दैनिक एक सय दस लिटर दूध बस र जिपले बजारका डेरीमा ल्याइदिन्छन । त्यसैले उनलाई घरमै बसेर फार्म सञ्चालन गर्न सहज भयो । दूध जति उत्पादन गरेपनि बिक्री हुन्छ, उनले भने, गाडी चल्छन । आफै पनि मोटरसाइकलमा बोकेर जान्छु । दूध, दही, घिउ र तरकारी सजिलै बजारमा बिक्री हुन्छ ।
घर खर्च कटाएर महिनामा ७० हजार रूपैयाँ बचत भएको उनले बताए । यति कतामा आम्दानी थिएन । उनको घरमा भैसी, बाख्रा, कुखुरा पहिले देखि पालिन्थ्यो । तर, खेतबारीमा मलको लागि मात्रै । तरकारी परिवारले खान र नातेदार कहाँ पाहुर दिन मात्रै खेती हुन्थ्यो । अहिले त्यो छैन । बारीमा साग, मुला, काउली, आलु उत्पादन हुन्छ । त्यसैबाट पैसा आउँछ । बिक्री भएपछि बेमौसमी तरकारी उत्पादन भएको उनले बताए ।
दूध, खसीबोका र लोकल कुखुरा गाडीमा राखेर बजार पठाइदिन्छु, उनले भने, ‘अब म विदेश जान्न ।
गाडी नचल्दाजे उत्पादन भएपछि बजारसम्म ल्याउन संभव थिएन । इष्टमित्र, नातेदारलाई बाँडेरै सकिन्थ्यो । सदरमुकामबाट करिब दस किमी उत्तरपश्चिम बाँगीबाट सन्धिखर्क पैदल हिडेर आइपुग्दा चार घण्टा लाग्थ्यो । हिँडाइको थकाइले गाउँबाट बजारमा बिक्री गर्न कोही बोकेर ल्याउदैनथे । खसीबोका बिक्री गर्न बजार ल्याउन मुस्किल थियो । बजार झरेर चिनी, चामल बोकेर घरसम्म पु¥याउँदा दिन बित्यो । जब सदरमुकामबाट गाउँमै मोटर पुगेपछि दैनिकी फेरियो ।
शुरुमा गाउँलेले महिनौ दिन लगाएर गौती, कोदालाले बाटो खनेर गाडी चल्ने बनाए । अहिले डोजर र स्काभेटरले सडकको चौडाई फराकिलो पारेपछि गाडीमा आधा घण्टामै गाउँबाट सदरमुकाम आइपुगिन्छ । दैनिक बस, जिप, ट्रक, टयाक्सी र टयाक्टर चल्छन । अहिले उत्पादन भएको सबै वस्तु बजारमा ल्याएर बिक्री गर्न सहज भएको छ ।
उनका अनुसार उत्पादन गर्न सके बिक्री नहुने केही छैन । काम जाँगर हुनुपरो पैसा हाम्रै बारीमै छ, उनले भने । मालारानी गापा–५ मा पर्ने बाँगीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन कार्यक्रम लागु भएको छ । थोरै जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने यसको लक्ष्य हो । सिचाइँ सुविधा राम्रै छ । तरकारी र पशुपालन पकेट क्षेत्रको रूपमा विकास गर्ने गापा अध्यक्ष बालकृष्ण आचार्यले बताए । सबैलाई सहकारीमा आबद्ध बनाएर एक घर एक उत्पादनको नीति अघि सारी गाउँलाई सम्बृद्ध पार्ने योजना अघि सारिएको उनले बताए ।
पाणिनी गाउँपालिका सबै वडामा उत्पादित वस्तु पाल्पाको तानसेन र कपिलवस्तुको सालझण्डी हुँदै बुटवल पुग्छ । छत्रदेव गापाको गुल्मीको तम्घास र सितगंगा नगरपालिकाको कपिलवस्तुको चन्द्रौटा, चार नम्बर हुँदै बुटवल जान्छ ।
खसीबोका, बंगुर, पाडा, तरकारी, दूध, ध्यु, पनिर र मसलाबाली लगायतका वस्तु जिल्ला बाहिर निर्यात भैरहेको छ । गाउँमा उत्पादन भएको वस्तु बजारसम्म पुग्न यातायातको सुविधाले संभव भएको हो । पाणिनीको पोखराथोक, पणेना, पटौटी, मैदान, खिदिम लगायतका गाउँबाट दैनिक तरकारी र दूध बसले तानसेन पु¥याइदिन्छ । दसक अघि दूध र तरकारी बिक्री हुदैनथ्यो । जिल्ला सदरमुकाम र तानेसन करिब ३० किमी टाढा छन । दुर्गाफाँट देखि तानसेन दैनिक बस र जिप चलेपछि खिदिमका रामु न्यौपानेले १२ वटा गाई किने । सवारी चालक पेशा छाडेर अहिले कसरी धेरै दूध उत्पादन गर्नेमा उनको ध्यान छ । भाँडोमा राखिदिएपछि बसले दूध तानसेन लैजान्छ, उनले भने, वर्षमा तीन लाख रूपैयाँ बैंक बचत छ । चार वर्ष अघि उनको घरमा जति धेरै दुध भएपनि खाएर र छिमेकीलाई बाँडिनथ्यो । जब बसले दूध बोक्न थालेपछि गाउँको मुहार नै फेरियो । घर खानलाई तरकारी खेती गर्नैपर्छ, उनले भने, ‘त्यसमा अलि मेहनत गरेर रोपनीमै खेती गरेपछि खानलाई हुने, बिक्री गरेर पैसा पनि कमाइने ।
गाउँका २२ जना कृषकले दुर्गाफाँट दुग्ध उत्पादक समुह गठन गरेर भैसी र गाइपालेका छन । तानसेनको श्रीनगर डेरीमा दैनिक चार सय ५० लिटर दूध जान्छ । विदेशबाट फर्किएका तीन जना युवाले गाइपालेका छन । मोटरबाटोमा दैनिक गाडी नचलेको भए संभव थिएन, समुहका सदस्य न्यौपानेले भने, दूध र तरकारी बेचेर महिनामा ५ हजार देखि ५० हजार रूपैयाँ आम्दानी गर्ने कृषक छन । गाउँमा उत्पादन भएको तरकारी, दूध, अदुवा, बेसार, खसीबोका गाडीले बजारमा पु¥याइदिएपछि हाम्रो जीवनै फरियो, उनले भने । माग धेरै भएपछि जाँगर हुने जो कोहीलाई पनि पैसाको दुःख छैन, विदशै जानु नपर्ने उनले बताए ।
वर्षामा हिलो र हिउँदमा धुलो नउडने गराउने सडक पिच र ग्राभेल गर्ने गापा अध्यक्ष अच्युत गौतमले बताए । बजारमा सहजै उत्पादित वस्तु बिक्री भएपछि उत्पादनमुखी कार्यक्रमबाटै गाउँलाई सम्बृद्ध बनाउने दावी उनको छ । तम्घास नजिकै भएकाले छत्रदेवको गापाको अर्घातोष, मरेङ, भगवती लगायतका गाउँबाट तरकारीर र दूध दैनिक जान्छ । गाउँको ताजा तरकारी भन्दै बजारबाटै फोन गरेर माग गर्छन । कपिलवस्तु र दाङसँग सिमाना जोडिएको सितगंगा नगरपालिकाबाट बुटवल, कृष्णनगर नाका हुँदै भारतमा समेत यहाँको उत्पादन पुग्छ ।