© २०२३
सुनगाभा पोखरेल
तराईका तातो तीज त्यति रमाइलो हुँदैन । छाता ओढेर हिँड्नुपर्छ । रुखमुनी बस्दा पनि पंखा चाहिन्छ । गीत गाउँदा पसिनाले शरीर लुछुप्प हुन्छ । नाच्दा त बास्तवमा सकस् नै हुन्छ । कहिले पानीले सताउँछ । पानीले त पहाडमा पनि सताएकै हुन्छ । हिले तीजमा साडी लर्काउनेहरूलाई, हिलवाला सैण्डिल लगाउनेलाई सास्ती हुन्छ । योपालीको तीज हिले तीज होलाजस्तो छ । यी हरफहरू लेख्दा पनि पानी परि नै रहेको छ । तर, पनि महिला चेलीबेटीले आफूलाई नाचमा होम्छन् । गीत गाउँछन् । थपडी पिट्छन् । किनभने यो उनीहरूको प्रिय पर्व हो । एउटा हिन्दी कविता छः मरुभूमि मे रहने वाले जिते हैँ हाँफहाँफकर, हिमाल मेँ रहने वाले जिते हैँ काँपकाँपकर, फिर भी अपनी मातृभूमि को करते हैँ प्राण निछावर । प्रियताका अगाडि बाधा अड्चनले मान्छेलाई छुँदैन ।
कथाबस्तुअनुसार पार्वतीले महादेबलाई पति पाउँ भनी जंगलमा कति कष्ठकासाथ हड्ताल गरिहोलिन् ? पानीले भिजायो होला । घामले पोल्यो होला । भोकले सतायो होला । किराकाँठा, जनाबरको भय लाग्यो होला । राजमहलमा सुख शयलमा हुर्केकी युवती । तर, उनले महादेबलाई आफ्नो शरीर प्राण निछावर गरिसकेकी थिइन् । त्यसैले त उनको हडतालले सार्थकता पायो । उनका बुबा पर्वत राजाले पार्वतीलाई ल आउ छोरी तिमीले जित्यौ, मैले हारेँ । तिम्रो माग पूरा हुन्छ भनेर भन्न वाध्य भए । यसरी महादेबसँग पति पत्नीको नाता कायम गरिदिएकोले महिलाहरूले यो दिनलाई आफ्नो विजयको दिनको रूपमा मान्ने गर्दै आएका छन् । यो विजय पार्वतीकोमात्र थिएन, अन्य नवयौवनाहरूले पनि आफ्नो चाहनाअनुसार विवाह गर्ने स्वतन्त्रता पाएका थिए । आन्दोलन नगरी स्वतन्त्रता नपाइने रहेछ भन्ने महिलाहरूलाई उद्बोधन भएको पर्व पनि हो तीज । जहाँबाट तीजको शुरुवात भए पनि यो एउटा महिलाले स्वतन्त्रता प्राप्त गरेको पर्व हो । त्यसैले महिलाहरूको लागि प्रिय पर्व बन्न गएको हो ।
तीजको दिनमा साँझपख महिलाहरूले गौरा पार्वताको प्रतिमा बनाएर पूजा अर्चना गर्छन् । अघिल्लो दिन मध्यरातीसम्म दर खाएको कारणले उनीहरूले तीजको दिनमा केही नखाई व्रत बस्छन् । तीजको दिनमा केही खानु नपरोस् भनेर नै दर खाने चलन चलेको हो । गौरा पार्वताको पूजा गर्दा एकजना पुरुष पात्र सिंगारिएको हुन्छ । एकजना महिला पात्र सिंगारिएको हुन्छ । यसरी प्रतिमा बनाउने काम पुरुषहरूले गरिदिन्छन् । चोखो वनस्पति मानिने तितेपातीका डाँठ काटेर दुई हात, दुई खुट्टा, टाउको निकालिएको आकृति बनाइन्छ । यसरी नै कुशको पनि प्रतिमा बनाइन्छ । यी केही नभएका घरमा अन्य हरिया खर, घाँस आदिबाट पनि बनाइन्छ । त्यसलाई चोखा सुन्दर कपडा लगाइदिएर आँगनमा लिपपोत गरेको सफा ठाउँमा आसन ग्रहण गराइन्छ । ब्रतालुहरूले पूजा गर्छन् । धूप दिप बाल्छन् । आरती उतार्छन् । परिक्रमा गर्छन् । त्यसपछिमात्र चोखो जडहन चामलको खिर, काबुनोको पुवा, फलफूल आदि प्रसादको रूपमा खाएर नाचगान गर्न थाल्छन् । तीजको व्रत बसेका र हरेक पूजा गर्ने घरमा यो साँझ नाच्नैपर्ने हुन्छ । नाचेन भने अर्को जुनीमा सल्लोको रुख भएर जन्म लिनुपर्छ भन्ने मान्यता छ । यो मानिसलाई नचाउने काइदा हो ।
तीजका गीतको भाषा नै कर्णप्रिय छ । यसको पछिल्लो अन्त्यानुप्रास मिलाइएको हुन्छ । अरू खासै मिल्नुपर्छ भन्ने छैन । कुनै यस्तो बेला पनि थियो जुनबेला महिलाहरूले मुखले नै लय, शब्द, अनुप्रास, अन्त्यानुप्रास मिलाएर गीतहरू गाउनु पथ्र्यो । महिलाहरूले लेखापढी गर्न जान्दैनथे । जानेकाले त गीतहरू लेख्थेहोला । तर, लेख्ने फुर्सद पनि त कहाँ हुन्थ्यो र ? छोराछोरी कति पाउने भन्ने निश्चितता हुन्थेन । परिवार नियोजनका साधनहरू थिएनन् । उमेर हुँदासम्म बच्चा जन्माउने मेसिनको रूपमा महिला प्रयोग हुन्थे । घरभरी लालाबाला हुन्थे । पशुपालनको सबै जिम्मा महिलाले लिनुपथ्र्यो । घाँस काट्नु, जंगलमा जानु, दाउरा खोज्नु, खाना पकाउनु, ख्वाउनु, भाँडा माझ्नु, कपडाहरू धुनु, अन्य सरसफाइ गर्नु उनीहरूको काँधमा सिंगो घर अडिएको हुन्थ्यो । लोग्नेहरूले घरको काममा हात बँडाउने परम्परा त्यति थिएन । श्रीमतिसँग हात बँडाएको कसैले देख्यो भने त्यसलाई जोरीपारीले जोइटिंग्रे भन्थे । हाँसोको पात्र बन्नुपथ्र्यो । त्यसकारण पनि पुरुष बरालिन्थे मात्र । यसरी बरालिएकै कारण पुरुषलाई बर भन्ने गरिएको हुनुपर्छ । वास्तवमा महिलाहरूको जीवन उत्पीडनले भरिएको थियो । तिनै आफ्ना अनुभव र समस्यालाई बेदनाको रूपमा गीतमार्फत ब्यक्त गरिन्थे । ती गीतमा मनोरञ्जन हैन कि बेदनाहरू तैरिएका हुन्थे । नेपालको जति पश्चिम लाग्यो तीज त्यत्ति मीठो महशुस हुन्छ । कतिपय ठाउँमा त अहिले पनि पञ्चमी, सप्तमी, नवमीसम्म सप्तऋषिको पूजा गरिन्छ । संयोगले महिला पञ्चमी पूजा गर्नुअघि रजश्वला भएर रोकिएको खण्डमा नवमीका दिनमा पनि सप्तऋषिको पूजा गर्ने अबसर जुटाइदिन्थे । नवमीसम्म गाउँका चौपारी, घरका दलानमा तीजका गीत घन्काउने चलन छ । पश्चिमी भाकामा गाइने गीत अझ बेजोडको हुन्छ । निकै कर्णप्रिय हुन्छ । जति पूर्वमा आयो तीजको भाकालाई उत्ति तोडमोड पार्दै लगिएको छ । अहिले त तीज आउनु एक महिना अगाडिबाट दर खान थालिन्छ । ताली पिट्दै मुखले गीत गाउने, नाच्ने परम्परा हट्दै गएको छ । डेकमा बजेका गीतमा नाच्ने काम भइरहेको छ । तीजका गीतहरू अब कलाकारको कला बेच्ने माध्यम बन्न पुगेको छ । त्यो पनि पुरुष कलाकारले बढी गाउने नाच्ने गरेको पाइन्छ । तीज हो कि रत्यौली हो छुट्टाउन नसकिने भएको छ ।
अझै पनि नेपालको सुदूर पश्चिममा जाने हो भने वास्तवमै अर्गानिक तीजको लाभ लिन सकिन्छ । मन्दिरका चौपारीमा, नेटाहरूमा तीजको गीतले सबै नेपालीलाई बोलाइरहेको हुन्छ । महिलाहरूले आफ्ना परम्परागत भाखालाई छाडेका छैनन् । उनीहरूको नाचगानमा पुरुषहरू संलग्न हुन पाउँदैनन् । तीजलाई दोहोरी गीतको रूपमा प्रयोग गरिएको छैन । कुनै रिमिक्स बनाइएको छैन । अहिले पनि तीजमा महिलाहरू रमाएर नाचगान गरुन् भनेर फलफूल वितरण गरिन्छन् । सर्वत, लस्सी बनाएर दिइन्छन् । महिलाहरूको मनोरञ्जनको लागि पैसा नलिइकनै चर्खे पिंग, लिंगे पिंग खेलाइन्छन् । हाम्रा बाबैका बाह्रबिस खेताला, आज त दिदी हो गैरी खेत झिल्के रोपाईं छ अथवा चेलीले भन्छेः आँगनीको डिलडाल काली कौवै का का, केमा ल्यायौ काली कौवा सम्चार, कौवाले भन्छः पहिलोमा समाचार कागजुको चिर्कट, दुसरी समाचार तिम्लाई लिन हो । चेलीले भन्छेः मेरो मायाँ हुँदो हो त बाबा लिन आउँदा हुन्, कागजुको चिर्कटोले जान्न बरिलै । अथवा विहान उठी पानी लिन जाँदा लर्कने फूलले बाटो छेकेको जस्ता गीतहरू अहिले पनि गाइन्छन् । यिनै गीतहरूमा महिलाहरू छम्छमी नाच्ने गरेको देख्न पाइन्छ । त्यसैले पनि नेपालको पश्चिमी भेक अहिले पनि तीज गीत, संगीतको खानी रहेको छ । महिलाहरूले आफ्नो परम्परागत तीजलाई छाडेका छैनन् । उनीहरूबाट आधुनिकताको तीजमा रमाउन खोज्नेले सिक्नु जरुरी छ । साथै सबै महिलाहरूले पार्वतीको हडतालबाट पनि पाठ सिक्नु आवश्यक छ । उनले हडताल गरेको, माग पूरा गराउन सकेको कुरा त कथाबस्तुमा छ । तर, के महिलाहरू अहिले पुरुषसँग समान अबसर प्राप्त गर्न सफल छन् ? सबैप्रकारका शोषणबाट मुक्त छन् ? आफूलाई पार्वतीको स्थानमा राखेर एकपटक सोँचौँ त । à