© २०२३
विद्यालय शिक्षाको प्राविधिक धारतर्फको कक्षा १२ को नतिजा सार्वजनिक भएपनि छात्रबृत्तितर्फको भर्नामा समस्या देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले ट्रान्सक्रिप्ट नदिएका कारण विश्वविद्यालयहरूले डिप्लोमा कोर्सको भर्नामा आनाकानी गर्दा समस्या देखिएको हो । परीक्षा बोर्डले परीक्षा दिएपछिको छ महिनाको अबधि अन द जब ट्रेनिङ (ओजेटी) अबधि पूरा नभएका कारण ट्रान्सिक्रिप्ट नदिएको जनाएको छ । यसैलाई निउँ बनाई केही विश्वविद्यालयहरूले आफूखुसी भर्नामा आनाकानी गरिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयले पछि ट्रान्सिक्रिप्ट पेश गर्ने विद्यालयको पत्रको आधारमा भर्ना गरिरहेको छ भने पोखरा विश्व विद्यालयले छात्रबृत्ति कोटामा नाम निकालेका विद्यार्थीलाई ट्रान्सक्रिप्टबिना भर्ना गर्न नसकिने भनिरहेको छ । तर उक्त विश्वविद्यालयले छात्रबृत्ति कोटा बाहिरका विद्यार्थीलाई भने भर्ना गरिरहेको बताइन्छ । कक्षा १२ को परीक्षा सकिएको छ महिना अबधि ओजिटी राखिएको हँुदा माथिल्लो कक्षामा भर्नामा समस्या देखिएको भनिरहेपनि सरकारको परीक्षा संचालन गर्ने निकाय र विश्वविद्यालयबीचको समन्वय नहुन हो । सरकारी संयन्त्रको समन्वय नहुँदा विद्यार्थीहरू सास्ती भोग्न बाध्य छन् ।
बुटवलको नवीन औद्योगिक कद्दरबहादुर रिता माविका चार विद्यार्थीले पोखरा विश्वविद्यालयको छात्रबृत्ति कोटामा नाम निकालेपनि उनीहरूलाई भर्नाका लागि ट्रान्सक्रिप्ट मागिरहेको विद्यार्थीले बताएका छन् ।
सिभिल इन्जिनियरीङतर्फ कक्षा १२ उत्तीर्ण भएका विशाल सुवेदीले छात्रबृत्ति कोटामा नाम निकाल्न सफल भएपनि भर्ना अनिश्चित भएको बताए । उनी जस्तै शंकल्प अधिकारी, अविनाश पछाई, स्वदेश कुमार यादवले पनि भर्नाको बिषयमा अलमल परेपछि विद्यालयमा आएको बताए ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले छात्रबृत्तिको कोटामा नाम निकालेका विद्यार्थीको भर्नामा विश्वविद्यालयले समस्या बनाएको कुरा लिई विद्यार्थी र अभिभावक विद्यालयमा आइरहेको बताए । हामीले राष्ट्रिय परीक्षा बोर्डमा सोधिरहेका छौं बस्नेतले भने स्पष्ट जवाफ नआउँदा के गर्ने भन्ने अन्यौल छ । प्राविधिक धारतर्फको विशिष्टीकृत गरिएको विद्यार्थीका लागि देखिएको अलमललाई नीतिगत रूपमा स्पष्ट गर्नुपर्ने बस्नेतको भनाई छ ।
पोखरा विश्वविद्यालयका डिन इ. बुद्धिराज जोशीले ट्रान्सक्रिप्ट बिना कुनै पनि विद्यार्थीलाई भर्ना गर्न नसकिने बताए । अरू विश्वविद्यालयले विद्यार्थी भर्ना गरिरहेका छन् त ? भन्ने जिज्ञासामा जोशीले भने अरूले के गरेका छन थाहा भएन हामीलाई ट्रान्सक्रिप्ट चाहिन्छ नै । परीक्षा बोर्डले त कक्षा ११ र १२ को ग्रेड सिटको आधारमा भर्ना गर्न मिल्छ भनिरहेको छ नि ? भन्ने जिज्ञासामा उनले, पछि ट्रान्सक्रिप्ट दिने यकिन भएको पत्र र प्रतिशत खुलेको ग्रेडसिट भए साेंच्न सकिने बताए ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी शर्माले ओजिटि नसकिएका कारण ट्रान्सक्रिप्ट नदिइएको बताए । परीक्षा बोर्डले ट्रान्सक्रिप्ट नदिँदा विद्यार्थीको माथिल्लो कक्षाको पढाइमा बाधा पुग्यो नि ? भन्ने जिज्ञासामा उनले परीक्षा सम्बन्धी नियमलाई पालना गर्दा यस्तो समस्या निम्तिएको उनको जवाफ थियो । एकै समय समुहका कुनै विद्यार्थीले पढ्न पाउने र कुनैले नपाउने समस्याको बाधा फुकाउने जिम्मेवारी परीक्षा बोर्डको होइन र ? भन्ने जिज्ञासमा उनले भने, म त नियम पालना गर्नका लागि खटिएको व्यक्ति, नियम मिलेन भन्न मैले मिलेन ।
उनले यसो भनिरहँदा परीक्षा बोर्डका एक अधिकारीले भने प्राविधिक धारका विद्यार्थीको अप्ठ्यारो फुकाउनका लागि परीक्षा बोर्डले विद्यालयले पठाएको पत्रको आधारमा सम्बन्धित विश्वविद्यालयलाई पत्र लेखि बाधा फुकाउने गरेको बताए । सरकारले जारी गरेको व्यावहारिक अभ्यास कार्यान्वयन निर्देशिका २०७३ मा व्यवहारिक अभ्यासका लागि कक्षा १० र ११ का लागि तीन महिना र कक्षा १२ पछि ६ महिना समय विभाजन गरि प्रोजेक्ट वेस लनिङ गर्नुपर्ने उल्लेख छ .