© २०२३
गएको मंगलबार रातीदेखि सुदूरपश्चिमको खप्तड राष्ट्रिय निकुञ्जको आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर एकसाताको अवधिमा साना ठूला गरी ५०३ वटा पराकम्पहरू गएपछि राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले सतर्क रहन सूचना जारी गरेको छ । मंगलबार राती ८ बजेर १२ मिनेटमा सुरु भएको भुकम्प पछि लगातार सोही क्षेत्रको आसपासमा धेरै पराकम्प गएकाले सुरक्षित र सचेत रहन लागि विज्ञहरूले सुझावसमेत दिएका छन् । ५१७ वर्षयता पश्चिम नेपालमा ठूलो भुईँचालो नगएको र अझैपनि ठूलो विनाशकारी भूकम्प आउन सक्ने हुनाले सचेत हुनुपर्ने अवस्था देखिएको छ । सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्र हुँदै पृथ्वीको सतहमुनि दुईवटा प्लेटहरूको दरारमा शक्ति सञ्चित भई बसेकाले ८ रेक्टर स्केलभन्दा माथिको विनाशकारी भूकम्प आउने सम्भावना रहेको विज्ञहरुले औंल्याएका छन । ठूलो भूकम्प कहिले, कहाँ जान सक्छ भन्ने बारेमा भन्न नसकिने स्वयं भूकम्पविदहरुको भनाईले भूकम्पबाट सावधान रहनु जरुरी छ । एक साताको अवधीमा सयौं पराकम्पन गएकोले स्थानीय बासिन्दा त्रसित बनेका छन् । उनीहरु घर छाडेर बाहिर वसेका छन । हिमाली जिल्ला त्यसमाथि जाडोको समयमा घर बाहिर बस्नुपर्दाको पीडा बयान गरेर साध्य छैन । सरकारले अहिलेसम्म त्यस क्षेत्रमा राहतको कुनै कार्यक्रम लगेको छैन । स्थानीय नागरिकको जीवन कष्टपूर्ण वनिरहेको छ । त्यसो त नेपाल भूकम्पको सर्वाधिक जोखिम भएको देश हो । त्यसकारण सरकारले मात्र होइन आम नागरिकले समेत भौतिक पूर्वाधार निर्माण गर्दा भूकम्प प्रतिरोधी भवन बनाउन, भोलिका दिनमा भूकम्पपछि आउने सम्भावित खतरा र त्यसले निम्त्याउने समस्यालाई दृष्टिगत गरेर तयारीमा जोड दिनुपर्ने देखिएको छ ।
एक सातादेखि लगाताररूपमा आइरहेका साना ठूला भूकम्पका कारण बझाङ जिल्लामा मात्र दुई हजारभन्दा बढी घरहरूमा क्षति पुगेको छ । पटक पटक आइरहेका पराकम्पले सुदूरपश्चिम प्रदेशका ग्रामीण बस्तीमा रहेका हजारौं कच्ची घरमा क्षति पुगेको छ । पुरानो संरचना अनुसार बनाइएका घरहरूमा चिरा चिरा परि भत्कने अवस्था पुगेको छ । मुलुक निर्वाचनको अन्तिम तयारीमा रहँदा सुदूरपश्चिमका नागरिकमाथिको पीडा सम्वोधनमा समय लागेको छ । अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै भुकम्प प्रभावित क्षेत्रका वासिन्दाहरु सजग र सचेत हुँदै आन्तरिक व्यवस्थापनको जोहो आफै गर्नुपर्ने अवस्था छ । नेपालमा २०७२ वैशाख १२ को भुकम्पको विनाशलाई हेरेर मुलुक फेरि उही अवस्थामा फर्कन दशकौं लाग्ने अनुमान प्रायः सबैको थियो । तर भुकम्पको जोखिममा रहेको मुलुक करिव सात बर्षको वीचमै अर्को जोखिममा परेको छ । नेपालमा सवैभन्दा पहिलो र ठूलो रेक्टरमा वि.सं. १९९० सालमा भुकम्प गएको थियो । त्यसलाई महाभूकम्प संज्ञा दिइएको थियो । त्यसपछिको २०७२ साल बैशाख १२ गतेको ठूलो भूकम्पमा परी ८ हजार ७ सय ९० जनाले ज्यान गुमाएका थिए । त्यसैपनि हाम्रो मुलुकको भौगोलिक संरचना भूकम्पको उच्च जोखिममा छ । तसर्थ भुकम्पबाट जोगिने गरी भुकम्प प्रतिरोधी घर निर्माणमा आम नागरिकलाई सचेत बनाउनु जरुरी छ । दुर्गम पहाडी बस्ती जहाँ चरम अभाव र गरिवी छ, त्यहाँका जनता अहिले भुकम्पको कारण साँझ विहानको खानाको जोहो गर्न समेत नसक्ने अवस्थामा छन, उनीहरुको राहत र उद्धारको लागि ध्यान पुग्नु जरुरी छ । पराकम्प अझैपनि गईरहेकोले भयभित बनेका स्थानीय नागरिकलाई सुरक्षित राख्नु पहिलो दायित्व हो । तसर्थ निर्वाचनको मुखैमा भएपनि भुकम्प प्रभावित नागरिकलाई खाना र नानाका साथै सुरक्षित बस्तीको व्यवस्थापनमा सवैको ध्यान पुगोस् । राहत र पुनस्र्थापनाको विषयमा संघ, प्रदेश र स्थानीय पालिकाहरुको ध्यानाकर्षण होस् ।