© २०२३
झपेन्द्र जी.सी
पाल्पा जिल्ला नेपालका ७७ जिल्लामध्ये एक ऐतिहासिक जिल्ला हो । हाल प्रदेश नम्बर ५ को नाममा चिनिएको प्रदेश अन्तर्गतको पाल्पा जिल्ला पहाडी जिल्ला हो । बुद्ध जन्मभूमि लुम्बिनी अन्तर्राष्ट्रियस्तरमै चर्चामा आउने र बुद्ध धर्माबलम्बीहरूको लागि यो अत्यन्तै पवित्र र शान्तिको उद्गम क्षेत्र हो । विश्वलाई शान्ति र अहिंसाको पाठ सिकाउने काम आजभन्दा २५६२ बर्ष पहिला जन्मिएका सिद्धार्थ गौतमले गर्नुभएको थियो ।
यसरी नै विश्वभरमा घाम नअस्ताउने साम्राज्यको मालिक ठान्ने विश्व साम्राज्यवादी नायक अंग्रेजलाई परास्त गर्ने अभियान पनि यहि पाल्पाबाट कर्णेल उजीरसिंह थापाले चलाएका थिए । १८१४–१८१६ सम्म भएको नेपाल अंग्रेज युद्धमा पाल्पा रणउजेश्वरी भगवतीसँग आशिर्वाद मागेर शक्ति प्राप्त गरेका कर्णेल उजीर सिंह थापाले उनको फौज र पाल्पाली जनताले एकीकृत युद्ध अभियान सञ्चालन गरी बुटवलको जीतगढी किल्लाबाट परास्त गरेको गौरवमय इतिहास पाइन्छ । नुवाकोट र जीतगढीको युद्धमा साम्राज्यवादी अंग्रेजलाई परास्त गरेपछि पाल्पाका ईष्टदेवी र शक्तिमाताका रूपमा सम्मानित भगवती माता मन्दिर बनाउनुका साथै १८९९ देखि रणउजेश्वरी भगवती जात्राको शुभारम्भ गरिएको हो । तिथिको हिसावले त्यो आजको दिन हो । अंग्रेजलाई परास्त गर्न सक्ने बरदान देउ, तिम्रो सम्मानमा सिंदुर जात्रा गरौँला भन्ने उजिरसिंह थापाले गरेको भाकल अनुसार जीतगढीमा विजय प्राप्त गरेको भन्ने किंवदन्ती छ । जुन जात्राले अहिले पनि निरन्तरता पाएको छ । यसरी नै निजामती, जङ्गी, प्रहरी, पाल्पाली जनता र संघ संस्थाहको सहभागिता रहँदै आएको छ । भगवती जात्रा विजय जात्रा हो, राष्ट्रकै अस्मिता हो । भगवती जात्रा एउटा परम्परा भएको छ । जात्रामात्रै होइन, अमरनारायण जात्रा, गाई जात्रासमेत तदुपरान्त अटूट रूपमा १८७७ पछि क्रमशः सुरु भएर सञ्चालन हुँदैछन् । पाल्पामा आउन सबैलाई स्वागत छ ।
नेवार समुदायको बाक्लो बस्ती भएको क्षेत्रमा गाईजात्रा, रोपाइजात्रा, लाखेनाच हुने गरेका छन् । पूर्वमा कांक्रेमण्डल, गौंडाकोट र दर्छा, रामपुर, खलिवन, मदनपोखरा, आदि नेवार बस्ती भएका ठाउँहरू छन् । यसरी नै सदरमुकाम तानसेन, सावाँकोट, भैरवस्थान, हार्थोक, पेलावास, भुवननपोखरी, अर्गलीजस्ता गाउँपालिकामा पनि नेवार समुदाय रहेका छन् । भीमसेन र भैरवका मन्दिर जहाँ छन् त्यहाँ जीवन्त राखेका छन् । त्यहाँ नेवार समुदाय छन् भन्ने पहिचान भैैहाल्छ । रोपाइजात्रा, लाखेनाच, मालश्री, नेवारी फागु, नेवारी भजन गाएर नाचेर आफ्नो संस्कृतिको पहिचान र परिचय दिई नै रहेका छन् । उसरी पाल्पा जिल्ला ब्राह्मण क्षेत्री, सार्की कामी, दमै, मगर, कुमाल, बोटे, मुसलमान लगायतले बसोबास गरेको जिल्ला हो । आजकल इसाई धर्माबलम्बीहरू पनि केही देखापरेका छन् । यी सबै जाति र धर्महरूका विविध कला, गला, सिप प्रविधि सबै पाल्पाली संस्कृति हुन् । मगर समुदायमा सोरठी, घाटु, बढुवा, सालेजो, जिममै, विभिन्न खालका झाम्रे गीत र नृत्यहरू प्रचलित छन् । ती विबिधाहरूमा उनीहरूको अनेकौं अभिव्यक्ति अभिनय जीवन्त रहेको पाइन्छ । क्षेत्री, ब्राह्मण समुदायमा भजन, ख्याली, चुड्का, रोइला, आदि प्रचलित छन् । देउसी मालश्री, फागु तीजगीत आदि पर्व गीतका रूपमा जीवन्त छन् । जिउँती, वा रत्यौली, मागल मङ्गला, गीतले विवाह कर्म चलाई जीवन्त बनाइराखेका छन् ।
हरेक खेतीपातीको शुभारम्भ वाली स्याहार्ने र संरक्षण गर्ने बेलामा गाइने नेपाली गीत, असारे गीत, दाइँ गीत जस्ता खेतीपातीका अवसरमा गुञ्जन हुने गीत संगीतले डाँडा पाखा वन जंगल पखेराहरूलाई सजीव र हराभरा बनाएको पाइन्छ । यतिमात्रै कहाँ हो र ए सत्यवती बजै मेरो माइलो छोराले बीच तलाको धनसारको मैन खाँवा (मुख्य खाँवा) मा बसेर मही पारेको देख्ने वरदान देउ,…. भनेर जोर स्वरमा बरदान माग्ने सत्यवती मेला उत्सवले अर्को रौनकता थपेको छ । माना पाथीको रोट पकाएर पाल्पा भैरव बाबालाई चढाउने, भाकल माग्ने भेटी चढाउने सेनकालिन संस्कृतिको बेजोड नमुना पनि पाल्पा भैरवस्थानमा छ । स्यांजा, गुल्मी र पाल्पाको संगम स्थल रिडी, रुरु क्षेत्र, पाल्पा अर्गली कालिगण्डकीको साथै दहचोकेश्वर मन्दिर ऋषिकेश माताले मणिमुकुन्द सेन र सेनकालिन संस्कृतिको स्मरण गराएका छन् । यता मदनपोखरा स्थित माण्डव्य ऋषि मन्दिर र आश्रमले योगासनमार्फत स्वाथ्य आर्जन गर भन्ने सन्देश प्रस्तुत गरिरहेको छ । बुद्धकालिन विपश्यना ध्यान योग साधना लोकप्रिय भएको थियो । त्यसलाई पुनर्जीवन दिँदै मानवजातिले योगसाधनाको महत्व र व्यवहारिक प्रयोग र अभ्यास गराउन तानपा ८ मदनपोखराको सिरडामा थुम्कोडाँडाले बुद्धकालिन र योग साधनाको अभ्यास सुरु गरिएको छ । सिद्धबाबा दोभान दर्लाम महाकाली, रम्भापानी, गोखुङ्गा, रैनादेवी, मदनपोखरा कोकल देवी, सिता कुण्ड दह, सूर्यकुण्ड, प्रभासले आचार्य प्राचीन संस्कृति र प्रकृतिको वकालत गरिरहेको छ । पवित्र शालीग्रामको गट्टा खेल्दै देवघाट त्रिवेणीतिर बगेको पवित्र कालिगण्डकी नदीले शालग्रमा कोरल्दै गरेको दृश्य दर्शनीय मात्र होइन, उत्तिकै आकर्षक र जीवन्त पनि छ । सिंहजस्ता जनावरबाट हुने आक्रमणलाई रोक्न र आत्मरक्षाको नमुनामायोग्य उदाहरण बनेर रिब्दीकोट, जलेश्वरमा पनि अहोरात्र धुनी जलाएर बस्ने संस्कृतिले आदीम मानव पुर्खाको प्रथम आविस्कार आगोको महत्वलाई झल्काउनुका साथै एउटा जीवन्त संस्कृतिको इतिहास बाचन गरिरहेको अनुभूत हुन्छ । हिउँदमा डाँफेलाई अण्डा पार्ने र बच्चा कोरल्ने उपयुक्त वातावरण प्रदान गर्ने कौडेलेकले डाँफेलाई हुर्काएर हिमालतिर पठाउने गरेको दृश्य पनि आश्र्चयको विषय हुन सक्छ ।
आश्चर्य मान्नु वा नमान्नुमा केही छैन तर पाल्पा कौडेलेकले डाँफे ह्याचरी केन्द्र प्राकृतिक रूपमा सञ्चालन गरि नै रहेको छ । रिब्दीकोट, जरेलेक, तीनगिरे हात्तीलेक, रिम्घालेकले पनि हामी पनि कम छैनौँ, गुराँस फुलाउछौँ भनेका छन् । जडीबुटीको खेती गर्छौं, मृग, घोरल, कालिज र तित्रा, खरायो, नियाली बाघ पालिरहेका छौँ भनेर दावी गर्दैछन् । पाल्पा प्राकृतिक इतिहास र संस्कृतिको कलाकृतिको बैभवशाली भण्डार हो । आदि मानव तिनाउ खोला क्षेत्र विश्वकै गन्तव्य स्थल हो । देवनीनगर भुन्टुङ्ग देखि उद्गम भएको तिनाउ कोरिडोर क्षेत्र माडी फाँटको पूर्व दक्षिण कोइला क्षेत्रको रूपमा प्रसिद्ध छ । तराईको सम्म भागलाई मात्र होइन, विमस्टेक क्षेत्रको न्यूनतम आवश्यकता पूर्ति गर्न सक्ने क्षमता पाल्पासितै छ भन्दा अतिशयोक्ति हुने छैन । हेर्न आँखा चाहिन्छ हेरे देखिन्छ । हेर्ने चाहना हुनु आवश्यक पर्छ । सारतः प्रकृतिले पाल्पालाई सिँगारेको छ । साधन स्रोत पर्याप्त छ । जंगलहरू जडिबुटीमा सम्पन्न छन् । यसरी सुन्दर रमणीय पक्ष तथा भौतिक पक्षलाई बुझेर नै सेन राजाहरूले सन् १३६३ देखि यहाँ राज्य गर्न थाले । बुटवल, शिवराज र सैनामैना भेगलाई बेसी बस्ती र पाल्पा सिंगारिकोट, रिब्दीकोट भैरवस्थान पूर्वकोट र तानसेनलाई राजधानी बनाएर यहिँ बसी ऋषिकेश मन्दिर भैरव मन्दिर, प्रभास, शिवालय, नुवाकोट गढी माथगढी आदि राज्य विस्तार गर्दै गङ्गासम्म पु¥याए । दार्जलिङ्ग अन्तर्राष्ट्रियसम्म पु¥याए । यता उजीर सिंह थापाले अंग्रेजलाई धपाए । राष्ट्रको अस्मिता बचाए र उत्सवहरू चलाउने विधि बाँधे । गुठी राखेर एउटा सम्पदाको निर्माण गरी सामाजिक संस्कृतिक एकता तथा प्राचीन र अर्वाचीन कला उत्पादन पद्धतिमा एकता र वर्तमान संघीय लोकतान्त्रिक पद्धतिको संगम भन्नु नै आजको पाल्पा हो । विकास र समृद्धि विविध संस्कृतिको भण्डार हो ।
सांस्कृतिक संग्रहालय पाल्पा दरवार, अनुपम दरबार रानीमहल र विभिन्न पर्यटक क्षेत्र, जातजातिका लोकधून, सिप, प्रविधि पाल्पाका जीवन्त संस्कृतिका आधार हुन् । ईश्वरीय होइन, प्राकृतिक अर्थात स्वनिर्मित प्रकृतिमा मानव पुर्खाले केही संरचना र पद्धति, संस्कार, परम्पराको निर्माण गरे । जो आज पनि अनुकरणीय र संग्रहणीय छ । सक्छन् मान्छेहरू गर्न सक्छन् । पाल्पालीहरूले, नेपालीहरू गर्न सक्छन् यसको लागि दृढ चाहना हुनै पर्छ । सांस्कृतिक पर्यटन, प्राकृतिक पर्यटन, कृषि पर्यटन आदि गरेर पाल्पा वा अर्को कुनै जिल्लाले पनि समृद्धिको ढोका खोल्न संभव छ । पाल्पामा प्रचूर संभावना छ । जनताको ध्यान पुग्न मात्रै खाँचो छ ।