© २०२३
पछिल्लोसमय मानिसमा दया, माया र करुणा हराउँदै गएको छ । मानिस विवेक विनाका व्यभिचारी बन्दै गएका छन् । १३ बर्षको बालकदेखि ८४ बर्षका बृद्ध समेत व्यभिचारमा संलग्न भएको समाचार हामी आफै पढ्न विवस वन्दै गएका छौं । मानिस यति क्रूर र निष्ठुरी बन्दै गएको छ कि मानवीय सहयोग र सदभाव लोप भैसकेको देखिदैछ । गत सातामात्रै रुपन्देहीमा दुईजना किशोरीमाथि सामुहिक बलात्कारको घटनाले वास्तवमा युवाहरु विकृति र विसंगतितर्फ उन्मुख हुँदै गएको र मानवीयता भन्ने भावना लोप हुँदै गएको उदाहरण काफी छ । आफ्नै दाजुभाईसंगै रहेका किशोरीलाई अपहरण गरेर एकान्तमा लगेर बलात्कार गर्नु सानो हिम्मत होइन । यसबाट नेपाली समाज बिश्रृखलित हुँदै गएको पुष्टी भएको छ । प्रहरीले घटनामा संलग्न ९ जनालाई पक्राउ गरेको छ । घटना कञ्चन गाउँपालिका २ गोपालपुरको हो । मेला हेरेर फर्कदैँ गरेका १५ र १६ बर्षीया किशोरीलाई ११–१२ जनाले अपहरण गरी जंगल तथा खोलाको किनारमा लगेर जवरजस्ती गरेको घटना पहिले कुनै चलचित्रमा हेर्ने गरिन्थ्यो । विडम्वना अहिले नेपाली समाजले त्यो सुन्न विवस भएको छ ।
विडम्वना नै भन्नुपर्दछ– निर्मला पन्तको बलात्कार प्रकरण अहिले सुस्ताएको छ । मानौं यो घटना नै लोप भैसकेको छ । सवै प्रमाण हुँदा पनि सरकारले यो घटनामा संलग्नमाथि कारवाही गर्ने हिम्म्त देखाएन । कुनै एउटा सरकारले मात्र होइन बलात्कार घटना यता बनेको नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको सरकारले निर्मला पन्तको बलात्कार प्रकरणका दोषीमाथि कारवाहीको घटनालाई अघि बढाएनन् । बरु एक प्रधानमन्त्रीले यस्ता घटनाका अपराधी बीसौं वर्षपछि पनि पत्ता लाग्ने र गृहमन्त्रीले अन्य देशको तुलनामा नेपालमा बलात्कारको घटना कम रहेको र नेपालमा मात्र यस्ता घटना नभएको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका थिए । राज्यको दायित्व अपराधीलाई सजाय दिलाउनु हो, गैरजिम्मेवार अभिव्यक्ति दिनु होइन । यस्ता अभिव्यक्तिका कारण आपराधिक मनोवृत्तिले बोलवाला पाउँछ । त्यसपछि बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको दुर्दान्त दुखान्त घटना बाहिर आयो । बैतडी जिल्ला दोगडाकेदार गाउँपालिकामा सनातन धर्म माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको थियो । त्यो घटनाका दोषी बल्लबल्ल सजायको भागिदार भएको छ । नेपालमा कतिपय अपराधमा राज्य–संयन्त्र अपराधी पत्ता लगाउन असफल रहँदै आएको छ । अझ कतिपयलाई राजनीतिकरण गरी शासन–संयन्त्र र राजनीतिक दलहरु अपराधीलाई संरक्षण गर्न पुग्छन् । कुनैपनि खाले राजनीतिक तत्वहरु संरक्षणमा उद्यत भएमा तिनलाई पनि दण्डित गरिनुपर्छ भन्ने विश्वव्यापी मान्यता हो तर नेपाल त्यसबाट पृथक रहँदै आएको छ । नेपालमा कानुनले दण्डित गरेका घटनाको ढाकछोप गर्नेलाई पुरस्कृत गर्ने परम्परा छ । धन्य हाम्रो देश र हामी नेपाली । राज्यले प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारबाही गर्न नसक्दा यस्ता व्यभिचारीहरूको मनोबल बढिरहेको छ ।
नेपालमा कुल बलात्कारका घटनामध्ये ५१ प्रतिशत बालिका र किशोरीहरू छन् । स–साना बालबालिकाहरूलाई ललाई–फकाई वा धम्की दिएर व्यभिचारीहरूले यस्ता अपराध गर्ने गरेका छन् । बालबालिकामाथिका यस्ता जघन्य अपराधमा पारिवारिक चिनजान, नजिकका आफन्त र अपराधिक मनोवृत्ति भएकाहरूबाट हुने गरेका छन् । यस्ता गम्भीर प्रकारका अपराधमा कारवाही नभएको खण्डमा त्यस्ता प्रवृत्ति–मनोवृत्तिका मानिसहरु हतोत्साहित हुन सक्दैनन् । सयममै अनुसन्धान गरी व्यभिचारी÷अपराधीलाई दण्डित गर्नु राज्यको कर्तव्य हो । समाजमा यस्ता घटनाहरू बढ्नुमा हाम्रो समाज मनोविज्ञानको अध्ययन पनि जरुरी छ । बालिका र किशोरीहरूलाई पनि यसबारेमा सुसूचित गर्नुपर्छ । समाजमा व्याप्त यस्ता अपराधहरू निराकरण गर्न प्रशासन र नागरिक समाजले अव सार्थक पहल गर्न ढिलाई गर्नु हुँदैन ।