© २०२३
नेपाल सस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान अन्तरगतको आर्युवेद शिक्षण अस्पताल सधै सुनसान हुन्छ । अस्पतालका डाक्टरहरू बिरामी कुरिरहेका हुन्छन्, तर बिरामीहरू आउँदैनन् । महिनामा एक, दुई जना बिरामीले मात्रै सेवा लिने गरेको डाक्टरहरू बताउँछन् । अस्पताल सञ्चालन भएको एक बर्ष भन्दा बढि भयो । तर अहिले सम्म कति जना बिरामीले सेवा लिए भन्ने कुनै तथ्याङ्क अस्पताल संग छैन । २०७३ चैतदेखि सञ्चालनमा आएको अस्पतालमा अहिले सम्म कति बिरामीले सेवा लिए भन्ने कुनै तथ्याङ्क नभएको आर्युवेद अध्ययन संस्थान केन्द्रीय आर्युवेद प्रमुख प्राध्यापक डा. सुनिल कुमारले जानकारी दिए । “अहिले सम्म कति बिरामीले सेवा लिए कुनै तथ्याङ्क छैन्, महिनामा एक दुई जना मात्रै आउँछन् त्यस्तो पनि के रेकर्ड राख्नु भनेर नराखीएको हो” कुमारले भने । अहिले अस्पतालमा आवश्यक अनुसारको दरबन्दी पनि छैन् । जसले गर्दा पनि विरामीहरू अस्पताल नआएको उनको तर्क छ । अस्पताल नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत क्याम्पसको मातहतमा छ । क्याम्पसमा पढाउने प्राध्यापकहरू नै उक्त अस्पतालका डाक्टरहरू हुन् । त्यसले गर्दा पनि सेवा प्रभाबकारी हुन नसकेको उनको भनाई छ ।
बिरामीको सेवासंगै आर्युवेदमा स्नातक (बिएएमएस) गरिरहेका बिद्यार्थीहरूको प्रयोगात्मक शिक्षणका लागि पनि आर्युवेद शिक्षण अस्पताल सञ्चालनमा ल्याईएको हो । तर अस्पतालमा न त नर्सिङ पदमा कर्मचारी छन्, न त ल्याबमा नै पर्याप्त दरबन्दी छ । न त आबश्यक पर्ने उपकरणहरू नै छन् । जसले गर्दा आफ्नै अस्पताल हुँदा हुँदै पनि प्रयोगात्मकका लागि बिजौरीको मध्यपश्चिम क्षेत्रीय आर्युवेदिक औषधालय, राप्ती अञ्चल अस्पताल, राप्ती उपक्षेत्रीय अस्पतालमा पु¥याउनु पर्ने बाध्यता रहेको आर्युवेद संस्थानका डिन प्राध्यापक डाक्टर सञ्जय पोख्रेलले बताए । “अस्पताल सञ्चालनका लागि आवश्यक अनुसार दरबन्दी छैन, त्यसले गर्दा हामीले अस्पतालबाट बिद्यार्थीहरूलाई प्रयोगात्मक शिक्षा दिन सकेका छैनौ” पोख्रेलले भने । अहिले अस्पतालमा नर्सिङ् पदमा एउटा पनि कर्मचारी छैनन् भने ल्याबमा एक जना मात्रै छन् । “सामान्य अवस्थामा अस्पताल छ अरू फाँटमा कुनै पनि कर्मचारी नै छैनन्” डा.पोख्रेलले भने । विश्वबिद्यालयको भवनबाट सेवा शुरु गरेको अस्पताल अहिले आफ्नै भवनमा सरेको छ ।
पाँच नम्बर प्रदेशको राजधानी दाङ बनेमा प्रदेश मन्त्रालयहरू बस्ने भनी चर्चा गरिएको भवन नै अहिलेको शिक्षण अस्पताल हो । । प्रदेश मन्त्रालय बस्नलाई पनि उचित मानिएको भवनमा राखिएको अस्पतालका सैयाले भवनलाई गिज्याईएको भान हुन्छ । बाहिर हेर्दा चिटिक्क देखिने भवनको आँगनमा जब पुगिन्छ, त्यहाँ नजिकै गाई बस्तुका गोबरहरू यत्रतत्र छरिएका छन् । बाहिर अस्पतालको नाम छ, तर भित्र जाँदा न त डाक्टर हुन्छन्, न त बिरामी नै । कार्यालय भित्र राखिएका केही पोका औषधी, ल्याबका सामाग्री, अस्पताल भित्र राखिएका बेडहरू मात्रै देख्न सकिन्छ । दोस्रो तलामा क्याम्पस प्रशासन छ । बिएएमएसका बिद्यार्थीहरू त्यही भवनमा पढ्छन् । उक्त भवनको तल्लो तलामा अस्पताल राखिएको छ । तर त्यहाँ पनि ब्यवस्थित भने छैन । फार्मेसी कोठामा पनि कोही भेटिदैन न त औषधी न त फार्मेसी सञ्चालकहरू नै । शैयाहरू बिच्छ्याईएका छन्, तर अब्यबस्थित छन् ।
बिभिन्न ६ प्रकारका सेवाहरू दिने भनी अस्पताल सञ्चालनमा आएको हो । शुरुवाती चरणमा औषधी पनि थियो । त्यो औषधी केही बिक्रि भयो, केही अहिले स्टोरमा त्यसै थन्किएको छ । करिब दुई किलोमिटर नजिकै रहेको बिजौरीमा मध्यपश्चिम क्षेत्रीय आर्युवेद औषधालय छ । जसले गर्दा पनि बिरामीहरू मध्यपश्चिम क्षेत्रीय आर्युवेदमा जाने तर बेलझुण्डीको अस्पतालमा नजाने गरेको प्राध्यापक डा. सुनिल कुमारले बताए । त्यसमा पनि बेलझुण्डीको आर्युवेद शिक्षण अस्पतालमा चेकजाँच गरेको मात्रै निःुशल्क हो, विरामीले औषधी भने किन्नु पर्छ । त्यसले गर्दा पनि सेवा प्रभाबकारी हुन नसकेको उनको भनाई छ । “नजिकै बिजौरीमा क्षेत्रीय आयुर्वेद औषधालय छ, जहाँ निःशुल्क औषधी बितरण हुन्छ, तर यहाँ चेकजाँच मात्रै निशुल्क हो, औषधी त किन्नु पर्छ” कुमारले भने । नयाँ सेवा शुरु गरेमा बिरामी बढ्न सक्ने उनले बताए । अहिले दाङका आर्युवेद औाषधालयले दिने गरेको सेवा भन्दा फरक सेवा दिन सकेमा मात्रै बिरामीहरू उपचारका लागि आउन सक्ने उनको भनाई छ ।
अस्पतालमा प्रयोगशाला, नर्सिङ, अनमी, लेखापाल, प्रशासनका लागि कर्मचारी आवश्यक पर्ने भएपनि आवश्यक्ता अनुसारको दरवन्दी नहुँदा पनि समस्या भएको अस्पताल प्रशासनले बताएको छ । अस्पताल स्त्रीरोग विशेषज्ञ, जनरल सेवा, सर्जरी, रस सास्त्र, प्याथोलोजी लगायतका सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याईएको हो ।
à