© २०२३
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७ औँ सम्मेलन (कोप–२७) आइतबारदेखि इजिप्टको शार्म एल–शेखमा सुरु भएको छ । यो सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियसमा कायम गर्ने विषयमा विश्वका सबै राष्ट्रहरू ऐक्यबद्ध हुने, यस वर्ष ग्लास्गो प्याक्टको कार्यान्वयन र राष्ट्रिय निर्धारित योगदान र न्यूनीकरणका महत्वाकाङ्क्षी लक्ष्यका कार्ययोजना तयार गर्ने, अनुकूलनका विश्वव्यापी लक्ष्यमा सहमत हुने र कोप २६ मा सहमत भएको अनुकूलन वित्तको कार्यान्वयन गर्ने बारेमा छलफल र निर्णय हुने अपेक्षा गरिएको छ । विश्व तापमान बृद्धिबाट नेपालले समेत प्रभाव भोगिरहेको अवस्थामा सम्मेलनमा हिमाली क्षेत्रका मुद्दा, अनुकूलन तथा कृषि र खाद्य सुरक्षाको विषय उठाउने सरकारको प्रतिवद्धता छ । नेपाल लगायतका साना देशले विश्वका धनी र विकसित राष्ट्रलाई आफ्नो महत्वाकाङ्क्षी एनडिसिज र दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति परिमार्जन गरी पुनः बुझाउन अनुरोध गर्ने सहमति भएको छ । साथै यसको पालनामा कोपको सचिवालयलाई सक्रिय नेतृत्वका लागि नेपालले पैरवी गर्ने अपेक्षा गरिएको छ । नेपालले अनुकूलनका लागि दोब्बर घोषणा गरिएको वित्तको प्रवाह सार्वजनिक माध्यमद्वारा अनुदानस्वरूप प्रदान गर्ने विषय पनि नेपालको प्राथमिकतामा छ । नेपालले आफूजस्तै अति कम विकसित देश, साना टापु र विकासशील राज्यको हरित जलवायु कोष र अन्य कोषका लागि आवेदन प्रक्रियाको सरलीकरण गर्न, क्षमता अवरोध हटाउन र जलवायु कोषमा प्रत्यक्ष पहुँच सुधार गर्न सशक्तरूपमा बहस तथा पैरवी गर्ने भएको छ । जलवायु परिवर्तन सम्मेलन नेपालका लागि पनि उत्तिकै महत्वपूर्ण छ जति विश्वका जलवायुको प्रत्यक्ष प्रभाव भोगिरहेका छन ।
जलवायु सम्मेलनमा पृथ्वीको औसत तापमान वृद्धिले मानव जीवनका साथै पर्यावरणमा परेको नकारात्मक प्रभावका विषयमा बहस हुनेछ । विश्वको ध्यान तापमान बृद्धि नियन्त्रण गर्न केन्द्रित हुन जरुरी छ । विश्वमा फैलिंदै गरेको जलवायु परिवर्तनको प्रभाव र यससँग सम्बन्धित विविध समस्या निराकरण गर्ने विषय प्राथमिकतामा पर्नु उत्तिकै जरुरी छ । अहिलेपनि पृथ्वीको औसत वायुमण्डलीय तापमान आफ्नै रफ्तारमा बढिरहेको अध्ययनले देखाएको छ । यहीअनुरूप तापमान बढ्दै गएमा सन् २०५० सम्ममा पृथ्वीको औसत वायुमण्डयीय तापमान १.५ डिग्री सेल्सियस नाघ्ने र सन् २१०० मा २ देखि ४ डिग्री सेल्सियसले बढ्ने सम्भावना रहेको बैज्ञानिकहरुले चेतावनी दिएका छन । तसर्थ सम्मेलनको महत्वपूर्ण मुद्दा तापमान बृद्धि नियन्त्रण हुनुपर्दछ । तापमान नियन्त्रणमा राख्न नसकिएको अवस्थाम जलवायुको असर समस्त प्राणीका लागि भयावह हुने निश्चित छ ।
नेपालले यो सम्मेलनमा बर्षेनी बढ्दै गरेको तापक्रमका अतिरिक्त जलवायु कोषहरूमा नेपालको सरल तथा सहज पहुँच र अनुकूलन, उत्थानशीलता तथा हरित विकासको अवधारणा प्रवद्र्र्धनमा प्रदान गरिने वित्त अनुदानको निश्चितताबारे पैरवी गर्नेछ । जसबाट नेपाल लगायतका राष्ट्रले गर्ने कम हरित ग्याँस उत्सर्जनबाट क्षतिपूर्ति पाउने आशा अरु बढ्नेछ । हरितगृह ग्याँसको उत्सर्जनले वायुमण्डल तात्ने प्रक्रिया विशेषगरी १८ औं शताब्दीको अन्त्यतिर सुरू भएको औद्योगिक क्रान्तिपछि देखिन थालेको वैज्ञानिकहरूको ठम्याइ छ । परिणामस्वरूप पृथ्वीको औसत वायुमण्डलीय तापमान अहिले औद्योगिक क्रान्ति अगाडिभन्दा १.१० सेल्सियसले बढेको छ । जसलाई वैज्ञानिकहरूले खतराको संकेत मानेका छन् । सामान्यतया प्राकृतिक प्रक्रियाको कारण पृथ्वी तात्दै आइरहेकोमा पछिल्लोपटक मानवीय कारणले पनि तात्न थालेको छ । आशा गरौं कोप सम्मेलनले पृथ्वीको तापमान बृद्धि हुँदै गएको र यसले उत्पन्न गरेको चुनौतिको महत्वपूर्ण मुद्दामा सार्थक निष्कर्ष दिनेछ ।