© २०२३
गुल्मी इश्माकी ६५ वर्षिया जमुना अर्याल बुटवलमा रहेको लुम्बिनी अञ्चल आयुर्वेदिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आइन् । अस्पतालले उनलाई तीन दिनको औषधि दियो र एकसातापछि फेरि आउन भन्यो । उनले आफू टाढाबाट आउनुपर्ने भएकाले एक महिनाको लागि औषधि मगिन् । तर अस्पतालले औषधि अभाव भन्दै एकसाताको औषधि दिएर बाँकी बाहिर खरीद गर्न सल्लाह दियो ।
उनीमात्रै होइन अस्पतालमा स्वास्थ्य जाँचका लागि आउने धेरै बिरामी एक÷दुई दिनको औषधि लिएर मात्रै फर्कने गरेका छन् । “२÷३ थरी औषधि पनि एकैठाउँ मिसाएर दिने गरिएको छ, यसबारे सोध्दा अस्पतालले औषधि अभावले गर्दा हो भन्छ”, उपचारका लागि आएका एक सेवाग्राहीले भने ।
स्थानीय तह प्रदेश सरकारबीच समन्वय अभावले अस्पतालमा औषधि खरीद गर्न ढिलाई भैरहेको छ ।
आयुर्वेदिक अस्पतालमा औषधि खरीद गर्ने विषयलाई दुई सरकारले एक अर्कामाथि थोपर्दा यसको असर उपचारमा आउने सेवाग्राहीमा परेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आयुर्वेदिक अस्पतालमा औषधि आपूर्तिका लागि नगरपालिकाले समन्वय गर्ने बताए । “औषधि अभाव भए नभएकोबारे म बुझेर आवश्यक समन्वय गर्छु, बुटवल उपमहानगरपालिका यसबाट पन्छिदैन”–उनले भने । तर आयुर्वेदका कतिपय कर्मचारी भने औषधि अभाव भएको लामो समय बित्दा समेत बुटवल उपमहानगरपालिकाले आपूर्तिमा ध्यान नदिएको बताउँछन् । “नगरपालिकाले प्रदेशलाई र प्रदेश सरकारले नगरपालिकालाई दोष थोपरेर आफू उम्किन खोजेका छन्”–अस्पतालमा कार्यरत एक कर्मचारीले भने ।
यता, प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले अञ्चलस्तरीय आयुर्वेद औषधालय भएकाले त्यो प्रदेशले नै हेर्ने बताए । “औषधि आपूर्तिका लागि अव छिटै नै टेन्डर आह्वान गर्छौ, प्रदेश सरकार औषधि आपूर्ति गर्ने जिम्मेवारीबाट पन्छिदैन”–उनले भने ।
लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालले विगतमा ६० प्रकारका औषधि निःशुल्क उपलव्ध गराउँथ्यो । चालु वर्षदेखि भने २६ प्रकारका औषधि निःशुल्क उपलव्ध गराउनुपर्ने सरकारको निर्देशन छ । तर अहिले अस्पतालमा चार प्रकारका मात्रै्र औषधि उपलव्ध रहेको कार्यालयका प्रमुख डा. रमेश कुमार केसीले जानकारी दिए । अहिले अस्पतालमा उपचारका लागि जाने सेवाग्राहीहरू औषधि नपाएर रित्तो हात फर्किनुपर्ने अवस्था छ । भएका औषधि पनि प्रयाप्त मात्रामा उपलब्ध छैनन् । अस्पतालमा दुई महिनायता औषधिको अभाव खड्किएको हो ।