© २०२३
१८ दिनपछि ऐतिहासिक प्रदेश तथा संघीय निर्वाचन हुँदैछ । यो निर्वाचनमा प्रमुख राजनैतिक दलका उम्मेदवारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रमुख चुनावी नारा बनाएका छन । यसअघिको २०७४ सालको निर्वाचनमा पनि उम्मेदवारहरुले यही नारा तय गर्दै मतदाता प्रभावित गरेका थिए । निर्वाचन जितेर गएपछि पाँच बर्षसम्म यो नारा विर्सिने काम भयो । नेपालको सन्दर्भमा भ्रष्टाचारको मूल जरो राजनीति नै हो । त्यसपछि कर्मचारीतन्त्र हो । जनतामा चेतना र जागरुकताको कमी पनि भ्रष्टाचारको कारण हो । जसरी हुन्छ शक्ति र सत्ता हत्याएर त्यसको दुरुपयोग गरी आफ्ना मान्छेलाई भर्ती गर्ने अनि त्यसलाई दुहुनो गाई बनाउने काम भयो । सुशासनलाई तिलाञ्जली दिइएको छ । यसले गर्दा भ्रष्टाचारीहरूलाई झनै संरक्षण मिल्यो र भ्रष्टाचारले मौलाउने मौका पायो । भ्रष्टाचारको मूल जरो राजनीति नै भएकाले राजनीतिक तहबाटै भ्रष्टाचार निर्मूल गर्ने प्रयास नगरेसम्म यसको अन्त्य हुन सक्दैन । तसर्थ निर्वाचनका माध्यमबाट जनताले आफ्ना जनप्रतिनिधि छान्दै गर्दा भ्रष्टाचार न्यून गर्ने दललाई नै मतदान गर्नुपर्दछ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन अनुसार नेपाल विश्वका १६८ मुलुकहरूमध्ये १३० औँ स्थानमा पुगेको छ । यसले भ्रष्टाचारमा नेपाल अग्रपंक्तिमा परेको प्रस्ट हुन्छ । राजनीतिक तहबाट भ्रष्टाचार हुने गरेकाले नै कर्मचारीतन्त्रमा समेत भ्रष्टाचारले जरो गाडेको हो । नेपालको कर्मचारीतन्त्र ढिलासुस्ती र भ्रष्टाचारको पर्याय बनेको छ । सेवाग्राहीलाई गुणस्तरीय र छिटोछरितो सेवा दिनुपर्नेमा आलटाल गरेर टेबुलमुनिबाट मोटो रकम असुलेपछि मात्र काम गर्ने प्रवित्ति झनै बढ्दो छ । सेवाग्राहीहरू कर्मचारीको व्यवहारबाट आजित भएका छन् । यसको निदान अहिलेको चुनावी मुद्दा बन्नुपर्दछ र जनताले पनि यो हेक्का राख्नुपर्दछ ।
भ्रष्टाचारकै जगजगीका कारण देशमा अपेक्षाकृतरुपमा विकास निर्माणका कामले गति लिन सकिरहेका छैनन् । भ्रष्टाचार देशको समृद्धिको सबैभन्दा ठूलो बाधक बनेको छ । त्यसैले भ्रष्टाचार नियन्त्रण गर्न सर्वप्रथम राजनीतिलाई पेसा नभएर सेवाको रुपमा लिने परिपाटीको विकास गर्नुपर्छ । जनता नै सचेत र जागरुक भएर भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्छ । भ्रष्टाचार नियन्त्रणको प्रमुख मुद्दा बनाउने पार्टीलाई मत दिने सवालमा जनताको ध्यान आकर्षित हुनुपर्दछ । अहिले कस्तो उमेदवारलाई मत दिने भन्ने प्रश्न महत्वपूर्ण बनिरहेको बेला सुशासन र भ्रष्टाचार नियन्त्रको मुद्दा उठाउने दल रोजाई बन्न सक्छ । जनता अहिले दोधारमा छन । विगत ३० बर्षदेखि एउटै पार्टी र एउटै नेतालाई भोट दिएर जनता आजित बनेका छन । तसर्थ दलहरुले अव उमेदवार फेर्नेतर्फ पनि ध्यान दिनु जरुरी भैसकेको छ । मतदाता सचेत भैसकेका छन । पटक पटक जितेर जाने तर विकास नगर्ने नेता यो निर्वाचनमा तिरस्कारमा पर्ने जोखिम छ । मतदाताले तीन दशकदेखि विकास र समृद्धिका सपना देख्दै आएका छन । ती सपना कहिल्यै पूरा हुन सकेका छैनन् । सत्तामा पुग्ने नेताहरूले पदबाहेक अन्य केही नदेख्नाले प्रजातन्त्रको पुनस्र्थापनाको यति लामो समयसम्म पनि न यहाँ राजनीतिक स्थिरता हुन सक्यो न त विकासले गति नै लिन सक्यो । यस अवधिमा मौलायो त केवल भ्रष्टाचार र कमिसनतन्त्र । मुठ्ठीभर व्यक्तिहरू सम्पन्नताको शिखर आरोहण गर्न सफल भए । उनीहरूको जीवनशैलीका कारण यो देश ‘धनीहरूको गरिब देश’ कहलाएको छ । आमजनता भने गरिबीको चपेटामा थिचिएका थिचियै छन् । सर्वसाधारणलाई दैनिक गुजारा चलाउन धौ धौ छ । चरम बेरोजगारीका कारण युवाशक्ति बाहिरिएको छ अनि त्यसबाट प्राप्त रेमिट्यान्स पनि अनुत्पादक र विलासितामा खर्च भएर पुनः विदेशै गइरहेको छ । यसबारे कुन दल र नेताले चिन्तन गरेको छ ? तसर्थ अव समय आएको छ– सुशासन दिने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने दल र उम्मेदवार रोज्ने ।