© २०२३
बिहान उठेर दुबै जना खेतीपातिको काममा लाग्छन् । श्रीमान् बारीमा जान्छन् भने श्रीमती घरधन्दा सकेर खेतीबारीमै जान्छिन् । उनीहरूको दैनिकी बिहान साँझ खेतबारीमा बित्छ । श्रीमान दिउँसोको समयमा कहिलेकाहीँ गाउँपालिकातिर पनि जान्छन् । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका–१ लाकुरी डाँडाका रमेश परियार र जानकी परियार दम्पती नै खेतीपातीमा लागेको छ । उनीहरू खेतीपातीमा मात्रै लागेका छैनन्, त्यहाँबाट आएको मनग्ये आम्दानीले घर व्यवहार चलाउँदै आएका छन् ।
वडा नम्बर १ का दलित वडा सदस्यमा समेत चुनाव जितेका रमेश परियार गाउँपालिकामा बैठक तथा अन्य काम पर्दा जाने गर्दछन् भने जानकी खेतीपातिमै व्यस्त हुन्छिन् । अहिले उनीहरूले आफ्नो पाखो बारीमा टमाटर, काउली, काँक्रा, सिमि, बोडी तथा करेला रोपेका छन् । टमाटर फलेको उनको पाखाबारीमा आजभन्दा केही बर्ष पहिला मकै मात्रै हुन्थ्यो । जानकी परियार भन्छिन्–‘खेतीपातीमा लागेर गाउँमै आम्दानी गरिएको छ ।’ परियार दम्पतिले हाल करिब १ सय बोट काँक्रा रोपेका छन् । यस्तै काउलीको बोट करिब १ सय वटा छन् ।
गत बर्ष करिब ढाई सय विरुवा टमाटर रोपेका उनीहरूले करिब ३० देखि ४० हजार रूपैयाँ आम्दानी गरेका थिए । अघिल्लो बर्ष टमाटर मात्रै रोपेकोमा यस बर्ष भने टमाटरको साथै काउली, काँक्रा सिमी, रोपेका छन् । अघिल्लो बर्ष भन्दा यसपालि बढि आम्दानी गर्ने लक्ष्य लिएको रमेशको भनाइ छ । उनी भन्छन–‘गत बर्ष टमाटर मात्रै रोपेका थियौं, अहिले अन्य तरकारी पनि रापेका छांै, हेरौं आम्दानीको आशा अली बढि गरेका छौं ।’ दुई वटा छोरी र एक छोरा रहेका परिवार दम्पत्तीको परिवारको आम्दानीको स्रोत भनेको नै तरकारी खेती बनेको छ । पैंचो पसल प्रालिलाई उत्पादन गरेको सबै तरकारी विक्रि गरी त्यहिँबाट आएको रकमले घर खर्चका साथै अन्य जोहो टर्ने गरेको उनीहरूको भनाई छ ।
विदेश गएर आम्दानी हुन्छ भनेर सुझाव दिने धेरै आएपनि विदेश जाने रहर त्यागेर गाउँमा नै तरकारी खेतीमा लागेको रमेशको भनाइ छ । साथीहरूले विदेश गएर आम्दानी राम्रो गर्न सकिने भन्दै सुझाव लिएर आएपनि अहिले आफ्नै पाखाबारीमा फलेको तरकारी विक्रिबाट विदेशमा भन्दा पनि राम्रो आम्दानी गर्न सफल भएको उनी बताउँछन् । ‘घरमै उत्पादन भएको तरकारीसंग एक छाक खान पाए किन विदेश जान प¥यो ?’–रमेश प्रतिप्रश्न गर्दछन् । विदेशको भूमिमा घर परिवार, ईष्टमित्रबाट सयौं कोष टाढा गएर कमाएर ल्याएको रकम भन्दा पनि आफ्नै पाखाबारीमा नंग्रा खियाएको औधी गुणा राम्रो हुने उनको तर्क छ । आफुले उत्पादन गरेको तरकारीजन्य उत्पादन लगेर मन लागेको सामान ल्याउन पाउनु पनि राम्रो कुरा भएको उनको भनाई छ । कुनै पनि समस्या भएमा तुरुन्तै पैचो पसल प्रालिका प्राविधिकहरू आएर सल्लाह सुझाव, उपपचारको विधि बताउने गरेको कारण गाउँमा प्राविधिक समस्या नभएको उनी बताउँछन् ।