© २०२३
पक्षघात दिवस : सचेतनामा ढिलाई नगरौं
धेरै जोखिम, सम्वेदनशील र जटिल रोगको सूचीमा मुटु, मृगौला तथा क्यान्सरलाई लिने गरिएको छ । पछिल्लोसमय यी रोगका विरामीको संख्या बृद्धि भैरहेको छ । यी रोगका अतिरिक्त यो भन्दा पनि सम्वेदनशील र जटिल रोगको विषयमा धेरैलाई जानकारी भएरपनि लापरवाही गर्ने गरिएको अर्को रोग पक्षघात हो । विश्व पक्षघात दिवस आईतवार मनाईरहँदा स्वास्थ्यकर्मीहरुले समेत यो रोग र दिवसका विषयमा जानकारी नपाउनु दुःखद पक्ष हो । सरकारले प्रत्येक वर्ष अक्टोबर २९ का दिन विश्वभर पक्षघात दिवस मनाउने गरेको छ तर यो दिवसलाई अहिलेसम्म औपचारिक मात्रै गरिएको छ । धेरै जटिल रोगका रुपमा लिइने पक्षघात एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको छ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । स्वास्थ्यकर्मीले यसलाई नै पक्षघात भन्छन । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । स्वास्थ्यकर्मीहरु समेत यस रोगका विषयमा जानकार रहेपनि अनभिज्ञता दर्शाउँछन । सरकारले स्वास्थ्यकर्मीका साथै आम जनतालाई पक्षघातको जटिलता, जोखिम, उपचारको व्यवस्था आदि समग्र विषयमा जानकारीमूलक कार्यक्रम प्रवाह गर्नु जरुरी छ । नेपालमा चिकित्सकहरुले पक्षघात संघ स्थापना गरेर यो रोगका विषयमा धेरै काम गर्ने प्रयास गरेका छन । संघले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको छ । यतिले मात्रै अव पुग्दैन । अझै धेरै गर्नु जरुरी छ । पक्षघातको चुनौतिको पहाड फोर्नुपर्ने अवस्था छ । सन् २०१७ मा स्थापना भएको संघले नेपालको पक्षघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ । अहिलेसम्म पक्षघातका विषयमा कामै नभएको अवस्थामा संघले गरिरहेको पछिल्लो प्रयास सराहनीय छ ।
चिकित्सकहरुले पक्षघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको बताउँदै आएका छन । यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक चारजनामा एक जनालाई र छ सेकेन्डमा एकजनालाई पक्षघातको सम्भावना रहेको हुन्छ, यसबाट सजग हुनुपर्छ् । विश्व स्वास्थ्य संगठनले समेत पछिल्लोसमय पक्षघातको गंभीर अवस्थाप्रति चिन्ता जनाएको छ । विश्वले मिलेर काम गर्नुपर्ने उसको सुझाव छ । नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको छ । नेपालमा अहिले पक्षघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनले उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहन अनुरोध गर्दै आएको छ । अहिले नेपालको यथार्थता के हो भने धेरै नेपालीलाई यो रोगका विषयमा जानकारी नै छैन । जानकारी भएकाहरुले पनि रोगबाट बच्न अपनाउनु पर्ने परहेजको विषयमा ख्याल नै गर्दैनन् । सरकार जनतालाई सचेत वनाउने विषयमा कुनै कार्यक्रम गर्दैन । सरकार नागरिकप्रतिको त्यो दायित्व र जिम्मेवारीवाट बिमुख वन्दै आएको छ ।
धेरै ढिलो भएपनि संघले नेपालको पक्षघातसम्बन्धी गाइडलाइन तय गर्ने काम गर्दै आएको छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न चिकित्सकले सुझाव दिदै आएका छन । नेपालमा भौगोलिक विकटता, सीमित स्रोतसाधन र दक्ष जनशक्तिको अभावका कारण पक्षघातको उपचार चुनौतीपूर्ण हुँदै गएको छ । यो विषयमा सरकारको गंभीर ध्यानाकर्षण जरुरी छ ।