© २०२३
रूपन्देहीमा निर्माणाधिन पुल अलपत्र परेका छन् । पुल निर्माण गर्न भन्दा पहिला गरिएको ईन्जिनियरिङ्ग स्टीमेट समेत फेल भएपछि रूपन्देहीका केही पुल निर्माण अलपत्र परेका हुन् ।
निर्माण पुरा हुने समयमा पनि लापरबाहीको कारण स्टिमेट फेल भएपछि यसको चर्र्को आलोचना भएको छ । बुटवल उपमहानगरपालिका पुलचोक पारी बुटवल जोड्ने पुल अहिले अलपत्र छ । निर्माणका क्रममा समस्या देखिएपछि पुनः डिजाईन गरी स्थगित भएको हो । २०६९/०७० मा ६ करोड ६२ लाख लागतमा निर्माण सुरु भएको पुलको ५० प्रतिशत समेत काम हुन सकेको छैन ।
भैरहवा लुम्बिनी रोडमा निर्माणाधीन २ वटा पुल अहिले अलपत्र छन् । निर्माण सम्पन्न गर्ने समय सकिएर पटक पटक म्याद थप हुँदा समेत काम सम्पन हुन सकेको छैन । करिब ६ करोड लागतमा निर्माण सुरु गरिएको भएपनि पाँच बर्ष बितिसक्दा समेत आधा काम हुन सकेको छैन । काठमाडौंको पप्पु बामकी जेबि कम्पनीले निर्माण जिम्मा लिएको थियो । तर अहीले पुरै अलपत्र छ, ठेकेदारलाई समयमा काम गर्न पत्र काट्दा समेत काम हुन नसकेको कर्मचारीहरू बताउँछन् । त्यस्तै तिलोत्तमा नगरपालिका पश्चिम तिनाउपुलमा निर्माणाधिन पुल अहिले अलपत्र छ ।
२०६७÷०६८ सालमा निर्माण सुरु भएको पुल ७ बर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन । यसरी रूपन्देहीमा करीब आधा दर्जन पुल अहिले पुरै अलपत्र भएका छन् । जस्तै बुटवलको पुलचोक पारी बुटवल जोड्ने पुल, भैरहवा लुम्बिनी सडकखण्डमा २ वटा पुल, मणिग्राम पश्चिम तिनाउ पुल, नयागाउँ बेलबरिया पुल अहीले पुरै रि–डीजाइनिङमा रहेका छन् । यता पुल बनेपछि सहज यात्रा गर्ने सपनामा रहेका स्थानीयले सरकारले सुरुमा नै गलत सर्वे गरेकाले निर्माण हुन नसकेको गुनासो गरेका छन् ।
ठेकेदार र सडक बिभाग दुबै यसमा दोषी हुने भन्दै निर्माणका बेला आउने समस्या समयमा निराकरण नगर्ने, ढिलासुस्ती गर्ने, एउटा पुलको रि–डिजाईन गर्न एक बर्ष लगाउने जस्ता कामले रूपन्देहीका पुलहरू पुरै अधुरा भएको स्थानीयको गुनासो छ । यता रूपन्देहीमा निर्माणाधिन पुलहरूको बारेमा बुझ्दा सडक डिभीजन कार्यालय बुटवलका प्रमुख कैलास कुमार श्रेष्ठले निर्माणाधिन केही पुलको निर्माणको समस्या आएको बताए । उनले सानो पाईप धसाएर जमीनमुनिको भाग केकस्तो छ हेर्ने गरेको भन्दै पछि निर्माण गर्दा केही पिलरहरू धसिने केही नधसिने हुँदा पुन रि डिजाइन गर्नुपरेको भन्दै अहिले धेरै काम भएको बताए । अब छिट्टै निर्माण सुरु हुने प्रमुख श्रेष्ठले बताए । केही ठाउँमा बजेटको पनि समस्या छ । समयमा पैसा नआउँदा समेत काममा प्रभाब परेको श्रेष्ठले बताए । यता ठेकेदारहरूले भने बजेट अभाबले काम ढिलाई भैरहेको बताउँछन् । बजेटको अभावका कारण निर्माणमा ढिलाई भैरहेको गुनासो गरे ।