© २०२३
डा. रमेश केसी
१. पृष्ठभूमि
कुनै पनि देशको अस्तित्व स्वीकार्य बन्न जनसंख्या, भगोल र सार्वभौमसत्ता आवश्यक पर्दछ । हामीसंग हाल दुई करोड, छयानब्बे लाख चौसठ्ठी हजार तीन सय पचपन्न जनसंख्या, एक लाख सट्चालिस हजार एक सय एकासी वर्ग किलोमिटर क्षेत्रफलको भूगोल र जनतामा निहित सार्वभौसत्ता तथा जनताबाट निर्वाचित सरकार छ । जनसंख्या देश बन्न अनिवार्य सर्तमात्र नभई देशको सम्पति र निर्माता एवं भविष्य पनि हो । कुनै पनि देशको विकासमा त्यहाँको जनसंख्या, चेतनास्तर, सिर्जनशीलता, श्रमशक्ति वा सामाजिक र आर्थिक रूपले उत्पादक जनशक्तिले महत्वपूर्ण भुमिका खेलेको हुन्छ । निश्चित उमेर समूहको जनसंख्याले मात्र देश विकासमा सक्रिय योगदान गर्न सक्छ । नेपाल अहिले त्यही सक्रिय योगदान गर्न सक्ने उमेर समुहका नागरिकहरू बढी भएको सुनौलो समयमा छ जसको सही परिचालन भएमा देशले छोँटो समयमा सामाजिक, भौतिक र आर्थिक विकासमा ठूलो फड्को मार्न सक्छ । अन्यथा पुस्तौपुस्ता गरिवी र पछ्यौटेपनबाट गुज्रिरहनु पर्नेछ ।
२. नेपालको जनसंख्याको अवस्था र बनोट
जनगनणा बर्ष सन् २०११ अनुसार नेपालको कुल जनसंख्या दुई करोड चौसठ्ठी लाख, चौरानब्बे हजार पाँच सय चार छ । हाल विश्वको जनसंख्या करिव सात अरव पैसठ्ठी करोड छ भने नेपालको जनसंख्या करिव तीन करोड छ । विश्व भुगोलको ०.००३ प्रतिशत ओगटेको नेपालमा विश्वको ०.४४ प्रतिशत मानिसहरू बस्छन् । विश्वमा प्रति सेकेन्ड ४ जनाको जन्म, २ जनाको मृत्यु हुन्छ । नेपालमा पचपन्न सेकेन्डमा १ को जन्म, प्रति तीन मिनेटमा एकको मृत्यु, र प्रति आठ मिनेटमा एकको बसाइ सराइ हुन्छ । विश्वको हालको जनसंख्या बृद्धि दर १.०९ प्रतिशत छ जुन सन् २०१७ मा १.१२ र सन् २०१६ मा १.१४ प्रतिशत थियो । नेपालको हालको जनसंख्या बृद्धि दर १.११ प्रतिशत छ जुन सन् २०११ को जनगणना अनुसार १.३५ प्रतिशत थियो । उमेर समुह अनुसार नेपालमा १५ वर्षमुनीको जनसंख्या ३४.५ प्रतिशत, १५ देखि ६५ वर्षसम्मको जनसंख्या ६१.१ प्रतिशत र ६५ वर्ष माथिको जनसंख्या ४.४ प्रतिशत छ ।
३. जनसांख्यिक लाभः एक अवसर
नेपालको उमेर समुह अनुसारको जनसंख्या विश्लेषण गर्दा काम गर्न सक्ने जनसंख्या परनिर्भर जनसंख्या भन्दा बढी देखिन्छ । देशको सामाजिक, भौतिक र आर्थिक रूपमा उत्पादनशील वा श्रम गर्न सक्ने जनशक्ति भनेका १५ देखि ६५ वर्षसम्मको जनसंख्या नै हो । जुन हाल नेपालमा ६१.१ प्रतिशत छ र परनिर्भर जनसंख्या ३८.९ प्रतिशत छ । जनसंख्याको उमेर अनुसार यस्तो बनोटको अवस्थालाई जनसांख्यिक लाभ भनिन्छ । कुनै पनि देशको जनसांख्यिक इतिहासमा यस्तो अवस्था विरलैमात्र आउँछ र लामो समय रहँदैन । देश निर्माण गर्नुपर्ने र गर्न सकिने सुनौलो अवसर पनि यही हो । नेपालमा जनसांख्यिक लाभको समय सन् १९९२ (वि.सं.२०४७) वाट सुरु भयो जुन सन् २०४७ (वि.स. २१०४) मा सकिने छ । यसरी हामीसंग देश बनाउने अवसर र अबधि ५५ वर्षको छ । करिव आधा समय २५ वर्ष बितिसकेको छ र ३० वर्षजति बाँकी छ । बढ्दो शहरीकरण, स्वास्थ्य सेवा, सरसफाइ, पोषण लगायतका क्षेत्रहरूमा भएको सुधारले मानिसहरूको औशत आयु बढ्दै छ । अर्थात ६५ वर्ष माथिको जनसंख्या वढ्दै जानेछ भने १५ देखि ६५ वर्षसम्मको जनसंख्या विस्तारै घट्दै जानेछ । सन् २०१८ मा ४.४ प्रतिशत रहेको ६५ वर्ष माथिको जनसंख्या सन् २०२८ मा ७ प्रतिशत र सन् २०५४ मा १४ प्रतिशत पुग्नेछ । ६५ वर्ष माथिको जनसंख्या ७ देखि १४ प्रतिशतसम्म रहेको अवस्थालाई एजिंग सोसाइटी र १४ प्रतिशत भन्दा बढी रहेको अवस्थालाई एजेड सोसाइटी भनिन्छ । यस्तो अवस्थामा राज्यले भौतिक विकास भन्दा सामाजिक सुरक्षामा बढी लगानी गर्नुपर्ने अवस्था हुन्छ । नेपालमा सन् २०११ मा प्रति ११.१ सक्रिय जनसंख्या बरावर १ परनिर्भर जनसंख्या रहेकोमा सन् २०५० मा प्रति ५.६ सक्रिय जनसंख्या बरावर १ परनिर्भर जनसंख्या र सन् २०६० मा ३.८ सक्रिय जनसंख्या बरावर १ परनिर्भर जनसंख्या हुनेछ । देश विकासको लागि सक्रिय वा श्रम गर्न सक्ने जनसंख्याको आवश्यक पर्दछ र यस्तो जनसंख्या बढी भएको समय नै देश विकासको सही अवसर हो जुन गुमाएमा फर्केर आउँदैन । कुनै पनि देशको इतिहासमा यो अवसर एक पटकमात्र निश्चित अवधिको लागि आउँछ । नेपाललाई यो समय ५५ वर्षको लागि प्राप्त भएको छ । यस्तो अवधि जापानमा ६० वर्ष, मलेसियामा ५५ वर्ष, ताइवानमा ५१ वर्ष, हगकंगमा ५० वर्षको थियो । यी देशहरूले यही अवधिलाई उपयोग गरेर आजको समृद्धि हासिल गरेका हुन् ।
४. नेपालको अवस्था
नेपालमा नीति एवं बजेट कार्यक्रम तय गर्दा जनसांख्यिक लाभको यथार्थतालाई खासै ध्यान दिइएको पाइँदैन । करिव आधा समय यसैगरी वितिइसकेको छ । यद्यपि सांख्यिक लाभ राजनीतिक आन्दोलन र व्यवस्था परिवर्तनको लागि भने सहायक पक्कै बन्यो । यस अवधिमा तीनवटा ठूला ठूला राजनीतिक आन्दोलन भए । मुलुक जानसांख्यिक लाभको चरण प्रवेश गर्नैलाग्दा भएको २०४६ को आन्दोलन, लगत्तै २०५२ बाट सुरु भएको १० वर्षे सशस्त्र आन्दोलन र २०६२÷०६३ को जनआन्दोलन र तत्पश्चात चलिरहेको राजनीतिक एवं प्रशासनिक संक्रमणले सामाजिक, आर्थिक र भौतिक परिवर्तन एवं समृद्धिमा खर्चनुपर्ने जनसांख्यिक लाभको साढे दुई दशक समय राजनीतिक परिवर्तनमा खर्च भयो । यी राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी अव बाँकी रहेको जनसांख्यिक लाभको तीन दशक सामाजिक, आर्थिक र भौतिक परिवर्तन एवं समृद्धिमा अधिकतम खर्चिनु आवश्यक छ ।
एक तथ्यांक अनुसार नेपालको करिब १० प्रतिशत जनसंख्या रोजगार, अध्ययन लगायत विभिन्न अवसरहरूको खोजीमा विदेशी भुमीमा रहेका छन् । दैनिक करिव २००० युवाहरू रोजगारीको लागि अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने बताइन्छ । यो देशको लागि अत्यन्तै दुःख र दीर्घकालिन रूपमा घाटाको विषय हो । इतिहासले देश निर्माण गर्ने जिम्मेवारी दिएको पुस्ता पराई भूमिमा गई रगत र पसिना बगाई बिदेशलाई समृद्ध बनाइरहेका छन् । भलै यसबाट देशलाई वैदेशिक मुद्रा आर्जन होला, तर त्यो सवथोक हैन, समयको माग हैन । आगामी हाम्रा तीन दशक पनि यस्तै रहेमा नेपाल जहीँको तहीँ रहने छ । जनसांख्यिक लाभको अवधि र अवसर सकिने छ । विकास निर्माणको लागि आवश्यक सक्रिय जनशक्ति हुनेछैन, परनिर्भर जनसंख्या बढी हुनेछ ।
५. अबको बाटो
तिव्र औद्योगिकीकरण, भौतिक पूर्वधार निर्माण र हरेक पेशाहरूलाई आधुनिकीकरण एवं व्यवसायीकरण गरेर सक्रिय जनसंख्यालाई देशले अधिकतम अवसर दिई परिचालन गर्नु पर्दछ । हाल बौद्धिक तथा सिपयुक्त मानिस युरोप अमेरिका एबं अष्टे«लिया र अल्पदक्ष, अदक्ष जनशक्ति खाडी मुलकुहरूमा श्रम गर्न जाने प्रचलन छ । बौद्धिक जनशक्तिको पलायन रोक्न र ती देशहरूमा गई सिप सिकेकाहरूलाई देशमा फर्काइ क्षमताअनुसारको अवसर र भुमिका दिन राज्य चुक्नुहँुदैन । तीनै तहका सरकार र सम्बन्धित निकायहरूले नीति, योजना र कार्यक्रम यस दिशामा बनाउनु पर्छ । रेमिट्न्यास, बैदेशिक ऋण एवं अनुदान र आयातमा लगाइने करमा टिकेको अर्थतन्त्रलाई राष्ट्रिय उत्पादन र निर्यातमुखी बनाउनु पर्दछ । जनसांख्यिक लाभको बाँकी ३० वर्षमा देशलाई कुन कुन क्षेत्रमा कहाँ पुराउने हो, त्यो गन्तव्य तोकी आवश्यक योजना र कार्यक्रम बनाएर सोही अनुसार प्रतिबद्ध र सामूहिक यात्राको थालनी गर्न अब ढिलो गर्नु हुँदैन ।
६. निष्कर्ष
नेपाल जनसांख्यिक लाभको कारण विकासको सुनौलो अवसरमा छ । आधा समय राजनीतिक परिवर्तनमा वितिसकेको पृष्ठभुमीमा बाँकी रहेको अवधि देशको सामाजिक, भौतिक र आर्थिक परिवर्तनको लागि खर्चनु आवश्यक छ । इतिहासले सुम्पेको ऐतिहासिक जिम्मेवारी सवै मिलेर पुरा गरेमा भावी पुस्ता हामीप्रति कृतज्ञ हुनेछ । अब यही दिशामा अगाडि बढाँै । (लेखकः बुटवल उपमहानगरपालिकाका स्वास्थ्य संयोजक हुन् ।)