© २०२३
पाल्पा, ०१ भाद्र ।
यस वर्ष जिल्लामा ९५ प्रतिशत धान रोपाइँ भएको छ । विगतका वर्षका तुलनामा यस वर्ष धानको ब्याड राख्ने समयमा वर्षाद नभए पनि रोपाइँ समयमा निरन्तर रूपमा वर्षाद भएको कारण ९५ प्रतिशत रोपाइँ भएको हो ।
मौसमको अवस्था स्थिर रूपमा यही नै कायम रहेको खण्डमा धानको उत्पादन समेत बढ्ने कृषि प्राविधिकहरूले अनुमान गरेको बताउँछन् । जिल्लाको कुल क्षेत्रफल मध्ये ८ हजार १९ हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको छ । माडी अर्गली, रामपुर, कचल, सर्दोवा, जस्ता फाँटहरूमा धान खेती आएमा अधिकांश भू–भाग आकासे पानीमा निर्भर रहेको छ । यसले गर्दा पनि उत्पादन बृद्धि हुने हो । विगतमा कृषकहरूले हाईव्रिड, सावीत्री, सावा मन्सुलीको बिउ प्रयोग गर्ने हो । यस वर्ष बाट जिल्लामा पहिलो पटक हर्दिनाथ ६ जातको बिउ प्रयोग गरेका छन् ।
कृषि ज्ञान केन्द्रका राम सुरत पाल भन्दछन् –‘यस वर्ष यहाका किसानले उन्नत जातको बिउ प्रयोग गरेका छन् । समुद्रको सतहबाट करिब ७ सय उचाई मिटर सम्म अत्यन्तै कम समयमा कम क्षेत्रफलमा बढि उत्पादन दिने स्थानीय जातको तुलनामा राम्रो ठानिएको हर्दीनाथ ६ यस वर्ष रामपुर, कचल, माडी हुगीं अगाहाखोला फाँटहरूमा कृषकहरूलाई वितरण गरिएको छ । अन्यलाई जस्तो सिंचाईको आवश्यकता नपर्ने भएका कारण पनि भएकाले पनि यस वर्ष समयमा नै रोपाइँ सकियो । त्यसैगरी उत्पादन बढ्ने प्रक्षेपण गरिएको कृषि प्राविधिक लभकुश कुर्मी बताउँछन् ।
उपयोगी भएको मानिने हर्दिनाथ ६ प्रति हेक्टर ५.२१ मेट्रिक टन उत्पादन लिन सकिने नेपाल सरकारद्वारा सिफारिस उन्नत जातमा सबै भन्दा राम्रो भएका कारण यसलाई सिफारिस गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष चौधरी बताउँछन् । यस वर्ष नतिजा प्रदर्शन कार्यक्रम अन्तर्गत ७ क्विन्टल बिउ वितरण गरिएको उनी बताउँछन् ।
रामपुर नगरका कृषि अगुवा सूर्य रेग्मी भन्दछन् । कृषि ज्ञान केन्द्रले वितरण गर्नु भन्दा पहिले नै गत वर्ष राष्ट्रिय बिउ बिजन केन्द्र बाट ३० किलो बिउ ल्याएर लगाउँदा वरपरका सबैले हाँसोको पात्र बनाए जब धान पाक्यो सबै दंग परे यस पटक झण्डै सय रोपनी क्षेत्रफलमा यसको बिउ प्रयोग भएको हो । हाम्रो जस्तो हावापानी र भूगोलका लागि यसको कुनै बिकल्प नै नभएको रेग्मीले आफ्नो अनुभव सुनाए ।
तिनाउ गाउँपालिकाको कचलकी अगुवा कृषक ओमकला गरंजा पनि यसपटक बाट गाउँमा नयाँ जातको बिउ प्रयोग भएको र हाल सम्म राम्रो नै भएकोले यस वर्ष उत्पादन बृद्धि हुने उनी बताउछिन् । राष्ट्रिय बिउ बिजन केन्द्रका निमित्त प्रमुख शालीकराम गौतम भन्दछन् । सावा मन्सुली प्रति हेक्टर साढे तीनदेखि चार, सावीत्री प्रति हेक्टर ४ मेट्रिक टन हुन्छ भने यसको तुलनामा हर्दिनाथ ६ कम्तीमा ५ मेट्रिक टन उत्पादन हुने भएका कारण पछिल्लो समयमा पहाडी जिल्लाहरूमा यसको माग बढ्दै गएको छ । पहिले पहिले तराई भागमा मात्र लगाइने यी जातका धानका बिउहरू आजभोलि पहाडमा समेत राम्रो उत्पादन हुन लागेपछि यसको माग बढ्दै गएको छ ।
गत वर्ष जिल्लामा ३६ हजार २ सय ६६ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष गतवर्षको तुलनामा १० देखि १५ प्रतिशत सम्म धान उत्पादनमा बृद्धि हुने आशा राखेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।