सल्यान, १० चैत । सल्यानको कालिमाटी गाउँपालिकाले आफ्ना कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरेको छ । कृषकहरूलाई आधुनिक कृषि प्रविधिमा अग्रसर गराउदै उत्पादन वृद्धि गर्ने र श्रम लागत कम गर्दै व्यावसायिक खेतीलाई प्रवर्द्धन गर्ने उदेश्य सहित २४ वटा मिनि टिलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष दान बहादुर के.सी., उपाध्यक्ष सनसिल्ता वली डि.सी., प्रमुख प्रशासनिक अधिकृत हर्क बहादुर वली लगायतका जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थितिमा छनोट भएका कृषि फर्म, कृषि समूह र कृषि सहकारीहरूलाई अनुदानमा कृषि यन्त्र प्रदान गरिएको गाउँपालिकाको कृषि विकास शाखा प्रमुख दिपिका खड्काले जानकारी दिइन ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष केसीले कृषिमा प्रविधिको प्रयोग नगरी उत्पादन वृद्धि सम्भव नभएको बताउँदै अनुदान कार्यक्रमले कृषकहरूलाई व्यवसायिक कृषितर्फ टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उपाध्यक्ष डिसीले कालिमाटी गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गर्दै आगामी दिनमा पनि कृषकहरूलाई विभिन्न कार्यक्रम मार्फत प्रोत्साहन, तालिम र आवश्यक सहयोग गरिने जानकारी दिइन् ।
अनुदान प्राप्त गरेका कृषकहरूले आधुनिक कृषि यन्त्र पाएपछि उत्पादन वृद्धिमा सहजता आउने, समय र श्रमको बचत हुने र आम्दानीमा वृद्धि हुने आशा व्यक्त गरेका छन ।