© २०२३
तिलोत्तमा ए लेभल कोर्षको पढाईमा विद्यार्थीहरूको आकर्षण बढाउन नसकेको पाइएको छ । तिलोत्तमा नगरपालिका ३ स्थित बुटवल पव्लिक स्कुलले सञ्चालनमा ल्याएको ए लेभलको कोर्सको अध्यापन पाँच वर्षअघिदेखि सुरु गरेको थियो । तर नतीजा राम्रो आउन नसकेपछि यसप्रतिको आकर्षण घट्दै गएको पाइएको हो । राजधानीमा सञ्चालनमा आएका ए लेभल कलेजहरूसँगको तुलनामा मोफसलमा रहेका ए लेभल कलेजहरूको नतीजा अपेक्षाकृत हुन नसकेको बताइन्छ ।
लुम्बिनी अञ्चलमा एक मात्र ए लेभल अध्यापन बुटवल पव्लिक स्कुलले गराउँदै आएको छ । विद्यालयले भने नतीजा सन्तोषजनक नै रहेको दावी गर्छ । विद्यालयका प्रशासक प्रजापति श्रेष्ठले नतीजालाई कमजोर भन्न नमिल्ने बताए । “ए लेभल सीमित विद्यार्थीले नै पढ्ने हो, सीमित विद्यार्थीको कोटा भएका कारण पनि आकर्षण बाहिर भनेजस्तो नदेखिएको हुन सक्छ”–उनले भने ।
बुटवल पव्लिकमा सन २०१४ मा विज्ञान संकायमा भर्ना भएका २ जनामध्ये एक जनाले मात्र ए ग्रेड हात पारेका थिए । त्यस्तै कमर्शतर्फ ७ जना मध्ये कुनै पनि विद्यार्थीले ए ग्रेड ल्याउन नसकेको बताइएको छ । अन्य ७ जना विद्यार्थी वि, सि र डि ग्रेडमा उत्तीर्ण भएका थिए । गतवर्षको नतीजा भने विद्यालयले बाहिर देखाउन चाहेन । परीक्षामा सहभागी विद्यार्थीहरु ए ग्रेड र बी प्लस ल्याएर उत्तीर्ण भएको श्रेष्ठले दावी गरे । २०१६ मा जम्मा एकजना विद्यार्थीले मात्रै बुटवल पव्लिकबाट ए ग्रेड ल्याइ उत्तीर्ण भएका थिए । पाँच वर्षको नतीजामा हालसम्म जम्मा तीन जना विद्यार्थी मात्र ए ग्रेड ल्याइ उत्तीर्ण गरेको विद्यालय स्रोतले बतायो । गतवर्ष पनि बुटवल पव्लिकबाट ए ग्रेड कसैले ल्याएनन् । १ सय ६० देशमा एकै पटक हुने परीक्षामा बुटवल पव्लिकले एक जना विद्यार्थीलाई एक ग्रेडमा उत्तीर्ण गराउनु पनि धेरै राम्रो भएको विद्यालयका अध्यक्ष शर्माले बताए । “ए ग्रडिङ धेरै विद्यार्थीहरूको नआएपनि नतिजा सुधारोन्मुख छ”–उनले भने । विद्यालयले ए लेभलका लागि यस वर्ष १५ विद्यार्थीको कोटा छुट्टयाएको छ ।
विश्वभर नै परिणाममुखी शैक्षिक प्रणाली मानिएको ए लेभल कोर्ष नेपालका ३२ वटा कलेजमा सञ्चालित छ । ‘ए’ लेभल बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयको विश्व प्रसिद्ध शैक्षिक कार्यक्रम हो । क्याम्ब्रिज इण्टरनेशनल एक्जामिनेशन (सीआईईई) बोर्डका थुप्रै अन्तर्राष्ट्रिय स्तरका योग्यता मध्ये ‘ए’ लेभल गोल्ड स्ट्याण्डर्डको योग्यता हो । यो क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिर्केट अफ एजुकेशन (जीसीई) अन्तर्गतको शैक्षिक कार्यक्रम हो ।
के हो ए लेभल ?
विश्वमै प्रसिद्ध बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको जनरल सटिफिर्केट अफ एजुकेसन (जीसीई) कार्यक्रम अन्तर्गत सञ्चालन हुने एक शैक्षिक कार्यक्रम हो ए लेभल । यसलाई नेपालको शिक्षासँग तुलना गरियो भने दश जोड दुई सरह मान्न सकिन्छ । जसरी दश जोड दुईको कोर्स २ बर्षकोे हुन्छ, ए लेभलको पनि त्यही नै हो । ११ कक्षालाई एएस र १२ कक्षालाई ए–२ भनिन्छ । यी दुवै कोर्स सकिएपछि विद्यार्थीको ए लेभल सकिन्छ ।
ए लेभलका विशेषता
ए लेभलको राम्रो पक्ष भनेको यसमा ६० वटा विषय मध्ये विद्यार्थीले आफ्नो रुची, देशको अवस्था सुहाउँदो हुने गरी छानेर पढ्न पाउँछन् । यसको पाठ्यक्रम, शिक्षा प्रणाली, परीक्षा प्रणाली, ग्रेडिङ प्रणाली आदि सवै क्याम्ब्रिज विश्वविद्यालयले तय गर्दछ ।
विद्यार्थीले ६० विषय मध्ये कुनै चारवटा विषयमा परीक्षा उत्तीर्ण गरेपछि ए लेभल पूरा गरेको मानिन्छ । परीक्षा बर्षमा दुई पटक हुने गर्दछ । मे र जुनमा परीक्षा हुन्छ भने अक्टोवर र नोभेम्बरमा परीक्षा हुने गर्दछ ।
ए लेभलले के गर्छ ?
ए लेभल पढेका विद्यार्थीहरूले बेलायत, अमेरिका, क्यानाडा र युरोपका सबै मुलुकका विश्व विद्यालयको ४ बर्षे कोर्समा ३ बर्ष मात्र पढे पुग्छ ।
ए लेभलले विद्यार्थीलार्ई आत्मविश्वासी बनाउँछ र जिम्मेवारी बहन गर्न सिकाउँछ । यसले विद्यार्थीलाई परिवर्तनशील बन्न सिकाउने मात्र होइन बौद्धिक र तार्किक क्षमताको विकास गर्छ । किनकी यसको शैक्षिक प्रणाली नै व्यवहारिक र विश्व प्रसिद्ध छ । ए लेभल सकेपछि विद्यार्थीहरूले आफ्नो विषयत अध्ययनका आधारमा चिकित्शा शास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी जुनसुकै विषयमा पनि अध्ययन गर्न विश्वका जुनसुकै विश्वविद्यालयमा पाउँछन् ।