© २०२३
प्रदेश नम्बर ५ को बर्दिया जिल्लामा विगत ५ बर्ष देखि बाल शिक्षक सहयोगी कार्यकर्ता को रूपमा कार्यरत रहेकी विशाल कुमारी खत्री दैनिक ८ घण्टा भन्दा बढी समय विद्यालयमा खट्छिन् । विद्यालयमा साना उमेरका विद्यार्थी उनका दिनभरका साथी हुन् । उनीहरूको स्याहारसुसार देखि विभिन्न सिप सिकाउनुपर्ने उनको दायित्व हो । नेपाल बाल विकास शिक्षक समिति बर्दियाकी जिल्ला सचिव समेत रहेकी खत्रीको तलब जम्मा ६ हजार छ । उनी भन्छिन्–‘मासिक ६ हजार रूपैयाँ तलबले के खाने, के लाउने ? ’ बालबालिकाको सेवामा खट्ने उनी जस्ता प्रदेश नम्बर ५ मा ७ हजार १३ जना बाल सहयोगी कार्यकर्ता रहेका छन् । उनीहरूको तलब मासिक ६ हजार हो । विगत लामो समयदेखि काम गर्दै आएका उनीहरूको तलब वृद्धि भएको छैन । नेपालभरमा कुल ३६ हजार ७९ जना बाल सहयोगी कार्यकर्ताहरू तलब बृद्धि साथै प्रारम्भीक बाल विकास केन्द्रका शिक्षकहरूको सेवा, शर्त र सुबिधा आधारभुत (प्रावि) शिक्षक सहर कायम गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
प्रदेश नम्बर ५ नेपाल बाल विकास शिक्षक समितिकी अध्यक्ष ईन्द्रा खनालका अनुसार संघ प्रदेश र स्थानीय सरकारले बनाउने नयाँ शिक्षा ऐन (कानुन) मा बाल बिकास केन्द्रलाई शिक्षा नियमवलीको आठौ र नवौं संसोधनबाट आधारभूत तहको संरचनामा समावेश गरी दरबन्दी कायम गर्न माग गरिएको छ । उनी भन्छिन्–‘प्रारम्भीक बाल विकास केन्द्रमा कार्यरत शिक्षहरूलाई सामान्य प्रक्रियाबाट दरबन्दीमा समायोजन गरियोस्, साथै स्थायी प्रक्रियामा अगाडि बढाइयोस् ।’ यस्तै प्रदेश सचिव गंगा थापाका अनुसार बालमैत्री कक्षाको व्यवस्था, कतिपय स्थानीय तहले शिक्षकलाई अवकास दिएको हुँदा उक्त कार्य तत्काल रोक्नको लागि पनि माग गरिएको छ ।
यस्तै बाल विकास शिक्षकहरूलाई आवश्यक तालिम तथा शैक्षिक भ्रमणको समेत व्यवस्था मिलाउन माग गरिएको छ । यि माग सहित प्रदेश नम्बर ५ का बाल विकास शिक्षक आन्दोलित भएका हुन । नेपाल सरकारले आर्थिक बर्ष २०५३/०५४ देखि सुरु गरेको प्रारम्भीक बाल विकास शिक्षकको अवधारणा अनुसार मासिक ५ हजार रूपैयाँमा हाल वृद्धि भई मासिक ६ हजार रूपैयाँ तलब लिँदै आएका बाल विकास शिक्षकहरू विभिन्न माग सहित आन्दोलनमा उत्रिएका छन् । नेपाल बाल विकास शिक्षक संघर्ष समिति नै बनाएर उनीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । संयोजक ईन्द्रा खनालका अनुसार गत साउन २५ गते स्थानिय निकायका सबै तहमा ज्ञापन पत्र बुझाई सकिएको छ ।
यस्तै भदौ ३१ गते शिक्षा विकास तथा समन्वय एकाई समितिहरूमा ज्ञापन पत्र बुझाइसकको छ । यस्तै सबै प्रदेशहरूमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने संघर्ष समितिले जनाएको छ भने यहि भदौ ५ गते देखि ६, ७ र ८ गते हातमा कालो पट्टी बाँधेर काम गर्ने । २०७५ भदौ १० गते २ घण्टा विहान १० बजे देखि १२ बजे सम्म धर्ना तथा कोण सभा आयोजना गर्ने र भदौ २ गते केन्द्रीय स्तरबाट थप अन्दोलनका कार्यक्रम घोषणा गर्ने कार्यक्रम तय गरिएको प्रदेश नम्बर ५ की सचिव गंगा थापाले जानकारी दिईन । सचिव थापाका अनुसार बुधवार प्रदेश ५ का सामाजिका विकास मन्त्री सुर्दशन बराललाई ज्ञापन पत्र समेत दिइएको छ । आफुहरूका विभिन्न माग सहित विगतका दिनमा गरिएका सम्झौता अनुसार कार्यान्वयन गर्नको लागि स्मरण सहित ज्ञापन पत्र बुझाइएको रूपन्देही जिल्लाकी सचिव पुजा घिमिरे पन्थीले जानकारी दिईन् । उनले महङ्गी संगै जिवन निर्वाह सहितको तलव भत्ताको माग गरिएको बताईन् ।