© २०२३
गोपाल प्रसाद वश्याल
शिक्षणको माध्यम भाषाका रूपमा अंग्रेजी भाषाप्रति आकर्षण बढिरहेको छ । भाषा सञ्चारको एउटा माध्यम हो । सञ्चार भन्नाले विचार वा सूचना वा सन्देशको आदानप्रदान भन्ने बुझिन्छ । भनिन्छ २१ औं शताब्दी भनेको ज्ञानको व्यापारको युग हो । यस कार्यका लागि भाषा प्रमुख साधन हो । भाषा, कम्प्यूटर र यातायातको साधनको उपलब्धता नै वर्तमान युगको सफल व्यक्तिको पहिचान बनेको छ । यसकारण भाषाले एकातिर मानिसहरूलाई सशक्तिकरणका लागि सहयोग गरेको छ भने अर्कातिर भाषिक समस्याका कारण मूल्यवान अवसरहरूबाट बञ्चित हुनु परेका कारण भाषाको भूमिका मानिसलाई सिमान्तकृत गर्न पनि उतिकै छ ।
नेपाल भौगोलिक हिसाबले सानो देश भए तापनि जातीय, सांस्कृतिक तथा भाषिक हिसाबले धनी देश हो । यहाँ ९३ भन्दा बढी भाषाहरू पहिचान भएका र अन्य भाषा र भाषिकाहरूका बारेमा ठोस अध्ययन भैसकेको छैन । विगतमा मानिसहरू कम मात्र गतिशील हुने र सम्पर्कका माध्यमहरू जस्तै बाटोघाटो, बसाइँसराइँ, सञ्चार आदि सीमित भौगोलिक क्षेत्रमा रहेकाले पनि स–सानो भौगोलिक क्षेत्रमा पनि छुट्टै भाषिक पहिचान कायम भयो ।
नेपालमा अंग्रेजी भाषाको प्रवेश मल्ल कालमा प्रताप मल्लका पालामा भएको इतिहासले बोल्छ तर त्यो प्रवेश राजा तथा दरबारमा मात्र सीमित भयो । भारतमा अंग्रेज राज चल्यो र भाषिक साम्राज्यका रूपमा अंग्रेजी भाषा स्थापित पनि भयो । आज पनि दक्षिण भारतमा मानिसहरू हिन्दी भाषा जान्दैनन् र जान्ने चाहना पनि गर्दैनन् । तर अंग्रेजी भाषा माध्यम भाषाका रूपमा बोलीचालीमै प्रयोग भैरहेको पाइन्छ । अचेल भारतीय राजनीति, अर्थतन्त्र, संस्कृति र भाषाको बिस्तार नेपालमा द्रूत गतिमा बढेको छ । संसदमै हिन्दी भाषामा बोल्ने अधिकार खोजिन्छ अहिले । सिनेमाका माध्यमबाट होस् वा खुला सीमानाका कारण वा खुला बसाइँसराइँ वा सम्बन्धका कारण हिन्दी भाषाको प्रभाव नेपालमा भारत कै दक्षिणी राज्यहरूमा भन्दा बढी परेको छ । यद्यपि हामी विगतका सत्तावालहरूका थुप्रै खोटहरू देख्न सक्छौं, भारतमा अंग्रेजहरूको राजनैतिक, व्यापारिक तथा भाषिक सांस्कृतिक दवदवा रहेका बेलामा पनि नेपालमा त्यसको प्रभाव बढेन यद्यपि सीमित संख्यामा खोलिएका राणाकालीन विद्यालयमा अंग्रेजी शिक्षाको स्थान महŒवपूर्ण थियो । त्यस्को प्रभाव जनस्तरसम्म नभएर सिमित शिक्षित वर्गमा जागिरे कामका लागि मात्र रह्यो । यद्यपि पञ्चायती व्यवस्थाका ठेकेदारहरूले नेपाली भाषालाई महŒव दिँदै राष्ट्रिय शिक्षा पद्दतिको योजना २०२८ मा विद्यालय शिक्षाको माध्यम भाषा नेपाली हुने भनी कानून बनाए । त्यो योजना पूर्व पाठ्यक्रममा अंग्रेजी विषयको महŒवपूर्ण स्थान थियो भने त्यस पछाडि अनिवार्य विषयका रूपमा अंग्रेजी विषय पढाइ हुन थाल्यो । तर केही बुढानीलकण्ठ, लेबोरेटरी, गण्डकी आवासीय, सिद्धार्थ वनस्थली जस्ता विद्यालयले अंग्रेजी माध्यममा शिक्षण गरी संभ्रान्त परिवारका लगि विशेष क्षमताको गुणस्तरीय शिक्षा प्रदान गर्दथे । पछि २०३७ साल देखि शिक्षामा निजी क्षेत्रको लगानी र व्यवस्थापन खुला गरिएपछि बोर्डिङ्ग स्कूलका नाममा अंग्रेजी विद्यालयहरूको बिस्तार भयो । बिस्तारमात्र भएन, शिक्षाको ब्यापार भयो ।
अचेल अभिभावकहरूको रूचि अंग्रेजी माध्यममा शिक्षण गर्ने विद्यालयतर्फ बढेको छ । आफ्ना बालबालिका खरर्र अंग्रेजी बोलेको सुन्न चाहन्छन् उनीहरू । चाहेआफूले अंग्रेजी नबुझुन् । तर,बालबालिका अंग्रेजी बोले भने त्यसलाई गर्वको महशुस गर्छन् । बोर्डिङ्ग स्कूलप्रतिको आकर्षणका पछाडि नतिजा प्रतिशत पनि प्रमुख कारण हो । तर अंग्रेजी भाषाको बढ्दो प्रभावबाट पार पाउनका लागि बोर्डिङ्ग स्कूलले गरेको सहयोगलाई भने निसंकोच स्वीकार्नु पर्छ । यद्यपि सामुदायिक विद्यालयका उत्पादनहरूले पनि जीवनयापनमा सफलता पाएका केहि उदाहरण छन् । पछिल्ला वर्षहरूमा सामुदायिक विद्यालयहरूमा र खासगरी शहरी क्षेत्रमा प्राथमिक तहमा विद्यार्थीहरूको संख्या अत्यन्त न्यून हुन थाल्यो र केहि कक्षाकोठाहरू खाली भएका समाचार पनि आए । विद्यालयहरू गाभिन (मर्जर हुन) थाले । ग्रामीण क्षेत्रमा पनि भौतिक तथा मानवीय स्रोत सम्पन्न सामुदायिक विद्यालयमा भन्दा सामान्य छाप्राहरूमा मध्यम स्तरको जनशक्तिबाट सञ्चालित विद्यालयहरूले प्रभाव बढाउन थाले । सामुदायिक विद्यालयका कक्षाकोठामा थोरै मात्र विद्यार्थी हुन थाले भने सामुदायिक विद्यालयका शिक्षक, गाउँका टाठाबाठा र केहि बेरोजगार मानिस मिलेर बोर्डिङ्ग स्कूल खोल्न थाले । लगानी बढ्यो र लगानी गरेपछि अझ बढी ध्यान जान लाग्यो ।
पहिले पहिले नोकरीका लागि आधार भूमि भारत मात्र थियो र अन्य मुलुकमा अति कम मानिसहरू मात्र रोजगारीका लागि जाने गर्थे । बसाइँका लागि अति न्यून संख्यामा जाने गर्थे । विगत डेढ दशकदेखि रोजगारी र बसाइँका लागि समेत यूरोपीयन देशहरू, अमेरिका, अष्ट्रेलिया र क्यानाडा जानेहरूको संख्या बढेको छ । ती मुलुकमा ग्रिन कार्ड, डि. भि.र पि. आर. जस्ता विधिवत बसाइँसराइँका अवसर आएपछि पढेलेखेका मानिसहरू नेपाल छाडेर जान लागे । भारतपछि केहि समय खाडी तथा कोरियाको रोजगारीमा आकर्षण बढेको थियो भने अचेल शिक्षित, उच्च पदस्थ वा रामै्र कमाइ तथा पदीय हैसियत भएकाहरू पनि बेलायत, अमेरिका र क्यानाडाको बसाइँसराइँका लागि लालायित छन् । अवसरका रूपमा उपयोग गरिरहेका पनि छन् । यो चलखेलको केन्द्रमा अंग्रेजी भाषा र सीपमूलक शिक्षाको महŒवपूर्ण भूमिका रहेको छ ।
स्वदेशमै बसेर वा विदेशमा रोजगारी गरेर स्वदेशमा बसाइँ गर्नका लागि वा विदेशमै बस्नका लागि अंग्रेजी भाषा अनिवार्य बनेको छ । त्यत्तिकै अनिवार्य बनेको कम्प्यूटर र इन्टरनेटका माध्यमबाट वेवसाइटमा पाइने ज्ञान पनि अंग्रेजीमा नै उपलब्ध छ । अंग्रेजी भाषाको कमीका कारण हामी नेपाल भन्दा बाहिर कुनै पनि देशमा इज्जतकासाथ बोल्न र जिउन सकिँदैन । अंग्रेजी भाषाको बिस्तार भैरहेका बेला नेपाल जस्तो आत्मनिर्भर नभएको देशका नागरिकका लागि यस्को कमीका कारण ठाउँठाउँमा अपमानित र कमजोर महशुस गर्नुपरेको छ । स्वदेशमै पनि अंग्रेजी भाषा माध्यममा पढेका विद्यार्थी र नेपाली भाषा माध्यममा पढेकाबीचको सामाजिक र मानसिक भिन्नताका कारण बालबालिका मात्र नभएर अभिभावकका बीचमा समेत अप्ठ्यारो स्थिति सिर्जना भैरहेको छ । घरघरमा, छरछिमेकमा वैमनस्यता छ अंग्रेजी र नेपाली माध्यममा पढाउने अभिभावकका बीच । मानिसहरूमा द्वन्द्व सिर्जना भएको छ । राज्यले समेत विभेदपूर्ण शिक्षा प्रदान गरेको आरोप खानु परेको छ । सबै अभिभावकहरू आफ्ना बालबच्चा फरर्र अंग्रेजी बोलेको सुन्न चाहन्छन् । विश्व बजारमा अंग्रेजी भाषाको बढ्दो प्रभाव, रोजगारी, नेपाली अभिभावकहरूको अंग्रेजी भाषा विद्यालयप्रतिको मोह र उच्चस्तरको सफल अध्ययनका लागि अंग्रेजी भाषाको अनिवार्यता बढेको छ ।
नेपालमा साप्ताहिक छ पाठ्यभार बराबरको अनिवार्य अंग्रेजी भाषा शिक्षण गरिएको छ । यो कम समय पक्कै होइन । एउटा बहस चलिरहेको छ कि अनिवार्य अंग्रेजी शिक्षालाई नै राम्रोसँग शिक्षण गर्ने हो भने अन्य विषयहरू अंग्रेजीमा शिक्षण गर्नु आवश्यक पर्दैन । तर, अभिभावकहरूको अंग्रेजी भाषा विद्यालयहरू प्रति बढेको रूचिका कारण त्यस्तो विचारलाई व्यवहारिक रूपमा फेल गराएको छ । त्यस्तै नेपाली भाषाहरू अन्यत्र काम नलाग्ने र ज्ञान र रोजगारीका लागि विदेशिनु पर्ने र त्यसका लागि अंग्रेजी भाषाको ज्ञान बाध्यता पनि छ । विगत ४, ५ वर्ष यतातिर सामुदाियक विद्यालयहरूले पनि अंग्रेजी माध्यममा शिक्षण गर्न थालेपछि विद्यार्थी संख्या बढेको पाइएको छ । त्यस्ता अंग्रेजी माध्यममा शिक्षण गर्ने सामुदायिक विद्यालयहरूले थोरै मात्र शुल्क लिएर बोर्डिङ्गकै जस्तै अंग्रेजीमा पढाउन थालेपछि अभिभावकहरूको विश्वास पनि जागेको पाइएको छ । हुन त बिसौं वर्ष नेपाली माध्यममा शिक्षण गरिरहेका शिक्षकहरूलाई अंग्रेजी भाषामा शिक्षण गर्नुपर्ने बाध्यता एउटा अस्वाभाविक जिम्मेवारी दिएको पनि हो । तर, शिक्षकको क्षमताका कारण विद्यार्थीहरूले पाउने शिक्षणसिकाइ वातावरण नदिन मिल्दैन । शिक्षकले आफूलाई युग अनुसार अद्यावधिक गर्दै परिवर्तन गर्न जरूरी छ । मुख्य कुरा राज्यले कस्तो भाषिक नीति अपनाउने भन्ने हो । बहस नेपालमा भएका करिब सयवटा भाषाहरूको संरक्षण र विश्व बजारमा बिकाउ हुने जनशक्तिका लागि चाहिने अंग्रेजी भाषाको क्षमता कसरी विकास गर्ने भन्ने नीतिगत व्यवस्थाका बारेमा राज्यले स्पष्ट दृष्टिकोण अघि सारी सोही अनुसार कार्य गर्नुपर्छ । वर्तमानमा रहेको आधारभूत तहमा मातृभाषा वा नेपाली भाषा वा अंग्रेजी भाषा गरी त्रयी भाषा नीति र माध्यमिक र उच्च शिक्षामा अंग्रेजी भाषा शिक्षणको माध्यम भाषाका रूपमा प्रयोग गर्ने सरकारी मनसाय व्यवहारमा ल्याउन सकेमा शिक्षामा आम मानिसहरूको विश्वास बढ्ने र सिकाइ उपलब्धि बढाउन सहयोग पुग्न सक्छ ।
शिक्षणको माध्यम अंग्रेजी भाषा हुने भएपछि केहि चुनौतीहरू थपिएका छन् । खासगरी नेपालको भाषिक नीति स्पष्ट हुनुपर्नेछ । सरकारी, व्यवसायिक तथा सम्पर्क भाषाका रूपमा अंग्रेजी भाषालाई विकास गर्न सकिन्छ । तर, नेपालमा अंग्रेजी भाषाको प्रयोग बोलीचालीमा हुन तत्काल सम्भव छैन । अंग्रेजी भाषामा शिक्षण गर्ने क्षमता भएका शिक्षकहरू निकै कम छन् । उनीहरू आफ्नो विषयको विषयवस्तु वा शिक्षण विधिका बारेमा अद्यावधिक हुन तत्पर छन् । तर, अंग्रेजी भाषा क्षमता विकास गर्न भने समस्या छ । राज्यले तालिम दिने भनिए तापनि तालिम शिक्षण विधि वा अंग्रेजी भाषा नै प्रशिक्षण के गर्ने भन्ने स्पष्ट छैन । अब राज्यले शिक्षकलाई अंग्रेजी पढाउन थाल्ने कि शिक्षा सुधारका अरू कार्य गर्ने ? अर्कोतर्फ कम क्षमताका शिक्षकहरूले पढाएको बच्चाहरूको अंग्रेजी झन् कमजोर हुनेछ । त्यसैले स्वाध्ययनबाट आफूलाई समय सापेक्ष ज्ञान आर्जन गर्न शिक्षकहरू अग्रसर हुनैपर्छ । अंग्रेजी माध्यमका नाममा थप पुस्तक भार र अनुवादमा सीमित हुने हो भने फेरि अभिभावकको ध्यान बोर्डिङ्गहरू तर्फ बढ्यो भने के भनेर फिर्ता गर्ने ? त्यसैगरि अब एउटा मुद्दा फैसला हँुदैछ कि बोर्डिङ्ग विद्यालयहरू वास्तवमै गुणस्तर दिन्छन् वा अंग्रेजी माध्यम शिक्षणको फाइदा लिएका रहेछन् ? त्यसैगरी सामुदायिक विद्यालयहरूले आफ्ना शिक्षकहरूलाई भाषाका साथै शिक्षणसिकाइमा सुधार ल्याई नतिजामा सुधार ल्याउनका लागि कार्य गर्नुपर्छ । सामुदायिक विद्यालयमा विद्यार्थी भर्नामा सुधार ल्याउने मनसायका कारण ल्याइएको अंग्रेजी भाषामा शिक्षण गर्ने मोहबाट विद्यार्थी संख्यामा वृद्धि, देश विदेशमा रोजगारीका लागि सजिलो हुने र उच्च शिक्षा अध्ययन गर्न पनि सहयोग पुग्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ । -तानसेन, पाल्पा