© २०२३
लोकविश्वास शब्द लोक अर्थात् जनता र विश्वास मिली बनेको हो । मानव समाजले पत्याउँदै मान्दै आएको कुरा नै लोकविश्वास हो । यसलाई अङ्गे्रजीमा supperstition भनिन्छ । यो शब्द ल्याटिन भाषाका दुर्ई शब्दहरू Supper (above) / Stition (believe ) बाट बनेको हो । त्यसैले यसलाई माथिको विश्वास अर्थात् यस लोकभन्दा माथिको पारलौकिक विश्वास, सादृश्य विश्वासभन्दा परको अदृश्य विश्वास भन्न सकिन्छ । परम्परागत विश्वासका आधारमा लोकविश्वास र अन्धविश्वास नजिकनजिकै देखिने गर्छन् । अन्धविश्वासको अर्थ ‘कुनैपनि विचारलाई तर्कपूर्ण विश्लेषणविना नै पूर्ण विश्वास गरी आत्मीकरण गर्नु हो ।’ यस्तै विश्वास जो लोकपरम्परामा चलिआएको छ त्यो नै लोकविश्वास हो । कतिपय लोक परम्पराहरू समय सान्दर्भिक नभएको अवस्थामा पनि तर्कद्वारा प्रमाणित नगरी लहलहमै स्वीकारिने चलन भएकाले त्यस्ता विश्वासलाई अन्धविश्वास भन्ने गरिन्छ ।
विभिन्न घटना परिघटनाबाट खारिएका विचार तथा अनुभवहरू समाजमा निश्चित मूल्य र मान्यताका साथमा स्थापित हुन पुग्दा लोकविश्वासहरूको जन्म हुन्छ । लोकविश्वासहरू विशेष गरी व्यक्तिको जन्म, स्वास्थ्य स्थिति, शारीरिक रूप आकृति वा चिह्न, विवाह र मृत्युसित सम्बन्धित गरेर बनाइएका हुन्छन् । जन्मे हुर्केको ठाउँ, खानपान, रीतिरिवाज, जीविकोपार्जनको लागि अपनाइएको पेसा आदिले पनि लोकविश्वासको निर्माण तथा हस्तान्तरण हुन विशेष भूमिका खेलेको हुन्छ । कहिलेकाहीँ विशिष्ट स्थान, परिस्थिति वा परिवेशमा स्थापित मूल्यमान्यतालाई सबै ठाउँमा जेकाते आत्मीकरण गर्न खोज्दा अन्धविश्वासको जन्म हुने संभावना हुन्छ ।
संसारमा त्यस्तो समाज छैन जहाँ लोकविश्वासको संस्कार नभएको होस् । ती लोकविश्वासको अध्ययन गर्ने हो भने हामी सबै एउटै परिवारबाट वा एउटै समुदायबाट छुट्टिएर यत्रतत्र छरिएका रहेछौँ जस्तो आभास हुन्छ ।
अन्धविश्वास÷लोकविश्वासको जन्म, विकास, समाजमा हस्तान्तरण र आत्मीकरण– विचारको व्यावहारिक प्रयोगले विश्वासलाई जन्माउँछ, जुन देश, काल र परिस्थिति सापेक्ष हुन्छ । यही विश्वास समाजमा स्थापित भएपछि त्यसलाई लोकविश्वास भनिन्छ । यी तीन कुरा (देश, काल, परिस्थिति) को ख्याल नगरी प्राप्त विचारलाई स्वीकार्ने प्रवृत्ति नै अन्धविश्वास जन्माउने मुख्य कारक तत्व हो । अशिक्षित तथा जडवादी परम्परा रहेको समाजमा अन्धविश्वासीहरू प्रशस्त पाइन्छन् अर्थात् थुप्रै अन्धपरम्पराहरू चलनचल्तीमा हुन्छन् । अन्धविश्वास कसरी जन्मन्छ भन्ने सम्बन्धमा चर्चा गर्दा निम्न लिखित बुँदाहरूको विवेचना गर्नु उपयुक्त हुनेछ ।
(क) कोरा कल्पनाबाट सिर्जिने विश्वास— कतिपय लोकविश्वासहरू कोरा कल्पनाद्वारा सिर्जिएका हुन्छन् । ती कोरा कल्पना हजारौँपटक भन्दै र सुन्दै जाँदा साँच्चै हो कि जसरी तल्लो पिँढीमा स्थापित हुँदै जान्छन् र यसैगरी पुस्तौँपुस्ता सर्दै चल्दै जान्छन् । यस सन्दर्भमा योगवासिष्ठ ग्रन्थमा यसो भनिएको छ —
बालस्य स्वमनोमोहकल्पितः प्राणहारकः । रात्रौ नभसि वेतालो विचारेण विलियते ।।२५।। सर्ग १४, मुमुक्षु प्रकरण
(यस प्राण नाशक संसारमा आफ्नो मनको अज्ञानद्वारा यस्तो कल्पना गरिन्छ जसरी बालक रातीमा बाहिर नजाओस् भनी आकाशमा वेताल आउँछ भनिन्छ । जुन कुरा उक्त बालकमा ज्ञानको उदय भएपछि आफै हराउँछ, बिलाउँछ ।)
(ख) अदृश्य शक्तिप्रतिको विश्वासः– कुनै पनि व्यक्तिको सिकाइ उसले अनुभव गरेको घटनाको अत्मीकरण हो । वैयक्तिक भिन्नताका कारणले आत्मीकरणको तह वा स्तर व्यक्तिपिच्छे फरक हुने भएकाले नै उही घटनामा परेका व्यक्तिहरूको पनि सो घटनाप्रतिको धारणा फरकफरक पाइन्छ । एउटै घटनालाई कसैले अति गम्भीरतापूर्वक लिने गर्छन् भने कसैले समान्य रूपमा लिने गर्छन् । एउटै शिक्षणबाट विभिन्न प्रकृतिका सिकाइ भएका विद्यार्थीको उत्पादन हुने कारण यो पनि एउटा हो, किनकि शिक्षण एक शैली हो जसले घटनालाई सङ्क्षेपीकृत गरी सिकारुलाई उक्त घटनाको अनुभव दिलाउँछ ।
व्यक्तिले बुझी–नबुझी वा व्यक्ताव्यक्त जुनसुकै किसिमले होस् घटनाको कारण र असर (cause & effect) को खोजी गरिरहेको हुन्छ । सबै घटनाहरू कारण र असरमा आधारित हुन्छन् । यो कुनै पनि घटनाको विश्लेषणका लागि स्थापित सैद्धान्तिक मान्यता भए पनि व्यवहारमा भने सबै घटनाका कारणको व्याख्या सम्भव र बोधगम्य नहुन पनि सक्छन् । यस कारणले गर्दा कहिलेकाहीँ स्पष्ट कारणको अभावमा पनि कुनै घटनाको असरलाई स्विकार्नुपर्ने हुन्छ । यस्तो विशिष्ट स्थितिलाई अन्य सरल अवस्थामा पाइन सक्ने कारण खोज्न नलागी त्यो पनि यस्तै विशिष्ट कारण होला भन्ने अनुमानमा सामान्यीकरण गरी स्विकार्दै जाँदा अन्धविश्वासको जन्म हुन्छ ।
जीव उत्पत्तिको रहस्य, तारा, ग्रहको गर्भको रहस्य, पृथ्वीकै बर्मूडा ट्र्याङ्गल ९यो उत्तर अमेरिकाको पूर्वी दक्षिणी भागको आन्द्र महासागरको किनारमा पर्ने ठाउँ हो जसमा आजसम्म ५० वटा जहाज र २० वटा हवाइजहाज गायब भैसकेको छन् । यस क्षेत्रमा पुगेपछि रेडियो तरङ्ग तथा अन्य सङ्केत दिने उपकरणले समेत काम गर्न छाड्छ । यसको क्षेत्र त्रिकोण आकारको अनुमान गरिएको छ र यथार्थ क्षेत्रफल कति हो भन्ने यकिन गर्न सकिएको छैन । आजको विज्ञानको यत्रो चमत्कारलाई पनि यस क्षेत्रको रहस्यले चुनौती दिइरहेको छ । जस्ता अपरिभाषित रहस्यले पनि अदृश्य शक्तिको मान्यता स्थापित गर्नमा बल पु¥याएको छ । यसले अपरिभाषित कारणको असर स्विकार्न बाध्य पारेको छ । यस्तै कारणले गर्दा समाजमा अन्धविश्वास थपिन मद्दत पुगेको छ । अर्थात् सबै खालका कारण र असरलाई औचित्यपूर्ण व्याख्या गर्न नसक्दा अन्धविश्वासको जन्म हुन्छ ।
(ग) लेखक, कलाकारप्रतिको विश्वासः– विभिन्न लेखक तथा कलाकारका आर्दशवादी प्रतीकात्मक र अतिरञ्जनापूर्ण परिकल्पनाले पनि अन्धविश्वास जन्माउन सहयोग गरेको छ । हजारौँ हात भएको व्यक्ति (सहस्रार्जुन), हजारौँ टाउका भएको नाग (शेष नाग ), सय मन लोहाका च्यूरा खाने (लोहासुर दानव), दस शिर बीस हात भएको व्यक्ति (रावण) आदिको परिकल्पना लेखकले गरे । कलाकारले त्यसमा प्राण भर्ने काम मूर्तिकला, चित्रकला, नाटक र चलचित्र मार्फत् गरे । अनि कुनैपनि घटनाको कारण गौण र असरलाई महत्त्व दिँदै स्विकार्ने प्रवृत्ति बढ्दै गयो । डाइनी, बोक्सी, किच्केनी, निधेनी, झाँक्री, भूत–पे्रत, भैरव आदिका रूप तथा आकारको परिकल्पनाले व्यक्तिको कलिलै मष्तिष्कमा डेरा जमाउन थालेपछि अन्धविश्वासको भण्डार झन् ठूलो हुँदै गयो । मानसिक विचलनले हुने भ्रम तथा जादूको कलाकारिताले पनि कुनै घटनाको कारणलाईभन्दा असरलाई नै प्रमुख मान्यता दिन उत्पे्ररित गरिरह्यो अर्थात् अन्धविश्वासको क्षेत्र झन् फराकिलो बन्दै गयो ।
(घ) बौद्धिक दासताको कारणः– धेरैजसो साँचो बोल्ने सत्यवक्ताले कहिलेकाहीँ असत्य बोल्दा पनि सत्य नै होला भनी पत्याउने प्रवृत्ति बहुसङ्ख्यकको हुन्छ । यस्तो बौद्धिक दास मनोवृत्तिले पनि अन्धविश्वास जन्माउन सघाउँछ । ग्रहण, ग्रह, नक्षत्रको उदयास्त आदिको भविष्यवाणी मिल्दा फलित ज्योतिषीका अन्य बख्खु बोलाइ पनि भरपर्दो भविष्यवाणीको रूपमा स्विकारिन्छ । अनि कर्मयोगी व्यक्ति भाग्यवादी व्यक्तिमा रूपान्तरित हुन्छ र अन्धविश्वासी बन्छ । बौद्धिक दास मनोवृत्ति जस्तो चर्को दासता अरू कुनै हुँदैन । आइमाईका एकतीसवटा दाँत हुन्छन्, झींगाका पाँचबाट खुट्टा हुन्छन् भन्ने महान् विचारक अरस्तुको विचार कैँयौँ वर्षसम्म बिना विश्लेषण पत्याइएको थियो ।
(ङ) भाषिक कारणबाट जन्मने अन्धविश्वास– समयको परिवर्तनसँगै भाषामा केही अर्थगत, उच्चारणगत परिवर्तन आउने गर्छ । विभिन्न पदावलीको अर्थ सङ्कुचन र अर्थ विस्तारले अर्थान्तरण हुने गर्छ । भान्टालाई भाटेभेँडा भनिने हुनाले भाटेभेँडा, गोलभेँडा, वनस्पतिजन्य उत्पादन भैकन पनि मासु सरह असगुन (अशुद्ध) भनियो । चिचि (मासु बाल बोलीमा) उच्चारण भएको हुनाले चिचिन्डो असगुन हुन गयो । यस्तै मास (मासु जस्तो सुनिनाले ), मसुरो (मासु जस्तो सुनिनाले) असगुन मानिएका छन् ।
(च) परिवर्तनशील मान्यतालाई समयसापेक्ष परिवर्तन गर्न नसक्दा जन्मने अन्धविश्वास— परिवर्तनसम्बन्धी कुरा गर्दा यो संसारमा परिवर्तनबाहेक सबै परिवर्तन हुन्छ भनिन्छ । कुनै बेलाको स्थापित मान्यता समयको परिवर्तनसँगै हराउन सक्छ । अन्धविश्वासको प्रमुख उदाहरणमा आउने “श्राद्धमा बिरालो बाँध्ने” प्रसङ्गलाई चर्चा गर्दा कुनै बेला घरमा बिरालो थियो । श्राद्धको सामग्री पोख्ला, जूठो पार्ला भनी बिरालो बाँधियो वा बाँध्नुपर्छ भन्ने मान्यता स्थापित भयो । तर अहिले बिरालो नभएको अवस्थामा पनि श्राद्धको दिन बिरालो बाँध्नुपर्छ भनी गाउँभरि चहारेर खोजेर बिरालो ल्याई बाँधियो भने यो काम अन्धविश्वासपूर्ण हुन जान्छ ।
(छ) संयोगलाई सामन्यीकृत गरी जन्मने अन्धविश्वास– कुनै थर, परिवार र बासिन्दा विशेषमा कुनै एक दुर्घटना घट्दा कुनै एक कारणलाई आरोपित गरी सो परम्परालाई निरन्तरता दिएका तमाम उदाहरण हाम्रो समाजमा पाइन्छन् । अझ कुनैकुनै त हास्यास्पदसमेत हुन्छन् । जस्तोे ‘कार्कीहरूले तिहारमा रोटी पकाए गाईभैँसी रूख चढ्छन्’ भन्ने मान्यता पालेर अर्घाखाँची, गुल्मी, पाल्पातिरका कार्कीहरूले तिहारमा रोटी पकाउन्नन् ।
गुल्मीका धनञ्जय गोत्रीय भण्डारीका भाञ्ज खीर खान पाइन भनी झुण्डिएर मरेका हुनाले देवालीमा बाहेक खीर पकाउन्नन् ।
महेन्द्र उच्च मा.वि तम्घास गुल्मीको कक्षा ९ को तेह्र रो.नं.१३ भएका विद्यार्थी एउटा चट्याङ् लागेर र अर्काचाहिँ विरामी परेर बित्नाले हाल सो विद्यालयमा कक्षा ९ को १३ रो.नं. हुने गरी भर्ना नगरिने चलन छ । यी सबै संयोगलाई सामान्यीकृत गर्दा जन्मेका अन्धपरम्परा हुन् ।
यसरी जन्मेका यी अन्धपरम्परा रहर, डर, करबलले आफ्नो दोस्रो पुस्तामा हस्तान्तरण गरिन्छन् । विश्लेषणात्मक दृष्टि राख्ने शिक्षित समाजमा ती मान्यताहरू समयसापेक्ष परिवर्तन गरी लिइने भएकोले त्यस्ता समाजमा अन्धपरम्परा कम मात्रामा पाइन्छन् ।
(ज) प्राकृतिक विपत्तिले सिर्जना गर्ने—
वि.सं. २०७२ साल बैशाख १२ गते शनिवार दिउँसो ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गयो । लगभग दस हजार जति मान्छेको मृत्यु भयो । बीसौँ हजारको सङ्ख्यामा घाइते भए । लाखौँ घरबार बिहीन भए । यो विपत्ति भूमि रिसाएर हो भनी विधिविधानसित भूमिको पूजा गर्ने गरे । यतिले मात्र चित्त बुझेन र भूकम्पको एक प्रतीकात्मक पुतला बनाई त्यसको दाह संस्कार गरेर भूकम्पप्रतिको आक्रोश पोखे । यी दुवै काम गोरखा जिल्लामै गरिएको थियो ।
(झ) विभिन्न समाजमा अन्धविश्वासको प्रभाव र नेपाली समाजसँग सङ्क्षिप्त तुलनात्मक अध्ययन – जङ्गली ढुङ्गे जीवनबाट आजको अत्याधुनिक वैज्ञानिक युगसम्म आइपुग्दा मान्छेले धेरै हण्डरठक्कर खाएको छ । आजभन्दा करिब पाँचहजार वर्ष पहिलेदेखि निश्चित अनुभव तथा ज्ञान भण्डारलाई श्रुतिसहिताकृत गरी मानव समाजलाई मार्ग निर्देशन गरेको प्रमाण वेद आज हामीसँग छ । उस बेलाका प्राकृतिक शक्तिपूजक मान्छे आज विभिन्न वर्ग र सम्प्रदायमा विभाजन हुन मान्छेलाई विभिन्न परम्परागत प्रथा, चलनले पे्ररित गरेको छ । भौगोलिक रूपमा टाढा र भाषिक रूपमा छुट्टै सम्प्रदायको विकास संयुक्त रूपमा (एउटै परिवारबाट) भएको हो कि भन्ने झझल्को मिल्छ । हामी हाच्छ्यिुँ गर्दा ‘लच्छिन’ भन्ने चलन छ । कसैकसैले ‘लच्छिमी’ पनि भन्ने गर्छन् । उता अङ्गे्रजहरूले “ब्लेस यु” अझ “गड ब्लेस यु” भन्ने गर्छन् । यी दुवैको आशयले हाच्छ्यिुँ (छिक्का) अशुभ हो भन्ने बताउँछ ।
भारतीय समाजमा कालो बिरालोले बाटो काटे अलच्छिन हुन्छ भन्ने कुरा नेपाली समाजसित पनि मिल्छ । कालो टीका, खुर्सानी, कागतीले कसैको दृष्टि दोष हटाउँछ भन्ने विश्वास भारतीय समाजमा रहेको पाइन्छ । खुर्सानी र कालो टीकाको प्रयोग नेपाली समाजमा पनि गरेको पाइन्छ ।
जापानमा कसैको मलामी भई घर फर्केको व्यक्तिलाई उसको शरीरमा नुन छर्केर मात्र घरभित्र पस्न दिन्छन् । यसो गर्नाले शरीर शुद्ध हुने विश्वास गरिन्छ । नेपाली समाजमा यस्तो अवस्थामा खल्को नुहाई घ्यूको धूप हालेर शुद्ध हुने गरिन्छ र मृतात्मा फर्केर घर नआओस् भनी बाटोमा काँढा च्यापिन्छ । यसो गर्नाले मृतात्मा फर्केर घर नआउने विश्वास गरिन्छ ।
उत्तरतिर सिरानी गरेर सुते आयु छोटो हुन्छ भन्ने विश्वास जापानमा पनि छ । व्यक्तिको नाम रातो मसीले लेख्नुलाई जापानमा नराम्रो मानिन्छ । नेपाली समाजमा पनि उत्तरतिर सिरानी गर्नुहँुदैन नरक देखिन्छ भन्ने चलन छ । राता मसीले लेखेको चिठी आउनु, धागोले बाँधेको चिठी आउनुलाई मृत्युको सन्देश दिने रूपमा लिने चलन थियो । चीनीयाँहरू आठ अङ्कलाई निकै राम्रो मान्दछन् । आठ अङ्कको उच्चारण र सुखको उच्चारण चीनीयाँ भाषामा उस्तै हुने भएकोले यसो भएको हो । आठ अङ्कको घर नम्बर, कारको नम्बर बनाउन वा पाउन निकै खर्च गर्न पनि तम्सिने गर्छन् । तर अङ्क चार भने उनीहरू नराम्रो मान्छन् । जापानमा झैँ चीनमा पनि चारको उच्चारण मृत्युसँग मिल्छ । ८, १३, १८, १६८ नम्बरहरू भाग्यशाली नम्बर मान्छिन् ।
विवाहका बेलामा पानी आउनु (वर्षा हुनु) राम्रो— यो भनाइ फिलिपिनी समाजमा प्रचलित छ । नेपाली समाजमा पनि यो भनाइ उत्तिकै प्रचलनमा छ । हाम्रो समाजमा विवाहको बेला पानी पयो भने राम्रो लगन परेको मानिन्छ । कहीँकहीँ भने वरवधुले कुमार कन्या अवस्थामा डाडु पनियो चाटेको भए पानी आउँछ भन्ने चलन पाइन्छ । रसियामा घरबाट कहीँ जानको लागि साइत गरेपछि फेरि फर्केर घर जानु राम्रो मानिन्न । तर अत्यावश्यक केही कुरा बिर्सेर घर जानु प¥यो भने ऐनामा आँखा हेरेर पर्किनुपर्छ । साइत गरिसकेपछि सो काम नसकी घर फर्किने कुरा हाम्रो समाजमा पनि राम्रो मानिन्न । यात्रामा ऐना हेरेमा साइत पर्छ भन्ने कुरा पनि नेपाली समाजमा निकै चर्चित छ ।
बेलायतमा १३ अङ्कलाई निकै अशुभ मानिन्छ । शुक्रवार सहितको १३ नं. अझ अशुभ मानिन्छ । ठूलाठूला होटेलहरूमा १३ नं. कोठानै नराख्ने चलन छ । इसाई समुदायकमा शुक्रवारलाई राम्रो दिन मानिदैन । यसलाई राम्रो दिन नमान्नुको कारण शुक्रवारको दिन यसुको मृत्यु भएको हुनाले हो भनिन्छ । १३ नं. लाई अशुभ भन्ने इतिहास भने निकै पुरानू छ । इसा पूर्व १७८० को बेबिलोनियन कोड अफ ह्यूमारबीमा तेह्रौँ नं.को दफा राखिएको छैन वा हटाइएको छ । यसुसमेतको अन्तिम भोज(ीबकत कगउउभच) मा यसुको बारेमा कुरा लगाइदिने छुल्याहा तेह्रौँ सिटमा बसेको थियो भनी तेह्रलाई अशुभ मान्ने गरिएको भन्ने भनाइ छ । शुक्रवार र तेह्रको संयोगलाई अझ अशुभ मानिन्छ । अस्ट्रेलियाको क्रिकेटको रन गिन्तीमा शतक पु¥याउन तेह्र रनको आवश्यकता पर्छ भनी ८७ रन भएको अवस्थालाई अशुभ मानिन्छ ।
यसै सन्दर्भमा केही हाम्रा नेपाली लोकपरम्पराको सङ्क्षिप्त विश्लेषणात्मक चर्चा गर्ने प्रयास गरिएको छ ।
अर्काको भाग ठूलो देख्नेको आँखामा आनो (अन्धो) हुन्छ – यो भनाइ साना नानीहरूलाई खासगरी खानेकुरामा हुने उनीहरूको आरिसे (आहारिसे) वा डाहाडे स्वभाव नियन्त्रण गरी संयमित बनाउनको लागि चलन चल्तीमा ल्याइएको हो भन्न सकिन्छ । केटाकेटीको पेट अघाए पनि आँखा अघाउँदैन भन्ने चलनै छ । आँखाको सरसफाइको कमी तथा बाह्य सङ्क्रमणबाट हुने आनोले सताएको बच्चाबच्चीले देखेका हुन सक्छन् । सुन्निएको आँखोको कप्टेराको त्यो कष्टप्रद स्थितिको सम्झनाले साना नानीहरूलाई केही हदसम्म संंयमितताको अभ्यास गराएको पाइन्छ पनि । तर यहाँ भनिएझैँ डाहाडे स्वभाव र आनोको सङ्क्रमणको कुनै अन्तरसम्बन्ध देखिँदैन ।
महिलाले गाई दुहुनुहुँदैन पाप लाग्छ –
हाम्रो गाउँघरमा स्थानीय जातका गाई अरू हिसाबले सुधा देखिए पनि दुहुने बेलामा निकै चकचक गर्ने गर्छन् । गाई दुहुँदा पछिल्लो दायाँ खुट्टो खाँबामा बाँधेर (त्यसो गर्नुलाई नेल्नु भनिन्छ ) दुहुने चलन सामान्य जस्तै छ । महिलाको पहिरनले (धोती, साडीले..) छरितो हुन नदिने, लात्ती छड्काउँदा हातका चुरा फुट्ने आदि दुर्घटना हुन सक्ने हुनाले आइमाईले गाई दुहुनहुँदैन भनिएको हो । आज भोलि त कुर्ता सुरुवाल जस्ता छरिता पोसाक लगाएर उन्नत जातका सुधा (लात्ति नहान्ने) ंगाई दुहुन भने कुनै पाप लाग्ने अवस्था देखिँदैन । अर्को कुरा महिलाहरू दयालु स्वभावका हुन्छन् । बाच्छाले आफ्नी आमाको दूध खाओस् भनी कम दुहोलान् भनेर पनि यस्तो कुरा अज्माइएको हो कि ? या कम दूध दिने काठे गाईको दूध आफ्ना छोराछोरीलाई थोरै हुन्छ भनी बाच्छाको भागसमेत दाहोलान् भनी त्यसो गरिएको पो हो कि ? जे होओस् अलि जोखिमको काम आमाहरूले नगरेकै राम्रो ।
कान कराए उनायो फुल्दा आउँला भन्नू–
लोक भनाइअनुसार कालले उमेर पुग्दै गएको साङ्केतिक पत्र बेलाबेलामा पठाउने गर्छ । यी साङ्केतिक पत्रहरूमा पहिलो केश पाक्नु, दोस्रो आँखाको ज्योति कमजोर हुनु, तेस्रो दाँत झर्नु, चौथो कान कमजोर हुनु, पाँचौ आहारा घट्नु … आदि हुन्, भनिन्छ । जब कानमा केही विकृति आउन थाल्छ तब कानमा अनेक अस्वाभाविक आवज सुनिन थाल्छन् । जसलाई हामी कान कराएको भन्छौँ । यसरी कान कराउनुलाई मृत्युको ताकेता पत्र सम्झी उनायो फुल्दा, ढुङ्गो टुसाउँदा, घोडाको सिङ आउँदा आउँला भनी आफूलाई दीर्घजीवी बनाउने शर्त राखी मानसिक सन्तुष्टि लिने गरिन्छ । हाम्रो महामृत्युञ्जय लोकविश्वास !
कार्तिक लाग्ने र चैत लाग्ने मसान्तले पिर्छ –
कार्तिक र चैत महिना सर्दी गर्मीको फेरबदल हुने महिना हुन् । यस्तो अवस्थामा आफू जुन आवहवामा वा भनौँ वातावरणमा रहेको छ सोही ठाउँमा सोही अवस्थामा रहनु बढी श्रेयस्कर हुन्छ । नत्र विरामी परिने डर हुन्छ । हाम्रो समाजमा यी मसान्तहरूको बारना धेरैजसो महिलाहरूले गर्छन् । पुरुषहरू प्रायःजसो बाहिरफेरा हिँडिरहने भएकोले उनीहरूमा यो सहन क्षमता बढी भएका कारणले बार्ने नगरेका पनि हुन सक्छन् ।
औलाको प्रकोप हुने समयमा चैतमा हाटबजार जानु हुँदैन भनी ‘भदौरे घाट (नतर्ने), माघे खाट (नसुत्ने) र चैत हाट (नजाने)’ वर्जित गर्ने उपदेश दिन्थे पाका पुरानाले । महिलाहरूले यस भनाइलाई निकै गम्भीरताका साथ लिनुको कारण उनीहरू आफू एक्लैको समस्याभन्दा आफूसँग हुने बच्चाबच्चीको समस्या हुन सक्छ । तर अचम्म ! यहाँ त यो आवहवा परिवर्तन गर्नेलाई होइन त्यसलाई बास दिने घरबासीलाई पिर्छ (बिघ्न बाधा पार्छ) भनिन्छ र मसान्त फर्काउन आउन नसक्ने खालको परिस्थिति भए रातभर तारा गन्दै आँगनमा रात बिताउनुपर्छ । जुन सो भनाइको मर्मको ठीक विपरीत देखिन्छ । (मसान्त फर्काउने भनेको जुन महिना जुन घर लागेको छ त्यही महिनाको मसान्त त्यही घरमा सुतेर बिताउनुलाई नै मसान्त फार्काउनु भनिन्छ ।) हावापानी, वातावरणको फेरबदलप्रति कति सचेत भनाइलाई कति अनर्थको बुझाइमा टुङ्गाइएको छ । राम्रोसँग व्याख्या विश्लेषण नहँुदा राम्रो ज्ञान विज्ञानसम्मत कुरा अन्धविश्वास भएर मौलाउँछ ।
घरमा माकुरा झुण्डिएर भुईँमा खसे पाहुना आउँछन्–
पाहुनालाई घरको राम्रो नराम्रो स्थितिको प्रचारका रूपमा लिने पुरानै चलन हो । माकुरालाई यहाँ सरसफाइको कमीको प्रतीकको रूपमा लिइएको छ । यसरी यत्रतत्र माकुरा देखिने अवस्थामा पाहुना आए के चाल होला ? भन्ने डरको कारणबाटै यो भनाइ समाजमा चलेको हुन सक्छ । जहाँ कीरा, भुसुनाहरू प्रशस्त हुन्छन् त्यो ठाउँमा माकुराले आफ्नो जीवन निर्वाह सजिलो हुने भएकोले जालो लगाउने, बच्चा कोरल्ने गर्छ । कीरा, भुसुना फोहर ठाउँमा हुन्छन् । माकुरा घरभित्रबाट हटाउनु छ भने घरको सरसफाइ राम्रो गर्नुपर्छ । अनि पाहुना आए के होला ? इज्जत जाला कि भनी तर्सिरहनु पर्दैन ।
ढाकेको भाँडोमा खाए स्याँ स्याँ हुन्छ वा धम्कि रोग लाग्छ–
यो भनाइ मद्यपान नगर्नेहरूले बनाएको हुन सक्छ । उनीहरूले रक्सी पसिनाबाट बनेको हुन्छ भन्ने जानेका, रक्सी खाने मान्छेमा प्रायः धम्किको बिरामी भएको देखेका र ढाकेको भाँडोमा पसिना हुने हुनाले त्यसो भनेका हुन् । कहाँको जाँडको पसिना कहाँको आटो, भात, तरकारीको पसिना उस्तै किन हुन्थ्यो र ? त्यसरी आएका पसिना त किटाणुरहित शुद्ध पानी हो । जति खाए पनि केही हुँदैन । रोगलाग्ने त कुरै भएन । यसो भनेर रक्सीसित तर्साउन खोजिएको हो भने त राम्रै हो तर कलेजो डामियुन्जेलसम्म रक्सी धोक्ने, दाल भातको पसीना खाइए स्याँ स्याँ हुन्छ भनियो भने पक्कै पनि पुरानू कुरालाई राम्ररी बुभिएन भन्नुपर्छ ।
तैयार भएको औषधि भुुइँमा राखे लाग्दैन (काम गर्दैन)—
यो विभिन्न जरिबुटी खोजेर मिसमास गरेर औषधि तैयार गर्ने अवस्थामा जन्मेको भनाइ हो । यस कुराले मुख्य दुर्ईवटा कुरामा जोड दिन खोजेको देखिन्छ ः
१.औषधिको सुरक्षा –तैयारी भएको औषधि जसका जिम्मा छ उसैले वा उसका हातबाट हातहातै गरी अरूले सुरक्षित किसिमले बिरामीसम्म पु¥याउनुपर्छ । कति मेहेनत गरी तैयार गरेको औषधि असावधानीले पोखिई नाश हुनसक्छ भनी यसो भनिएको हुनसक्छ ।
२.औषधिको शिघ्र प्रयोग – तैयार भएको औषधि जति सक्यो छिटो बिरामीको मुखमा पर्दा नै छिटो सञ्चो हुन थाल्छ । यता राख्ने उता राख्ने गर्न थाल्यो भने त विरामीलाई औषधि खुवाउन ढिलो हुनसक्छ । जडीबुटी मिसाएर बनाएका रसिला औषधि त छोटै समयमा बिग्रने, थिग्रिने, अमिलिने, फाट्ने… हुन पनि सक्छन् । त्यसैले वैद्य बाजेबजैले भने होलान् औषधि साधिसकेपछि भुइँमा राख्नै हुन्न हातको हातै खुवाउनुपर्छ ।
यी माथिका सोचअनुसार यो भनाइलाई निकै सान्दर्भिक र महत्त्वपूर्ण मान्नुपर्छ । यो कुरालाई जडीबुटीबाहेकका औषधिका लागि पनि लागू गर्नुपर्छ ।
मन्त्र प्रचार गरे मन्त्रले काम गर्दैन–
मन्त्रको शक्ति आत्मविश्वासमा रहेको हुन्छ । शङ्का उपशङ्काले मन्त्र नाश गर्छ (संदिग्धोहि हतो मन्त्रो व्यग्रचित्तो हतो जपः । (श्रीमद्भागवत् माहात्म्य) भनिएको छ । मन्त्र खुलमखुला भए त्यसको बारेमा कुुरा काटिने खिसी गरिने हुन सक्छ भनी यसो गरिएको हुनसक्छ । हाम्रो लोकविद्या, तन्त्रविद्याका मन्त्रहरू सुन्दै हाँसो उठ्दा भएकोले पनि यसो गरिएको हुन सक्छ । उदाहरणका लागि सड्के मर्केमा फुक्ने मन्त्र यस्तो छ– ॐ आज गोरु कहाँ गए ? सुना खेत किन गए ? करक झार्न मरक झार्न, ठक्कर लागेको झार्न, सात समुद्र पार तार्न । जय ईश्वर महादेव की वाचा, फू मन्तर की वाचा । यो मन्त्रको अर्थसङ्गतिहेर्ने हो भने एक्कासी गोरु कहाँ गए भनिनु, सुनाखेतमा गोरुले के कसरी करक मरक झार्लान् र ? करक मरकलाई सात समुद्र पार तार्ने क्षमता कसरी प्रमाणित छ र ? … आदि आदि । यो उदाहरण खिसीको सन्दर्भका लागि नलिएर हाम्रो लोकविश्वास कस्तो छ भन्ने सन्दर्भका लागि प्रस्तुत गरिएको हो ।
उपसंहार— माथिका सन्दर्भहरूले संसारका सबै ठाउँमा आआफ्नै खालका लोकविश्वासहरू हुन्छन् भन्ने कुरा देखायो । तत्कालीन समसामयिक सन्दर्भहरू समयको फेरबदलसँगै असान्दर्भिक हुनपुग्छन् । यो परिवर्तशील जगतको नियम हो । तर वर्तमान समयमा असान्दर्भिक भएका मान्यतालाई पनि हुबहु पछ्याइरहनु अन्धविश्वासी बन्नु हो ।
‘पुराणमित्येव न साधु सर्वं, नवीनमित्येव नचाप्यवद्यम्’ भन्नुको अर्थ पुरानू कुरा भन्दैमा सबै राम्रो हँुदैनन् र नयाँ सबै निन्दनीय पनि हँुदैनन् अनि यसको ठीक उल्टो पनि । विश्लेषण र तर्कवितर्क नगरी न सकारात्मक दृष्टिकोण बनाउन ठीक छ न नकारात्मक । लोकविश्वास हाम्रो अति बहुमूल्य प्राचीनतम बौद्धिक सम्पत्ति हो । यसलाई प्यारो गर्नुपर्छ तर यसलाई सधै सकारात्मक भएर ‘किन संस्कृति’ ले धोईपखाली गरेर स्वीकार्ने बानी बसाल्नुपर्छ र यसलाई अन्धपरम्परा हुनबाट रोक्नुपर्छ । यो आजको आवश्यकता हो ।