© २०२३
वैदेशिक रोजगार नीति, २०६८ जारी गरेको १३ वर्ष पुगिसक्दा सरकारले वैधानिकरूपमा विश्वका एक सय ११ मुलुकमा रोजगारका लागि श्रमस्वीकृत दिएको छ । तर, व्यक्तिगत पहलमा भने विश्वका एक सय ७८ मुलुकमा नेपालीहरू कामका लागि विदेश पुगेको मानिन्छ । आन्तरिक रोजगारीको विकल्पका रूपमा नेपाली नागरिकलाई अवसर प्रदान गर्ने गरी यस्तो नीति ल्याइएकोमा हाल रोजगारीको प्रमुख विकल्प नै वैदेशिक रोजगारी बन्न पुगेको छ ।
अर्थिक वर्ष २०८१÷८२ को पहिलो दुई महिनाको तथ्याङ्क हेर्ने हो भने वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङख्या एक लाख १७ हजार ६८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या एक लाख ६ हजार ४ सय ५९ रहेको थियो । वैदेशिक रोजगार विभागका अनुसार आव २०८०÷८१ मा सात लाख ४३ हजार ५९७ जना श्रम स्वीकृति लिएर विदेसिएका थिए । हालसम्म वैदेशिक रोजगारीमा जानेहरूको तथ्यांक करिब ६० लाख पुगेको मानिन्छ ।
वैदेशिक रोजगारीको उज्यालो पक्ष
वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या दिनप्रति दिन बढ्दै जाँदा नेपालमा रोजगारीको चाँपलाई केही कम गर्न सहयोग पुगेको छ । यसले गर्दा सरकारको टाउको दुःखाई पनि कम भएको छ । वैदेशिक रोजगारीका कारण विप्रेषण आय बढ्दो छ । त्यसैले मुलुकको बाह्य क्षेत्र बलियो देखिन्छ । यही कारणले बैंकिग क्षेत्रमा तरलता पर्याप्त रहने र कर्जा लगानीका अवसरहरू रहने हुन्छ ।
नेपालले आर्थिक वर्ष २०५१÷५२ देखि मात्र वैदेशिक रोजगारमा जाने नेपाली र प्राप्त विप्रेषणको अभिलेख राख्ने गरेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्ने हो भने २०५१÷५२ मा विप्रेषण आय दुई अर्ब १५ करोड रहेकामा चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो दुई महिनाको तथ्याङ्क मात्रै हेर्ने हो भने पनि विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भई २ खर्ब ६३ अर्ब १४ करोड रुपियाँ पुगेको छ । जबकि अघिल्लोवर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो । यही कारणले गर्दा कुल विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशतले वृद्धि भइ २१ खर्ब ५२ अर्ब ५३ करोड रुपियाँ पुगेको छ । आर्थिक वर्ष २०८१÷८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यस हिसाबले गर्दा नेपालको बाह्य क्षेत्र बलियो बनेको देखिन्छ । यसको एउटै कारण भनेको विप्रेषण आय नै हो ।
न्यून उत्पादन र कमजोर निर्यात भएकाले नेपाली अर्थतन्त्रका निम्ति आयात बाध्यता र एक मात्र विकल्प बन्दै गएको छ । यही कारणले गर्दा गत आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने कुल वस्तु व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड रहेको देखिन्छ । यसरी आयातका निम्ति स्रोतको जोहो पनि विप्रेषणबाटै सम्भव भएको छ । यतिमात्र होइन, गरिबी निवारण गर्न, आय असमानता कम गर्न, शिक्षाको पहुँच विस्तार गर्न, ग्रामीण अर्थतन्त्रलाई चलायमान गराउन विप्रेषणको महत्वपूर्ण भूमिका रहन्छ ।
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले कृषि, घरेलु तथा साना उद्योग र पर्यटनका क्षेत्रमा पनि योगदान पु¥याउँदै आएका छन् । स्वदेश फकिँदा उनीहरूसँगै आएको अनुभव र सीपलाई सदुपयोग गर्नेहरूको सङ्ख्या पनि बढ्दो छ । गाउँहरू सहरीकरण हुने र सहरहरू थप विकसित बन्ने क्रम बढ्दो छ । मुलुकमा शिक्षा, स्वास्थ्य लगायतका सेवा क्षेत्रको विकासमा पनि विप्रेषणको महत्वपूर्ण योगदान रहेको देखिन्छ ।
वैदेशिक रोजगारीको अध्यारो पक्ष
वैदेशिक रोजगारीका कारण गाउँ रित्तिदैँ छन् । श्रीमान् विदेश जाने र श्रीमती छोराछोरीको शिक्षाका लागि सहर पस्ने परम्परा बढ्दो छ । यसले एकातिर बुढा भएका बाबु आमाहरूका निम्ति सहाराको अभाव खड्किँदै गएको छ भने अर्काेतिर बच्चाहरूले उचित अभिभावकत्व प्राप्त गर्न सकेका छैनन् । देखासिकी प्रभावका कारण विदेशमा दुःखजिलो गरेर कमाएको रकमको पनि सदुपयोग हुन सकेको छैन । कतिपय अवस्थामा त लामोसमय विदेश बसेर फर्केको श्रीमान्ले घर फर्किंदा न श्रीमती पाउँछन् न आफूले पठाएको पैसा नै पाउने गरेका छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार ४ लाख ७२ हजार ५ सय १६ घरधुरी रित्ता छन्, जहाँ कोही पनि मानिस छैनन् । धेरैजसो ग्रामीण भेगका घर रित्तिदै गएका छन् । चाडर्पमा रौनक देखिने गाउँघको अवस्था सुनसान बन्दै गएको छ । तथ्याङ्कगतरुपमा हेर्ने हो भने ३४ वटा जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक छ । सडक र सञ्चारले गाउँलाई सहरसँग जोड्दै गएको छ । तर, गाउँमा बस्नेहरू नै गाउँ छोड्दै सहर पस्दैछन् । गाउँको विकासको परिणाम उपभोग गर्नेहरू छैनन् ।
वैदेशिक रोजगारीका कारण गाउँ युवाविहीन बन्दै गर्दा जमिनहरू बाँझो भूमिमा रुपान्तरित भइरहेका छन् । कृषि एवम् उद्योग क्षेत्रमा श्रमिक पाउन गारो हुँदै गएको छ । कतिपय स्थानहरूमा कृषि कार्यका लागि पनि सीमानापारिबाट श्रमिक ल्याउनुपर्ने अवस्था आएको छ । त्यतिमात्र होइन लामो समयसम्म घर नफर्कंदा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका घटनाहरू पनि बढ्न थालेका छन् ।
रोजगारीका लागि विदेश पलायन हुँदा देश र परिवारबाट टाडिएर बस्नुपर्दाको दुःख पीडा एकातिर छँदै छ । अर्काेतिर अधिकांशले गर्ने काम जोखिमयुक्त, तुलनात्मक हिसाबले अनाकर्षक र शोषणपूर्ण रहेको देखिन्छ । काम गर्दा अङ्गभङ्ग हुने, विभिन्न किसिमका जीर्ण रोगहरू लागेर फर्कनुपर्ने जस्ता पीडाहरू मात्र छैन । ज्यानको समेत जोखिम मोल्नु परेको छ । वैदेशिक रोजगारीले सामाजिक एवम् संस्कृतिक विचलनसमेत ल्याएको देखिन्छ । त्यसैले विप्रेषणको आर्थिक पक्ष मात्र होइन, सामाजिक पक्षबारे पनि बहस गरिनु आवश्यक देखिन्छ ।
पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने वैदेशिक रोजगारीमा गएकामध्ये पाँच हजार आठ सय दुई जनाको ज्यान गएको छ । उनीहरूमध्ये चार हजार सत्र जनाको शब मुलुक फिर्ता ल्याइएको तथ्याङ्क छ । त्यसैगरी अङ्गभग भई फर्कनेहरूको सङ्ख्या पनि बढ्दो छ । उर्जावान युवा समय विदेशी भूमिमा रगत पसिना बगाएर बुढेसकालमा स्वदेश फर्कने बृद्धहरूका निम्ति राज्यले बृद्ध भत्ता व्यहोर्नुपर्ने परिस्थितिले मुलुकको आर्थिक अवस्थामा सकारात्मक प्रभाव पार्न सक्दैन ।
पछिल्लो समय मुलुकमा वैदेशिक मुद्रा आर्जनका निर्यात र पर्यटनजस्ता अन्य श्रोतहरू खुम्चिदै गएका छन् भने प्रमुख श्रोतको रुपमा वैदेशिक रोजगारी स्थापित हुँदै गएको छ । यही कारणले कृषि क्षेत्रको विकास हुन सकेको छैन भने उद्योग क्षेत्र पनि धरासायी बन्दै गएको छ । मुलुक विप्रेषणमा निर्भर हुँदै गएकाले नेपाल पनि “डच रोग” को सिकार बन्दै गएको आभाष हुन थालेको छ । यहाँ सम्मकी निजी क्षेत्रको माग घट्नुमा पनि स्वदेश बस्ने जनसङ्ख्या घट्दै जानुलाई लिन थालिएको छ ।
समस्या समाधानको पाटो
नेपाली अर्थतन्त्रको मुख्य चासो भनेकै विप्रेषण आयलाई कसरी उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्ने भन्नेतिरै रहनु पर्दछ । यसका लागि सरकारले नीतिगत रुपमै व्यवस्था गर्नु जरुरी छ । ‘विप्रेषण बण्ड’ मार्फत् विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्न सकिन्छ । वैदेशिक रोजगारीमा जानु अघि स्वास्थ्य परीक्षण अनिवार्य गरिएझै वित्तीय शिक्षालाई पनि अनिवार्य गरिनु पर्दछ । यसैगरी कृषि एवम् उद्योग क्षेत्रमा लगानी वृद्धि गरी रोजगारीका अवसरहरूको सिर्जना गर्नुपर्दछ । बैदेशिक रोजगारीबाट फर्केकाहरूलाई स्वदेशमै रोजगारमूलक व्यवसाय गर्न उत्प्रेरित गर्नु आजको आवश्कता हो ।
देशमा मानव संसाधन व्यवस्थापन नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउन अति जरुरी देखिन्छ । यसबाट बैदेशिक रोजगारीबाट सिर्जित समस्याको उचित सम्बोधन गरी प्राप्त अवसरको उपयोग गर्नेतर्फ सबै सरोकारवालाको प्रतिबद्धता आवश्यक छ । मुलुकको अर्थतन्त्र बैदेशिक रोजगारीमै निर्भर हुँदा स्वदेशी उत्पादन हतोस्तासिहत हुँदै गएको छ । युवाहरूलाई स्वदेशमै टिकाउन उनीहरूमा उद्यमशीलताको विकास गर्नु आवश्यक छ । यसका लागि उनीहरूलाई सीममूलक शिक्षा दिई सहज वित्तीय स्रोतको उपलब्धता सुनिश्चित गरिनु पर्दछ । यसका निम्ति देशमा राजनैतिक स्थिरता जरुरी हुन्छ । साथै सरकारको नेतृत्व एवम् प्रतिपक्ष सबैले अर्थतन्त्रप्रति चिन्ता र चासो बढाउनु पर्दछ । खासगरी वैदेशिक रोजगारीको विकल्पको रुपमा स्वदेशमा पर्यटन, उर्जा र कृषि क्षेत्रको विकास गर्न दीर्घकालीन रणनीति बनाउनु पर्दछ । यसका निम्ति यी क्षेत्रहरूमा पूँजी लगानी बढाउनुका साथै प्रविधि आयातलाई पनि प्रोत्साहन गर्नु पर्दछ । [email protected]