© २०२३
नेपालमा भर्खरै उपनिर्वाचन सम्पन्न भई यसको परिणाम पनि आइसकेको छ । आमनिर्वाचन २०७९ साल मङ्सिर ४ मा सम्पन्न भई निर्वाचित संघ एवम् प्रदेशका सांसदहरूको निधन हुँदा रिक्त भएका दुई स्थानमा उपनिर्वाचन भएको थियो । अर्थात् नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङ्ग निर्वाचित भएको इलाम जिल्लाको प्रतिनिधि सभा अन्तर्गतको क्षेत्र नं. २ उनको हृदयाघातका कारण २०८० भाद्र २६ गते निधन हुँदा यो क्षेत्रको सांसद पद खाली भएको थियो भने नेपाली काङ्ग्रेसका नेता एवम् सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह निर्वाचित भएको बझाङ्ग जिल्लाको प्रदेश सभा अन्तर्गतको क्षेत्र नं.१ सवारी दुर्घटनाका कारण उनको २०८० साल असार ५ गते निधन हुँदा यो क्षेत्रको सांसद पद खाली भएको थियो । भर्खर सम्पन्न निर्वाचनमा इलामको क्षेत्रबाट स्व. सुभाषचन्द्र नेम्वाङ्गकै पुत्र सुहाङ् नेम्वाङ् नेकपा एमालेको उम्मेदवार भई निर्वाचित भएका छन् भने बझाङ्गको क्षेत्रबाट पनि नेकपा एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । इलामको क्षेत्रमा आफ्ना बुवासँग झिनो मतको अन्तरले पराजित उम्मेदवार नेपाली काङ्ग्रेसका डम्मरबहादुर खड्कालाई यसपटक लगभग छ हजार मतको अन्तरले पराजित गरेका हुन् भने बझाङ्गको क्षेत्रमा करीब चार हजारको अन्तरले विजयी स्वर्गीय बुबाको स्थानबाट उनकै छोरा अभिषेकबहादुर सिंह झिनो मतान्तरले पराजित भएका छन् । स्मरणीय कुरा के छ भने २०७९ को प्रतिनिधि सभा एवम् प्रदेश सभा दुबै निर्वाचनमा एमाले एक्लै लडेको थियो भने नेपाली काङ्ग्रेसले नेकपा माओवादी र एकिकृत समाजवादीसँग गठबन्धन गरेको थियो ।
भरखर सम्पन्न निर्वाचनले हामीहरूलाई केही सन्देशहरू दिएको गएको छ । पहिलो सन्देश भनेको कुनै कुनै पार्टीहरूले अहिले पनि यति सानो देशमापनि पहिचानका कुरा गर्दै प्रदेशका नामकरण गर्दा समेत संकुचित नाम राखी यहाँका मिलेर बसेका जनताहरूलाई फुटाउने खालको जुन प्रयास गरे उनीहरूलाई जनताले तिरस्कार गर्ने नै रहेछन् । ती चाहे पार्टीका रूपमा आउन् चाहे स्वतन्त्र रूपले किन नआउन् । त्यस्तै यी बोझिला प्रदेश नै भरसक सदाकालागि खारेज होउन् या भइरहे भनेपनि देश विकासकालागि विकेन्द्रीकरण गरिएका विकास क्षेत्र जस्तै देशलाई आर्थिक रूपमा कम असर गर्ने खालका महङ्गा जनप्रतिनिधिविनाका सबै जनताको प्रतिनिधित्व गर्ने नाममा होउन् भन्ने देखियो । फिरङ्गी इतिहासकारका भाउँतामा लागेर प्रदेशको एउटा सामान्य नामकरणको विषयमा देश नै अशान्त पार्नेहरूलाई जनताले ठेगान लगाउने रहेछन् भन्ने सन्देश प्राप्त भयो । अर्को सन्देश नेपाली काङ्ग्रेसलाई विशेषरूपले आयो । विपिको विचारलाई तिलाञ्जली दिएर सिद्धान्त नै नभएको देश विखण्डन गर्न ल्याइएको पार्टीको पिछलग्गु भएर सरकारमा गएर ऐश आराम गर्दाको फल प्राप्त भयो । अझ कोशीमा त आफैले पारित गरेको नाममा आफुले नै बनाएको सरकारका पालामा त्यत्रो आन्दोलन मच्चिँदा समेत आन्दोलन गलत हो भन्नुको साटो त झनै आन्दोलनको मौन समर्थन गर्दा जनताले पछाडि पारिछाडे । कोशीको असर काङ्ग्रेसले गाढा रूपमै बझाङ्गमा देख्यो । एमाले, माओवादी र एकिकृत समाजवादी एक्लै लड्दा पनि आफ्नो विरासत जोगाउन सकेन । यो सबै सरकारमा बस्दा जसो पनि गरेर निदाएर बस्ने अनि सरकारबाट च्युत भएका दिनबाट यसले र त्यसले राजीनामा दिनुपर्दछ भनी अराजक भएर निस्कनुको परिणाम पनि हो । सनातनदेखि चलिआएको यहाँका स्वधर्म, स्वसंस्कार, स्वसंस्कृति सहितको आर्थिक एवम् सामाजिक विकास गर्नुको साटो सधैँ सत्ता केन्द्रित भएर विपिको विचारलाई कुल्चेर चोर, फटाहा सबैलाई जोगाउँदै तीसौँ वर्षदेखि राजनीति गर्ने अनि अहिले आएर एक महिनापनि सरकारमा नबसेको पार्टीले उनीहरूले विगारेका सबै कुरा एकै दिन सुधार्नुपर्दछ भनी लगाएको असुहाउँदो नाराको कारणले पनि यस अवस्थामा जनताले काङ्ग्रेसलाई पु¥याएका हुन् । त्यस्तै यस निर्वाचनमा रास्वपाले उमेदवार उठाउने सिलसिलामा केही कमजोर व्यक्तिलाई अगाडि सारेर गठबन्धनको नुनको सोझो गरेको भन्ने पनि भेटिन्छन् । ती विश्लेषकका अनुसार उसले रमेश प्रसाईजस्ता प्रभावशाली व्यक्तिलाई नउठाई पूर्व माओवादीलाई उठाई एमाले उमेदवारलाई सजिलो पार्ने काम ग¥यो भन्ने पनि भेटिएका छन् । तर, उनीहरूको शंका ठिक नठहरिएमा रास्वपाले केही सन्देश भने प्राप्त गरेको देखिन्छ । विना संगठन र विना नीति नियम त्यसै हावाका भरमा जनताले पत्याउने वाला पनि छैनन् । नयाँ जागरूक उमेदवारको साटो उही पुरानै पार्टीबाट नयाँ कपडा लगाएर नयाँ जस्तो देखिएर आएकालाई जनताका माझ पु¥याउँदा जनताले तिरस्कार गर्नेछन् । अनि त्यसैगरेर विदेशीले सिकाएका भरमा पहिचानका अनावश्यक नारा लगाएर जनता फुटाउँदै देश नै विभाजन गरी राज गर्ने अभीष्ट नीति भएकाहरूमा पनि जनताको नजर परेको देखिएन । उनीहरूको जनता झुक्याउने नीतिपनि फेल खाएको देखियो ।
त्यस्तै नेकपा एमालेलाई पनि जनताले केही सवक सिकाएरै पठाएका छन् । विजयी नै भएपनि पहिले एक्लै इलाममा आएको मत अहिले माओवादी आदि पार्टीको सहयोग हुँदा समेत आउन सकेन । त्यस्तै तेह्र हजारभन्दा बढी मत ल्याउँदा समेत विजयी हुन नसकेका एमालेका उमेदवार अहिले बाह्र हजार मत नल्याउँदा पनि विजयी त भए र पनि प्राप्त भोट संख्या भने घटेको छ । तर पनि एमालेका एकमात्र बलिया खम्बा केपी ओलीको एक्लो प्रयासबाटै बाँचेको एमाले उनको अनवरत पार्टीप्रतिको बफादारिताका कारणले यसरी विजय पद प्राप्त गराएको देखिएको छ । कोशी प्रदेशका नाममा भएको आन्दोलनका समयमा पार्टीहरूका केही जिम्मेवार सदस्यहरूले समेत आफैले पारित गरेको नामलाई परिवर्तन गर्नुपर्दछ भन्ने विचारकाविरुद्ध एक्लै लडेका केपीको त्यतिखेरको अडान पनि यतिखेरको जितको कारण बन्नपुग्यो । देशभक्त नेपालीहरूको मागलाई केही सामान्य नजर लगाएकै गरेकै भरमा यतिखेरको जितको कारण बन्यो । जनताले पनि विकल्पै नभएपछि के गर्ने त केही तैविसेक त रोज्नै प¥यो । त्यसैले अन्त्यमा देशको नेतृत्व गर्ने निर्वाचनमा पार्टीहरूका आ–आफ्नै नीति भएपनि देशको अखण्डता र राष्ट्रियताको सिलसिलामा सही निर्णय लिन सकेनन् भने देशका जनता अब लाटा भएर बस्ने छैनन् । नयाँ नेपालका नाममा हुने गरेका विखण्डनका नाराहरू पनि जनताले जानिसकेका छन् । धार्मिक स्वतन्त्रताका नाममा हुने गरेका देशका धर्मछाडाहरूको कर्के नजरलाई पनि जनताले पत्याउनेवाला छैनन् । एवमेव अगाडी फोटो चाहिँ राष्ट्रभक्तको राखेर जनतालाई झुक्याउने अनि कामचाहिँ तिनै विखण्डनकारीका पुच्छर हुने त्यस्तालाई पनि जनताले टेरपुच्छर लगाउनेवाला छैनन् । त्यसैले जनतालाई कुनैपनि पार्टीहरूले वेकुफ बनाउने काम नगरून् । तिमीहरूले विदेशीका भाउँतामा विखण्डनका नारा लगाएर के गर्ने, जनता मिलेरै बस्न चाहेका छन् ।