© २०२३
वैशाख १ गतेदेखि मीन राशिमा रहेका गणितागत सूर्य मेषराशीमा प्रवेश गर्दछन् । सूर्य मेष राशिको क्षेत्रमा प्रवेश गर्ने समयसँग सम्बन्धित दिनलाई मेष सङ्क्रान्तिवा वैशाखे सङ्क्रान्ति भनिन्छ भने मेष राशिभरि सूर्य बस्ने दिनको अवधिलाई वैशाख महिना भनिन्छ । यसैगरेर १२ राशिसँग सम्बन्धित १२ सौर महिनाहरू हुन्छन् । यी महिनाका नामपनि त्यसै हचुवाका भरमा राखिएका होइनन् । विशाख नक्षत्र वा त्यस नजिकको नक्षत्र र पूर्णिमाको संयोग भएको आधारमा चान्द्रमास र सौरमासका लागि वैशाख भन्ने नाम रहन गएको हो । अर्थात् वैशाख महिनाका पूर्णिमामा चन्द्रमा विशाखा वा त्यस नजिकका नक्षत्रमा रहन्छन् भन्ने हो । यसैगरी ज्येष्ठ आदि महिनाका नाम रहन गएका हुन् । सृष्टिको पहिलो दिनदेखि नै मानिँदै आएको यस दिनको अत्यन्तै महत्व रहँदै आएको छ । सृष्टिको पहिलो दिनको सुरुवात कुन समयमा भयो भन्ने कुरालाई पौरस्त्य जगत्का गणितज्ञ भास्कराचार्यले यसरी लेखेका छन् – लङ्कानगर्यामुदयाच्चभानोस्तस्यैव वारे प्रथमं बभूव । मधोः सितादेर्दिनमासवर्षयुगादिकानां युगपत् प्रवृत्तिः । अर्थात् शून्यअंश अक्षांश भएको स्थान लङ्कानगरीमा ठ्याक्क सूर्योदय समयमा सूर्य‚चन्द्र‚मङ्गल‚बुध‚ बृहस्पति आदि सबै ग्रह मेष राशिको बिन्दुमा भएको अवस्थामा आइतवारका दिनदेखि सृष्टिको सुरुवात भयो र सबै ग्रहहरू आ– आफ्ना गतिले घुम्न थाले । अतः हामीले यस कुराबाट के कुराको ज्ञान ग¥यौँ भने त्यो सृष्टिको सुरुवात भएको चैत्रशुक्ल प्रतिपदाका दिनबाटै चैत्रनामको चान्द्रमासको सुरुवात भएको रहेछ । मेषादिबिन्दुमा सूर्य भएकाले वैशाख सौरमासको पनि त्यसै दिनबाट सुरुवात भएको रहेछ भने मेषादिबिन्दुमै बृहस्पति भएकोले प्रभव नामको पहिलो संवत्सरको पनि उक्त दिनदेखि नै सुरुवात भएको रहेछ । तर अहिले आएर चैत्रशुक्ल प्रतिपदा र वैशाख संक्रान्ति हुने समय फरक फरक दिनमा पर्ने गरेका छन् । यसको कारण भनेको सौरवर्ष र चान्द्रवर्षका दिनमा हुने विषमता हो । अर्थात् सौरवर्ष ३६५ दिन र केही समयको हुन्छ भने चान्द्रवर्ष मोटामोटी ३५४ दिनको हुन्छ । यसकारण सौरवर्ष‚चान्द्रवर्षभन्दा लगभग ११ दिन ढिला पूरा हुने हुन्छ । यो अन्तर बढ्दै जाँदा मोटामोटी ढाई वर्षमा एक महिनाको अन्तर पर्न जान्छ । यसैलाई ज्योतिषीहरूले अधिमास भनेर नामकरण गरेका छन् । अतः यहाँसम्मको कुराले हामीले अधिमास परिसकेपछिको चैत्रशुक्ल प्रतिपदा र मेष सङ्क्रान्तिमा अन्तर कम हुने र अधिमास पर्नभन्दा पहिलेको चैत्रशुक्ल प्रतिपदा र मेष सङ्क्रान्तिमा अन्तर बढी हुने रहेछ भन्ने बुझियो । यसै अनुसार नै २०८० सालको श्रावणमा अधिमास परेका हुनाले यस २०८१ सालको मेष सङ्क्रान्ति र सङ्क्रान्तिभन्दा केही दिन अगाडि परेको चैत्रशुक्ल प्रतिपदाको अन्तर जम्मा चार दिनको मात्र थियो भने अबको वर्ष यस किसिमको अन्तर पन्ध्र दिनको हुनेछ । त्यस्तै २०५८ र २०७७ सालमा अधिमास परेकाले यस किसिमको अन्तर यसपछिका वर्ष २०५९ र २०७८ मा जम्मा एक दिनको मात्र थियो । यहाँसम्मको विषयबाट हामीले सृष्टिको पहिलो दिन एकै दिन भएका मेष सङ्क्रान्ति र चैत्रशुक्ल प्रतिपदा चान्द्रवर्ष र सौरवर्षको दिनको विषमताले फरक फरक दिनमा परेतापनि अधिमासले यिनलाई एकै स्थानमा पनि ल्याउने रहेछ भन्ने बुझ्यौँ ।
त्यस्तै बृहस्पतिको राशि सङ्क्रमण मध्यममान (मोटामोटी मान) ले जानिने हुनाले बृहस्पतिको संक्रमणलाई चैत्रशुक्ल प्रतिपदादेखि नै मानी हामीले नयाँ संवत्सर मानेका हौँ । मध्यममानले मानिएकाले प्रत्येक वर्ष चैत्रशुक्ल प्रतिपदाबाटै नयाँ संवत्सरको थालनी भएको हो । भारतमा मुसलमान र अंग्रेजको शासनकालमा हाम्रा धेरै विद्याका परम्परा हराएका हुनाले भारत देशमा बसोबास गर्नेहरूले मान्ने धेरै कुरा हामीसँग नमिलेका जस्ता पनि देखिन्छन् । त्यसैले उनीहरूले मेष सङ्क्रमणकाललाई खासै महत्त्व नदिई चैत्रशुक्ल प्रतिपदालाई नै हिन्दु नववर्ष भन्दै मानेको देख्यौँ । माथिको कुरा अनुसार त्यसरी मान्नु गलत त भएन तर हिन्दू नववर्ष भन्दै गर्दा मेष सङ्क्रमण हुने दिनलाई भुल्नुलाई भने गलत भन्न सकियो । उनीहरूले चान्द्र महिनाको सुरुवाती चरणलाई वर्ष परिवर्तनको रूपमा मनाए भने विशेषतः हामी नेपालीहरूले सौरमहिनाको सुरुवाती चरणलाई वर्ष परिवर्तनको रुपमा मनाउँदै छौँ ।
त्यसैले निष्कर्षमा भन्नुपर्दा माथिको विषयबाट हामीलाई के कुराको ज्ञान भयो भने सृष्टिको पहिलो दिन एउटै बिन्दुमा रहेका चैत्र शुक्ल प्रतिपदा र वैशाखे संक्रान्ति अहिले आएर भिन्नभिन्न समयमा भएका रहेछन् । त्यसैले यी कुनैपनि दिनबाट नववर्षारम्भ भएको मान्नु यसो स्थूल बुद्धिले सोँच्दा उपयुक्त हुने नै देखिन्छ । तर यसो फेरी सूक्ष्म बुद्धिले विचार गर्दा स्थिर बिन्दु त वैशाख १ नै हो । चैत्र शुक्ल प्रतिपदा त अस्थिर बिन्दु हो । जुन यताउता यताउता सरिरहन्छ । कालान्तरमा दृश्य मेषसंक्रान्ति, चैत्रशुक्लप्रतिपदाएवम् गणितागत मेषसंक्रान्ति त एकै समयमा नै पर्ने हुन् । अर्थात् अस्थिर बिन्दुहरू चैत्र शुक्लप्रतिपदा र दृश्य मेषसंक्रान्ति त स्थिर बिन्दु गणितागत मेष संक्रान्तिमा आएर मिल्ने नै हुन् । त्यसैलेपनि प्राचीन सूर्य सिद्धान्तका आधारमा रचना गरिएको भन्ने भास्वती नामको ग्रन्थमा शतानन्दले अहर्गण साधन गणितागत मेष संक्रान्तिको दिनको तिथिबाटै गरेका छन् । त्यति मात्र नभएर नेपालमै नेपाली गणक लक्ष्मीपति पाँडेद्वारा रचना गरिएको रत्नदीप नामको ग्रन्थमा पनि मेष सङ्क्रान्तिदेखि नै अहर्गण साधन गरिएको छ ।
अतः भारतमा जस्तै चैत्र चान्द्र महिनाको पहिलो तिथिबाटै मात्र नववर्षारम्भको सुरुवात भएको भनेर रङ्गिँदा विग्रेकै त केही होइन तर म्लेच्छ र यवनहरूको प्रकोपबाट हाम्रा धेरै शास्त्रहरूको रक्षा गर्न पुगेका हाम्रा पितापुर्खाले मान्दै आएको सूर्यको मेष संक्रमणकालबाटै सौर नववर्षारम्भ र चैत्रशुक्ल प्रतिपदाबाट चान्द्र नववर्षारम्भको सुरुवात मानी मनाउँदा अझै उपयुक्त हुने देखिन्छ । इति शम् । सौरमान अनुसारको नववर्ष २०८१ को सबैमा हार्दिक मङ्गलमय शुभकामना टक्र्याउँछु ।