© २०२३
विराटनगरमा रहेको एमएम प्लाष्टिक उद्योगमा साउनको अन्तिम साता आगलागी हुँदा करिब तीन करोड रूपैयाँ बराबरको क्षति भएको थियो । झापा मेचीनगर नगरपालिका–१२ स्थित प्राकृतिक रबर उद्योगमा मङ्सिर ८ गते आगलागी हुँदा रु ३५ लाखको क्षति र १० टन कच्चा पदार्थ नोक्सान भएको केही समयपछि मङ्सिर १७ गते नेपाभिट ब्राण्डको टायल उत्पादन गर्दै आएको जीतपुरसिमरा–८ स्थित नेपाल सेरामिक इण्डष्ट्रिजमा आगलागी हुँदा करोडौको क्षति भयो । झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको देशकै ठूलो प्लाई उद्योगमा फाल्गुन २८ गते आगलागी हुँदा करोडौ रूपैयाको कच्चा तथा उत्पादित पदार्थ र मेशिनरीमा क्षति पुगेको थियो, त्यो आगो निभाउन ७ वटा दमकललाई आधा दिन लागेको थियो । यसैगरि चैत्र २४ गते ललितपुरको हात्तीवनस्थित एक सोफा उद्योगमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । व्यवसायिक क्षेत्रमा यो वर्ष भएका केहि आगलागिका यो प्रतिनिधिमुलक घटना मात्र हुन् । पछिल्ला १२ महिनाका समाचारहरूलाई अध्ययन गर्दा नेपालका विभिन्न जिल्लाहरूमा रहेका विभिन्न किसिमका उद्योग व्यवसायिक प्रतिष्ठानमा २५ लाख भन्दा बढी क्षति पु¥याएका ८० भन्दा बढी आगलागीका घटनाहरू भएको देखिन्छ । साना पसल र उद्योगहरूमा भएको तथा ५ लाख भन्दा कम क्षती भएका आगलागीहरूलाई गणना गर्ने हो भने यो संख्या २०० को हाराहारीमा पुग्छ ।
नेपालमा औद्योगीकरणको शुरुवात भएको ९ दशक भैसकेपनि औद्योगीकरणको गति निकै सुस्त छ । यति हँुदाहँुदै पनि २०७९ फाल्गुन मसान्तसम्म नेपालमा उद्योग विभागमा ८ हजार ९ सय ४७ उद्योग दर्ता भएका छन् र यी मध्ये ३७.४ प्रतिशत उत्पादनमुलक उद्योगहरू रहेका छन् । त्यसैगरी घरेलु तथा साना उद्योग विभाग र समिति अन्तर्गत देशभर ६ लाख ७३ हजार २४४ उद्योगहरू दर्ता भएका छन् (आर्थिक सर्वेक्षण २०७९/२०८०) । औद्योगिक विकास सुस्त भएपनि नेपालमा साना ठूला व्यापारिक प्रतिष्ठानहरूको संख्या तीव्रदरमा वृद्धि भैरहेको छ । सबै नगरपालिकाहरू र नगरोन्ंमुख क्षेत्रमा विभिन्न किसिमका व्यापारिक प्रतिष्ठानहरू वर्षेनी थपिदै गएका छन् । औद्योगिक र व्यापारिक प्रतिष्ठानहरू थपिदै गैरहदा नेपालमा ति प्रतिष्ठानमा हुने आगलागी समेत वर्षेनी बढ्दै गैरहेको देखिन्छ ।
नेपालमा व्यवसायिक क्षेत्रमा भएका अधिकांश आगलागीहरूमा विद्युत नै जिम्मेवार भएको देखिन्छ । विद्युत भोल्टेजमा हुने उतार चढाव, यान्त्रिक गडबडी र विद्युत चुहावटको कारणले आकस्मिक रूपले हुने आगलागीबाट उद्योग र पसलहरू आगलागीको जोखिममा परेको देखिन्छ । भोल्टेजमा हुने परिवर्तनले उपकरण र तारहरू जल्ने, विद्युतबाट चल्ने उपकरणहरू विग्रिएको वा विद्युत भोल्टेज थेग्न नसक्ने हुदा मेशिनहरू जल्ने , कमसल तार तथा कमजोर वायरिंगको कारणले सर्किटमा गडबडी भएर तार र बोर्ड जल्ने जस्ता कारणले अधिकांश व्यावसायिक प्रतिष्ठानमा आगलागी भैरहेको छ । यसबाहेक इन्धन दहन गर्ने भट्टी, बोइलर र ड्रायरको आगो छेउछाउमा फैलिदा समेत आगलागी भैरहेको छ । अधिकांश पसलहरूमा रातीको समयमा आगलागी हुने गरेको छ । यसो हुनुमा मानवीय कमजोरी नै मुख्य जिम्मेवार भएको देखिन्छ । पसल बन्द गर्ने बेलामा विजुली नहुदा विद्युतिय उपकरणहरू बन्द नगरि हिड्ने प्रवृति धेरै व्यापारीहरूमा छ । यसरि खुला राखिएका उपकरणमा रातिको समयमा एक्कासी उच्च भोल्टेजमा विद्युत प्रवाह हुदा आगो लाग्ने गरेको छ । त्यसैगरी लोड सेडिङ्गको बेलामा बालिएका मैनबत्ती, मच्छर धपाउन बालिएका धुपहरू निभाउन विर्सदा पनि त्यस्ता वस्तुबाट विस्तारै छेउछाउका वस्तुमा आगो सल्कदा पसलमा आगलागी हुने गरेको पाइन्छ । पेट्रोल, ग्यास, बारुद जस्ता प्रज्वलनशील पदार्थहरू भण्डारण र विक्री गर्ने प्रतिष्ठानहरूमा सामान्य आगोको झिल्का र चट्याङबाट समेत आगलागी हुने गरेको छ, तर यस्तो आगलागी अतिकम मात्रामा भएको देखिन्छ ।
व्यापारिक पसलहरूमा तुलनात्मक रूपले आगलागीको जोखिम कम हुने भएपनि उद्योगमा यस्तो जोखिम व्याप्त रहेको हुन्छ । व्यवसायिक क्षेत्रमा हुने आगलागीले उद्योगका मेशिनहरू, कच्चापदार्थ, उत्पादित पदार्थ र भौतिक संरचनामा मात्र नभई मानव संसाधनमा समेत अपुरणीय क्षति पु¥याउन सक्ने भएकोले व्यवसायिक प्रतिष्ठानमा आगलागीको जोखिम न्यूनीकरणलाइ औद्योगिक ऐन र श्रम ऐनले अपरिहार्य कार्य मानेको पाइन्छ । आगलागी हुन नदिने किसिमले भौतिक संरचना तयार पार्ने , उपकरणलाई दुरुस्त राख्ने, विद्युत सर्किटमा गुणस्तरीय सामाग्रीहरूको प्रयोग गर्ने, आगो टिप्ने वस्तुहरूलाई विद्युत स्पार्क हुने सम्भावित ठाउँभन्दा टाढा राख्ने व्यवस्था व्यवसायिक प्रतिष्ठानहरूले गर्नु आवस्यक मानिन्छ । ग्यास, पेट्रोलियम पदार्थ, प्लास्टिक, बारुद जस्ता प्रज्ज्वलनशील पदार्थ हुने उद्योग र व्यापारिक प्रतिष्ठानहरूले अनिवार्य रूपमा आगलागीको सुचना दिने अटोमेटिक यन्त्र र आगो निभाउने आधुनिक उपकरणहरूलाई सधै तम्तयार अवस्थामा राखेमा आगलागी भैहालेमा तत्कालै नियन्त्रण गरि क्षति न्यूनीकरण गर्न सकिन्छ । औद्योगिक व्यवसाय ऐन २०७३को दफा २२ ले उद्योगले जोखिम व्यवस्थापन र सुरक्षामा गरेको लगानीलाई करकट्टीमा सुविधा प्रदान गर्ने व्यवस्था गरेकोले अग्नि जोखिम व्यवस्थापन प्रणाली जडान गर्दा उद्योगलाई थप आर्थिक भार समेत पर्दिन । व्यवसायी र सरकारी निकाय मिलेर विशेष दक्षतायुक्त औद्योगिक अग्नि नियन्त्रकको व्यवस्था गर्ने हो भने आगलागी पछिको क्षतिलाई घटाउन सकिन्छ ।
उद्योग व्यवसायमा अहिलेसम्म अरबौ रूपैयाँ लगानी भएको छ तर अग्नि नियन्त्रणका सामान्य सावधानीहरू नअपनाउदा वर्षेनी धनजनको अपुरणीय क्षति हुने गरेको छ । व्यवसायिक क्षेत्रमा हुने आगलागीले व्यवसायीले मात्र नभएर समाजले नै ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । सामान्य सावधानी र पूर्वतयारी गरेर ठूलो लगानीका आफ्ना पसल, उद्योग, भौतिक सामग्री र प्रतिष्ठान नष्ट हुनबाट जोगाउन सकिने भएकोले अग्नि जोखिम व्यवस्थापनमा व्यवसायीहरूले विशेष ध्यान दिनु आवश्यक छ ।