© २०२३
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका –४ श्रृङ्गा रुक्सेका किसान डिल्लीराज कण्डेले आज भन्दा करिब ४ बर्ष पहिला सामान्य मौसमी खेती पाती गर्दथे । मौसमी रूपमा गहुँ, मकै बोहक अन्य खेतीतर्फ उनको खासै ध्यान गएको थिएन । तर अहिले कण्डेलको दैनिकी फेरिएको छ । उनी अहिले आफ्नो खेतबारीमा मकै, गहुँ मात्र होईन, टमाटर, सिमी, बोडी, तितेकरेला लगायतका विभिन्न तरकारी रोपेका छन् ।
यति मात्रै होईन घर वरिपरि झाडीमा रहेको सिस्नो कति पटक उनले फाँडेर सुकाएर आगो लगाएका छन् भने पाखाबारीमा रहेको ‘भुटुक’ पनि उनले वास्ता गर्ने गर्दैनथे । तर कण्डेल अहिले दैनिकजसो आफ्नो बारीमा रेखदेख गर्छन्, सिस्नो टिप्ने, भुटुक कति भयो भनेर अवलोकन गर्ने, तरकारी स्याहारसुसार गर्नुको अलवा बिक्री गर्नको लागि समूहमा आउँछन् । कारण हो पैंचो पसल । आज भन्दा करिब ४ बर्ष पहिला गाउँमा रहेका व्यक्तिहरूलाई व्यवसायिक किसान बनाउने उद्देश्यका साथ ‘बसे पनि सहर गाउँकै खाने रहर’ भन्ने मुल नारालिएर स्थापना भएको पंैचो पसल प्रा (लि) ले अहिले गुल्मीको छत्रकोट गाउँपालिकामा खेती किसान गर्ने लहर ल्याइदिएको छ । किसान कण्डेल भन्छन्–‘अहिले त केही चीज पनि खेर फाल्न मन लाग्दैन, सबै बिक्री हुन्छ ।’उनले सामान पैंचो पसललाई विक्रि गरेबापत नगदै हाल सम्म लिएका छैनन् । उनी भन्छन्–‘सामान दिए बापत सामान नै लिने गरेको गरेको छु, बर्षमा एक्लै ४०–५० हजार कमाउनको लागि कहिँ जानै पर्दैन, यहिँबाट घर गुजारा चलेको छ । ’ उनी जस्तै हुँगा का २५ बर्षिय भुवन खराल पनि ४ बर्षदेखि व्यवसायी कृषिमा लागेका छन् । गाउँमा नै कृषि क्षेत्रमा केही गर्न सकिन्छ भन्ने हेतुले उनले कृषि क्षेत्रमा हात हालेको बताउँछन् । युवा किसानको रूपमा पहिचान बनाएका उनले १२ रोपनी क्षेत्रफलमा मात्रै खुर्सानी रोपेका छन् । केही जग्गा आफ्नो र केही भाडामा लिएर उनले व्यवसायी तरकारी खेतीमा लागेका हुन । उनी भन्छन्–‘विदेश जान पनि सक्थँे, तर यहि नै आफ्नै माटोमा केही गर्नको लागि कृषि क्षेत्रमा हात हालेको हुँ ।’
उनले यस बर्ष खुर्सानी मात्रै ६ लाख रूपैयाँ बराबरको बिक्री गर्ने अपेक्षा लिएका छन् । हाल २२ हजार बोट खुर्सानी उनले रोपेका हुन् । यस्तै बन्दाको ५४ सय बोट रोपेका छन् भने काँक्रा २ हजार बोट छन् । जम्मा उनले २२ रोपनी क्षेत्रफलमा कृषि कर्म गर्दै आएका हुन् । विए दोस्रो बर्षमा पढ्दै आएका खरालले गत बर्ष ७ लाख रूपैयाँ टमाटर बिक्रीबाट मात्रै कमाउन सफल भएका थिए । गाउँमा नै ४ जनालाई रोजगारी समेत उनले दिएका छन् । टमाटर ९ हजार बोट रोपेका छन् । बार्षिक १० हजार रूपैयाँ तिर्ने गरी १२ विघा जग्गा उनले भाडामा लिएका छन् । पहिला नै किसानसँग पैचो पसलले सम्झौता गरेको कारण उत्पादन भएको बस्तु बिक्रीमा कुनै पनि समस्या नरहेको उनको भनाइ रहेको छ । निर्वाहमुखी खेति गरेर जीवन गुजारा गरिरहेका पहाडी र उच्च पहाडी क्षेत्रका किसानहरूलाई ब्यवसायिक खेती गराउनेको लागि यसरी पैचो पसल प्रालि सुरु गरिएको प्रबन्ध निर्देशक धु्रब न्यौपाने बताउँछन् । उनका अनुसार २०७१ जेठ ७ गते पैंचो स्थापना भएको हो । सुरुमा गुल्मी, पाल्पा र अर्घाखाँचीका कृषकहरूबाट उत्पादित तथा संकलित कृषिजन्य वस्तुहरू फलफूल, तरकारी, दलहन, नगदेवाली तथा जडिबुटी खरिद गरी उपभोक्तालाई सुलभ मूल्यमा बिक्री गर्ने उद्देश्यले खोलिएको उनको भनाइ रहेको छ ।
प्रसिद्ध धार्मिक स्थल गुल्मीको रुरु गाउँपालिकाको रिडी बजार नजिकै स्थापित पैचो प्रशोधन उद्योगले जुस, जाम, सस, अचार, आटो, पिठो, सिन्की, मस्यौरा, केचप, फ्रोजन भेटिजेवल लगायत दर्जनौं कृषिजन्य वस्तुको उत्पादन र प्रशोधन गरिरहेको छ । प्रबन्ध निर्देशक न्यौपाने भन्छन्–‘पैंचो पसलले गुल्मी, पाल्पा र रूपन्देही गरि ८ पैंचो पसलका शाखा र १८ पैचो संकलन केन्द्रहरू संचालन गरेको छ ।’ गुल्मीको तम्घास र पाल्पाको तानसेनमा अत्याधुनिक डिपार्टमेण्ट स्टोर्स संचालन गर्दै आएको छ भने रूपन्देहीको बुटवलमा पश्चिम नेपालकै पहिलो तरकारी र फलफूलको सपिङ कम्प्लेक्स संचालन गरेको छ । गुल्मीमा मात्रै ४० हजार हेक्टर भूमिमा कृषकहरू कृषि उत्पादनमा सहभागी भइरहेका छन् । à