© २०२३
दक्षिण कोरियाबाट घर फर्केपछि के काम गर्ने होला भनेर अलमलिएका सुरेश घर्तिको आजभोलीको दिनचर्या बाख्राको स्याहार सुसारमा बित्ने गरेको छ । बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामको फापरखेतका घर्तिको दैनिकी बिहानदेखि साँझसम्मै बाख्राको हेरचाहमा बित्ने गरेको छ ।
घर नजिकैको गोठमा ४० वटा बाख्रा पालेका घर्ति बाख्राको खोर बनाउने, सरसफाई गर्ने र बाख्रा चराउने लगायतका व्यवस्थापनमा लागेका छन् । सुरेशसंगै उनकी श्रीमती र परिवारका अन्य सदस्य समेत यतिबेला बाख्रापालनमा केन्द्रीत भएका छन् ।
घर्ती दक्षिण कोरिया गई ३ वर्ष दुःख पाएको बताउँदै विदेशमा जत्तिको दुःख आफ्नै भूमिमा गर्ने हो भने विदेशमा जति पैसा आफ्नै गाउँमा कमाउन सकिन्छ भन्ने उद्देश्यले बाख्रापालन थालनी गरेको बताए । बाख्रापालनबाट मनग्गे आम्दानी हुने हुँदा यही पेशालाई बढाउँदै लैजाने सोंचमा उनी छन् । सुरेश मात्रै होइन, रोजगारीका लागि बहराइनमा गएर लामो समय दुःख पाएका यही ठाउँका मेखबहादुर पुन पनि अब विदेश नजाने सोंचाईमा छन् । विदेशमा कडा परिश्रम गर्दा बिरामी परेको दुखेसो पोख्दै विदेश भन्दा स्वदेशमै केही गर्न सकिन्छ कि ? भनेर बाख्रापालन सुरु गरेको उनको भनाइ छ । उनले अब यही पेसालाई अगाडी बढाउने साेंचमा रहेको बताए । विदेशमा गरेको धेरै कमाई भन्दा स्वदेशमा गरेको थोरै कमाई गर्विलो हुन थालेको छ, त्यसैले अब यतै बाख्रा, कुखुरा पालेर परिवार पाल्ने योजना बनाएको छु उनले भने ।
सुरेश र मेखबहादुरसँगै त्यहीँका चन्द्रबहादुर पुनको परिवार पनि बाख्रापालन व्यवसायमा लागेको छ । प्यारालाइसिसले ग्रसित बनेका चन्द्रबहादुरको परिवार बाख्रापालन व्यवसायमा केन्द्रीत गराउने अभियानमै जुटेका छन् । उनले पनि ४० वटा बाख्रा पालेका छन् ।