© २०२३
च्याउ उत्पादक किसान संघले च्याउ किसानका समस्या समाधानको लागि प्रदेश नम्बर ५ का कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेललाई ज्ञापन पत्र बुझाएको छ । च्याउ उत्पादक किसान संघका केन्द्रीय सदस्य गंगाधर शर्मा नेतृत्वको एक टोलीले बुधबार प्रदेश नम्बर ५ की भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई भेटर च्याउ किसानहरूको समस्या समाधानको लागि माग सहित ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउँदै केन्द्रीय सदस्य शर्माले च्याउ उत्पादक किसानहरू गुणस्तरिय च्याउको विउ नभएको कारण जहिले पनि मर्कामा परेको भन्दै प्रदेश ५ लाई नै व्यवस्था हुने गरी आधुनिक ल्याब आवश्यक रहेको बताएका थिए । उनले च्याउ किसानहरूलाई कृषि उपज केन्द्रमा च्याउ राख्ने वातावरण नभएको, हाट बजारहरूमा च्याउ किसानहरूलाई पनि राख्न नदिएको लगायत आधुनिक च्याउ खेती तालिममा किसानहरूलाई सहभागी गराउनको लागि समेत आग्रह गरेका थिए ।
ज्ञापन पत्र बुझ्दै कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश नम्बर ५ मा एउटा च्याउको विउको परिक्षण गर्ने ल्याब सञ्चालनको लागि मन्त्रालयबाट पहल गर्न प्रतिवद्वता जनाएकी थिईन् । यस्तै उनले च्याउको आधुनिक खेती बारेमा एउटा नमुना प्रदर्शन निर्माणको लागि आफूले पहल गरिने जानकारी गराएकी थिईन् । उनले भनिन्–‘सबै किसानहरूलाई समेट्ने गरी एउटा नमुना हेर्न लाएक च्याउको नमुना बनाउनको लागि हामीले पहल
गर्ने छौं । ’