© २०२३
पद्मप्रसाद शर्मा
चाहे राजनीति होस् चाहे ब्यापार होस् कुनै पनि स्थानमा आत्तिने तात्तिने र मात्तिनेहरूले सपार होइन बिगार गर्ने गर्दछन् । राजनीति र ब्यापार मात्र नभएर चाहे कृषि पेशामा लाग्नेहरू होउन् चाहे राज्यको सेवामा लाग्नेहरू होउन् सबैमा धैर्यताको आवश्यक्ता पर्दछ । धैर्य धारण गर्न नसक्नेहरू कुनै पनि स्थानमा लामो समय स्थिर भएर रहन सक्दैनन् । जुन ब्यक्तिमा स्थिरता हुँदैन त्यसले कुनै पनि स्थानमा र कुनै पनि क्षेत्रमा दीर्घकालसम्म राम्रो काम गरिरहन सक्दैन । सम्यमताको कुरा गर्दा राजनीति गर्नेहरू सबैभन्दा सम्यम रहन जरुरी छ ।
एउटा किसान अस्थिर भयो भने उसको परिवार भोको रहन्छ । एउटा ब्यापारी अस्थिर भयो भने उसको पनि आफ्नो परिवारको आम्दानी घट्न जानेछ । तर राजनीति गर्नेहरू अत्तिए वा मात्तिए भने देश बरवाद हुन्छ । त्यस्तै राष्ट्रसेवकहरू आत्तिए मात्तिए वा तात्तिए भने सारा काम लथालिंग हुन्छ । सेवाग्राहीले सेवा नपाउनु एउटा कुरा भयो काममा बाधा पर्नुका साथै नियम कानून समेत सबै बर्बाद हुन्छ । जसले जतिसुकै गफ चुटे पनि राजनीति गर्नेहरूलाई घुमाउने र नियमको पालना गर्न लगाउने सबै राष्ट्रसेवकहरू नै हुन् । हुन त देशको सबै मामलामा राजनीति गर्नेहरू नै अगाडि रहनु पर्ने हो, तर नेपालमा राजनीति गर्नेहरूलाई दोश्रो स्थानमा पाउन सकिन्छ । यसको सिधा अर्थ हुन्छ राजनीति गर्नेहरूमध्येमा अधिकांशको योग्यतामा प्रश्नवाचक चिन्ह लाग्ने गर्दछ । राजनीति अन्यत्रको भन्दा हाम्रो मुलुकमा थोरै भिन्न पाइन्छ । अन्य मुलुकमा राजनीति गर्नेहरू केही मात्रामा सेवाभावले ओतप्रोत भएका हुन्छन् भने हाम्रो मुलुकमा राजनीति गर्नेहरू अधिकांश द्वैध चरित्रका पाइन्छन् । पहिलो त राजनीति गर्नेहरू पहिलेको तुलनामा अहिले अध्ययन गर्दैनन् । अध्ययन नगर्नेहरू अर्काको भरमा रहनु पर्दछ । यसमा कुनै शंका नगरे पनि हुन्छ ।
राष्ट्रसेवकहरू जो सम्यम रहन सक्दैन उनीहरूबाट समय र राज्यको कोषका साथै जनस्तरबाट पनि आर्थिक अपेक्षा गर्न सक्छन् । त्यतिमात्र नभएर यसमा अहिलेसम्मको सबै रेकर्ड हेर्दा उनीहरू जनस्तरबाट अत्यधिक रकमको अपेक्षा गरेर बसेका हुन्छन् भन्ने प्रमाणित भएको छ । जब उनीहरूको हातमा त्यो रकम प्राप्त हुँदैन त्यस समयसम्म जनताको काममा अति ढिलाइ गर्ने गर्दछन् । यो पनि अत्तिने मात्तिने र तात्तिने भित्र पर्दछ । उनीहरू जनताको हातबाट जब विना कारण रकम लिने सोंच बनाउँछन् अनि राज्यको काममा बाधा पर्न जान्छ । यो चानचुने कुरा होइन । असारे विकासले कर्मचारीलाई आत्तिने र मात्तिने अनि तात्तिने सबै बनाएको छ । यस्तो खालको कृयाकलाप निकै अगाडी देखि चलि आएकाले राष्ट्रसेवकलाई यो प्रथाले गोलमाल बनाएर मालामाल बन्ने रहरमा बदनाम कमाएको देखिएको छ । यसै अर्थिक वर्षको पहिलो महिनामा कति राष्ट्रसेवक आत्तिए कति मात्तिए र कति तात्तिए यसको लेखो अहिले रहेको छ । हामीले दिनहूँ यस्ता अत्तिएका मात्तिएका खवर सुन्न र पढ्न पाएका छौं । यो उहाँहरूको लागिमात्र नभएर भोलिको पिंढीलाई पनि बद्नामको पगरी गुथाएको हुनेछ । अहिले जसरी फलाना जिल्ला र फलाना कार्यालयको इञ्जिनियर तथा फलना कार्यालयको फलाना सबइञ्जिनियर तथा फलाना कार्यालयको फलानु नासु रंगेहात समातिएका समाचार बाहिर आईरहेका छन् । यसले के संकेत गर्दछ ? के यसले राज्यको इज्जत बढेको छ कि राजनीति गर्नेहरूको मानमा मान थपिएको छ ? सम्भवतः यस्ता समाचार थोरै भए पनि राजनीति गर्ने तथा राज्य सञ्चालक बनेर कूर्सीमा पुग्नु भएकाहरूको कमजोरी पनि हुन सक्छ । किनकी राज्यमा परिचालन हुने नीति र सुशासनको जिम्मेवारी उहाँहरूकै हो । देशको सबै क्षेत्र सञ्चालन गर्ने उहाँहरूकै जिम्मामा रहेको हुन्छ । जनप्रतिनिधि नभएको समयमा जनताले भोगेको के हो ? यसलाई फेरि यहाँ दोह¥याउनु पर्दैन । देशका सम्वाहकहरू आफै मत्तिने आत्तिने र तात्तिने अवस्था आयो भने देशको अवस्था कस्तो होला ? राजनीति गर्नेहरूको कुरालाई कहिल्यै पनि कम मूल्यांकन गर्न हुँदैन । यो मुलुकमा राष्ट्रपति देखि गाउँपालिकाको सदस्यसम्म राजनीति गर्नेहरू नै हुनुहुन्छ । एकाधजना स्वतन्त्रको तर्फबाट विजयी भए पनि उहाँहरू पनि हिंजोसम्म कुनै न कुनै दलमा आवद्ध हुनुहुन्थ्यो पदका निम्ति दल छोडेको न हो । स्वतन्त्र भन्नु पनि राजनीति नै हो । निर्वाचनमा उठ्नु र उठाउनु दुबै राजनीतिका कुराहरू हुन् । राजनीति गर्न नजान्नेहरू कोही पनि निर्वाचनमा होमिन मञ्जुर गर्दैन । पदका हिसाबले ठूलो सानो भन्ने होइन, जिम्मेवारीको हिसाब खोज्नु पर्दछ । जिम्मेवारी बहन गर्ने बाचा गरेर जनप्रतिनिहरू वा राजनीति गर्नेहरू वर्तमानमा ओहदामा पुग्नु भएको छ भने पद को ठूलो र को सानो भन्ने हुँदैन । राष्ट्रपतिले आफै कुनै पनि काम गर्ने अधिकार हाम्रो संविधानले दिएको छैन तर गाउँपालिकाको अध्यक्ष वा सदस्यले धेरै अधिकार पाएको हुन्छ । अब पदको हिसाब गर्ने होइन कि जिम्मेवारीको कुरा गर्ने हो ।
गहन जिम्मेवारीको पगरी पाएको राजनीतिकर्मीले आफू कसरी सम्यम रहने र आफू मातहतका कर्मचारीलाई अत्तिने र मात्तिने बानिबाट कसरी बचाउने भन्ने कुरामा सजग हुनु पर्दछ । राष्ट्रसेवकहरू आत्तिने र मात्तिने गर्नाले देशको इज्जतमा समेत धक्का लाग्न सक्छ । त्यस्तै हो राजनीति गर्नेहरूको आचरण पनि । राजनीति गर्नेहरूले उनीहरूलाई नीति तथा नियम भित्र राख्नु पर्दछ । जुन राजनीतिज्ञहरू आफू अठिलो अवस्थामा हुनुहुन्छ, अरूको तुलनामा अध्ययन गर्ने उमेरमा कलेजमा जाने समय र अवसर धेरै पाउनु भएको थियो, अनि गोजीमा राम्रो डिग्री पनि छ भने उहाँहरूको काम कुरामा थोरै भए पनि भिन्नता हुनेछ । उहाँहरूले आफू सम्यम रहेर राष्ट्रसेवकहरूलाई आत्तिन र मात्तिनबाट बचाउन सक्नुहुनेछ । जो आफै सम्यम हुनुहुन्न उहाँले अरूलाई कसरी अत्तिन र मात्तिनबाट बचाउन सक्नु होला ?
हामीले कृषकहरू मत्तिने कुरा पनि उठायौं तर एउटा कृषकको कुरामात्र त्यस्तो भयो भने खासै फरक पर्दैन । तर यस्तै धेरै किसान आत्तिने र मात्तिने भए भने यो देशको अन्नको रास कस्तो होला ? आम नागरिकको मुखमा माड लाग्ला कि नलाग्ला ? हामी पुरै विदेशीको भरमा रहनु पर्ने हुन्छ । विदेशीको भरमा बाँच्नु भन्दा आफ्ना कृषकहरूलाई पनि आत्तिने र मात्तिनेबाट बचाउनु पर्दछ । उहाँहरूलाई वास्तवमा आत्तिन र मात्तिनबाट बचाउनु राजनीतिकर्मी तथा राज्य सञ्चलाकहरूको जिम्मेवारी भित्र पर्दछ । जुसुकै राज्यमा पनि अगुवाई गर्ने भनेको राज्य सञ्चालकहरू ले नै हो । सबैको मियोमा राजनीतिकर्मी तथा राज्य सञ्चालकहरू रहने भएको हुनाले सबै भन्दा सजग त्यही वर्ग हुन आवश्यक छ ।
राजनीतिकर्मी, राष्ट्रसेवक जंगी, नेपाल प्रहरी, शिक्षक तथा कर्मचारी, कृषक तथा ब्यापारीहरू मात्र होइन जो कोहीले पनि आफूलाई सम्यम राख्न सक्नु र जान्नु पर्दछ । सम्यम पनि एउटा इज्जतको मैदान हो । सम्यम राख्न नसक्ने र अहिले चर्चामा रहेको इञ्जिनियर तथा सब इञ्जिनियरहरू र नासु लगायतका ब्यक्तिहरू रंगेहात पक्राउ परेको खबरले आजको लागि त नाक चेप्राउने भयो र उनीहरूका परिवारमात्र नभएर आफन्तहरूले पनि समाजमा मुख देखाउन गाह्रो हुने भएको छ भने यही कारणले गाउँ समाजमा भोलिको लागि पनि राम्रो सन्देश दिँदैन । सम्यमता गुमाउनेहरूले आफ्नो गोजी त भर्ने जमर्को गरे तर त्यो पनि सफल भएन तसर्थ यस्तो कार्यबाट सबै चनाखो रहने र अत्तिने मात्तिने र तात्तिने कुराले साँच्चि विगार गर्छ भन्ने कुरा समयमै बुझ्नु पर्दछ ।