© २०२३
बसन्त पोखरेल
कुनै यस्तो बेला पनि थियो जसलाई निकै सदुपयोग गरिन्थ्यो । बरु अहिले दुरूपयोग गरिएको छ । सन्दर्भ नाग पञ्चमीको हो । हाम्रो कुलघराना टपरा टक्टकाउने घराना हो । बाजेले टपराहरू टक्टकाए । यद्यपि मलाई बाजेको अनुहार कस्तो थियो देख्ने मौका मिलेन । बाबाले टक्टकाए । बाबाको पछिपछि लागेर धेरै दर्जन टपराहरू मैले आफ्नो जीवनमा पनि टक्टकाएँ । बाबाले जे सिकाए त्यहि काम छोराहरूले पनि गर्नुपथ्र्यो । पितृ वाक्य उल्लंघन गर्ने साहस, अधिकार हामीमा थिएन । अहिले समय अन्तरालमा म बाबु पनि छुँ र बाजे पनि भएको छु । मैले अह्राएका काम उनीहरूले गरीहाले भने त्यसलाई आश्चर्यको विषय मान्नुपर्ने भएको छ । बाबाले हामीलाई उतिबेला दिनको एकचोटी गालामा चट्काएनन् भने के बिर्सियो, के भुलियो भन्ने लाग्थ्यो । मीठो बोली बोले भने आज के अनर्थ हुनेवाला छ भनेर अनुमान गर्नुपथ्र्यो । अहिले छोराछोरीलाई हप्काउँदा पनि मानवअधिकार हनन भएको मानिन्छ । श्रीमतीसँग चर्को आवाजमा बोलियो भने घरेलु हिंसाको आरोप लाग्न सक्छ । निकै फुकेर बोलचाल गर्नुपर्छ । मुड हेरेर ब्यवहार गर्नुपर्छ ।
नाग पञ्चमी आउनुभन्दा दुई हप्ता अगाडिबाट खासगरी मलाई एउटा नयाँ जागिर मिल्थ्यो । त्यो जागिर भनेको नेपाली कागजमा नागको चित्र बनाउनु हो । नाग कस्तो आकारको कुन नामको बनाउने हो त्यसको सुत्राधार बाबा नै हो । बाबाले बनाउने सबै नागहरू कन्या नाग हुन्थे । तर, खासै राम्रा हुन्थेनन् । कन्याको अनुहार नै भूत, पिशाचको जस्तो बनाइएको हुन्थ्यो । मलाई पनि बाबाले त्यहि नागको चित्र बनाउने कामको जागिर दिनुहुन्थ्यो । शुरुमा सिसाकलमले आकृति बनाउन थालेँ । त्यो जमानामा सिसाकलम त पाइन्थ्यो, तर, साप्नर, इरेजर सिसाकलमसँग किन्ने चलन थिएन । हँसियाले सिसाकलमको टुप्पो निकाल्ने हो, फाटेको चप्पलको तलुवा, लोताको इरेजर बनाएर मेट्ने हो । अचेल नाति, नातिनीहरूलाई दिनको एउटा सिसाकलम, त्यो पनि बीस रूपैयाँ पर्ने खालको चाहिन्छ । दिनहुँ एउटा साप्नर र एउटा इरेजर दिनुपर्छ । नत्र स्कूल जान्न भनेर हड्ताल गर्न थाल्छन् । उनीहरूको मागले हामीलाई नगली सुखै छैन । बाध्य भएर दिनुपर्छ । डा. गोविन्द केसीकोजस्तो हड्ताल त हाम्रो घरमा नाति नातिनीले दिनमा सत्र पटक गर्छन् । आफू केपी ओलीजस्तो निष्ठूर बन्न सकिएन । प्रचण्डलेजस्तो मुण्टो हल्लाएर मान्छे त्रसाउने बिद्या पनि सिकिएन । हँसियाले सिसाकलम ताछेर नेपाली कागजमा कन्या नाग कोर्ने र एकपटक कोरेपछि त्यसमाथि मसीवाला कलमले पुनर्लेखन गर्नुपथ्र्यो । सिसाकलमबाट आकृति लेखेपछि बाबालाई देखाउनु पथ्र्यो । त्यसलाई बाबाले अनुमोदन गर्नुहुन्थ्यो । बल्ल त्यसमाथि मसिवाला कलम चल्थ्यो ।
कन्या नागमा कन्या युवती नै नाग बनेर आफ्नो शरीरमा बसेको बनाउनु पर्छ । माथिल्लो हिस्सा कन्याको, बाँकी हिस्सा नागको हुन्थ्यो । वास्तवमा बाबाले बनाउन खोजेको त्यो नाग कृष्णले बाँसुरी बजाउँदै नागमाथि बसेको र उनलाई पछाडिबाट नागले आफ्नो फँडा फैलाएर सितलता प्रदान गरेको र कृष्णलाई आफ्नो शरीरको आसन दिएको भन्ने सन्दर्भको थियो । कलाकारिताको सिप भएको भए त्यसले एउटा रूप लिन सक्थ्यो । तर, सिप नहुँदा रानी बनाउन खोज्दा कानी बनेको भन्ने उखानजस्तो भएको थियो । नजानेपछि कसको के लाग्छ र ? ज्ञानीले मन्त्र जप्दा शुद्ध जप्छन् र त्यसले सिद्धि प्राप्त हुन्छ । पेसा पण्डितको अपनाउने, तर, अध्ययन सून्य भएका मानिसले मन्त्र त भनिरहेको हुन्छ, नजानेको कारणबाट अशुद्ध जप्दा त्यसले क्षति पुराउँछ रे । बाबाले बनाउने नागको कहानी पनि त्यस्तै थियो । तर पनि सबै जेजमानका दैलोमा टाँसिदिन जानुपर्दा नबनाएर पनि सुखै थिएन । जब मैले अलि कलात्मक ढंगका नागहरू बनाउन थालेँ त्यसपछि त नागहरू बनाउने मेरो ठेक्का जस्तै भयो । बाबाले जाजरकोटे मित भन्ने गर्नुहुन्थ्यो, हामीले पनि बाबा भन्थ्यौँ । त्यहि बाबाले नेपाली कागज बेच्न ल्याउँथे । साउने सक्रान्तिदेखि कागज काट्ने, नाग लेख्ने, रंगाउने मेरो ठेक्कापट्टाको काम शुरु हुन्थ्यो ।
नागहरू बनाउने क्रममा कन्या नाग देखि पद्म नाग, अष्ठ नागहरू मैले निकै संख्यामा बनाएँ । जब कलमले नाग कोरेपछि रंगहरू भरिन्थ्यो, श्लोकहरू लेखिन्थ्यो त्यसपछि ती नागहरू हेर्न लायकका हुन्थे । बाबाले कल्पना नगरेका नागका आकृति मैले बनाउन थालेको थिएँ । आमाले मेरो नाग लेखाइलाई निकै प्रशंसा गर्नुहुन्थ्यो । आमालाई बाबाले भन्नुहुन्थ्योः धेरै छोराको प्रशंसा गर्ने हैन । जेजमान मेरा, नाग लेख्न सिकाउने मैले, मलाई आजसम्म कुनै कुरामा प्रशंसा भएन, छोरोको लागि प्रशंसाका शब्दहरू साँचेकी रैछ हैन ? त्यसपछि आमा केही बोल्नुहुन्थेन । बढी बोल्दा कतै जिब्रो थुतिने पो हो कि भन्ने डर लाथ्योहोला ।
नाग बनाएर सकिएपछि त्यसलाई पुज्ने काम बाबाले गर्नुहुन्थ्यो । ढोकाको सँघारमा लिपपोत गरी गोबरका कलस बनाइएको हुन्थ्यो । त्यसो त नाग पञ्चमीको दिनमा पूरै घर लिपपोत भएको हुन्थ्यो । सँघारमा त्यो कार्यक्रम शुरु भएपछि भित्र बाहिर गर्न अर्को ढोकामात्र प्रयोग गर्नुपथ्र्यो । पिठोलाई दुधमा मुछेर नागको आकृति बनाउनु पथ्र्यो । त्यो काम पनि मैले निर्वाह गर्नु पथ्र्यो । पिठोबाट बनाइएको नागलाई मासका गेडा लगाइदिएर आँखा बनाइथ्यो । रंगले पोतेर साँचै जीवित नाग हो कि भन्ने पार्थेँ । गोबरका कलसमा गाईको पातलो दुध बनाएर भरिन्थ्यो । धूप बत्ती बालिन्थ्यो । बाबाले कुनै संस्कृतको मन्त्रोच्चारण गर्दै पूजा गर्नुहुन्थ्यो । बनाइएका नागहरू त्यहिँ ल्याएर पूजा गर्नुहुन्थ्यो । पूजा कार्य समाप्त भएपछि त्यहि ढोकाको माथि एउटा नाग गोबरको लेप लगाएर टाँस्नुहुन्थ्यो । त्यसपछि अर्को ढोकामा टाँस्न जानुहुन्थ्यो । दुबै ढोकामा टाँसिएपछि बल्ल बाटो खुल्थ्यो । त्यसपछि हामीहरूको अर्को जागिर खुल्थ्यो । सबै नागको पछाडि बाबाले जेजमानको नाम लेखिदिनुभएको हुन्थ्यो । लेखिएकै जेजमानलाई त्यो नाग पुराइदिनु पथ्र्यो । बाहुनले आफै टाँसिदिएमा घर पवित्र हुन्छ भन्ने मान्यता थियो । जेजमानकहाँ गएर डोकोमाथि टेकेर हामीले नाग टाँसिदिन्थ्यौंँ । त्यति गरेपछि सिदा, दक्षिणा पाइन्थ्यो । कतिपयले बाहुनलाई रित्तो मुख पठाउनु हुँदैन भनेर दही, केरा, कतै खिर, कतै हलुवा पुडी आदि खान दिन्थे । केही बनेको छैन भने पनि एक ग्लास दुध त खान दिन्थे नै । दक्षिणा भने मैले नाग लेख्ने बेलासम्म कसैले पनि पाँच रूपैया दिएको थाहा छैन । एक रूपैयाँ, एक मोहर यस्तै हुन्थ्यो दक्षिणाको राशि । कतिपयले एक माना चामल घरमा नहुँदा पछि पुराइदिउँला पनि भन्थे । यसरी नाग पञ्चमीको दिनमा दिनभरी जेजमानका ढोका चाहारेपछि र टपरीहरू टक्टकाएपछि साँझ एक डाली चामल जुट्थ्यो । केही फलफूल जम्मा हुन्थ्यो । फलफूलमा केरा नै बढी मात्रामा मिलेको हुन्थ्यो । कतिपयले आँप पनि दिन्थे । स्याउ, सुन्तला, अंगूर, लिची आदिको त अनुहार कस्तो हुन्थ्यो त्यो पनि देख्ने मौका मिलेको थिएन । त्यसरी जम्मा भएको केरा ल्याएकै दिन जति खान सकिन्थ्यो खाने हो, भोलिपल्ट सबै सड्थे । पैसा भने बाबाले राख्नुहुन्थ्यो ।
अनन्तो बासुकी पद्म, महापद्म तक्षक
कुलि र कर्कटौ शंख कन्यानाग प्रकृतिता… । यस्तै श्लोक मैले नागपञ्चमीको अबसरमा धेरैचोटी लेखेको थिएँ । नाग पञ्चमी हाम्रो लागि एउटा बडो मन लोभाउँदो पर्वको रूपमा आउँथ्यो । मजस्ताको लागि जागिर प्राप्त हुन्थ्यो । कला निखार्ने अबसर मिल्थ्यो । तर, आजभोलि त्यस्ता हातले लेखेका नागहरू जेजमानका ढोकामा टाँस्न जाने हो भने खित्का छाडेर हाँस्छन् । फोटा खिचेर फेसबुकमा पस्कन्छन् । त्यसैले त जमाना फेरियो साइँली…भन्ने गीतले मान्यता पाएको छ । नागपञ्चमीको दिनदेखि त्यतिबेला पहाडी बस्तीमा नागानगेनी नाचको शुरुवात हुन्थ्यो । नाग र नगेनी सिंगारिएर ढलक ढलक नाच्थे । तिनीहरूलाई बिथोल्न र नगिनीलाई अपहरण गर्ने भूमिकामा अर्को पात्र आउँथ्यो । नगेनीलाई एक्लै परेको बेला अपहरणको प्रयास गथ्र्यो । नागले त्यसलाई निकै लखेट्थ्यो । यो नाचको शुरुवात नाग पञ्चमी अथवा आजदेखि हुन्छ । त्यसले पनि नाग पञ्चमीको केही पौराणिक, साँस्कृतिक महŒव छ भन्ने कुराको पुष्टि गर्छ । द्वन्द्वात्मक भौतिकवादी कोणबाट पनि यसको महत्व रहेको छ । जबसम्म प्रकृतिमा सर्पहरू रहन्छन् तबसम्म यसलाई आध्यात्मिक, भौतिकवादी दुबै विचारले महत्व दिएको छ । किनभने त्यो बस्तु हाम्रो समाजमा विद्यमान छ ।