© २०२३
आज फाल्गुन कृष्णदशमी,राष्ट्रका निधि, माता सरस्वतीका वरदपुत्र, गुरुत्व भएका राष्ट्रगुरु योगी नरहरिनाथको नश्वर शरीर पञ्चमहाभूतमा मिली अजर, अमर आत्माब्रह्ममा मिलन भएको पुण्यतिथि । योगी नरहरिनाथले जानिएको यस शरीर वि. सं. १९७१ फाल्गुन महिनाको १७ गतेका दिन नेपालको कालिकोट जिल्ला अन्तर्गत लालु गाउँमा पिता ललितसिंह र माता गौरादेवी थापाका १२ सन्तानहरूमध्येमा माइलो सन्तानका रूपमा भएको थियो । भारद्वाज गोत्रीय कुलमा जन्मिएका योगी नरहरिनाथको बाल्यावस्थाको नाम भने बलवीरसिंह थियो । पछि गोरक्षनाथ परम्परामा गुरु क्षिप्रनाथ योगीबाट दीक्षित भइसकेपछि भने उहाँको नाम योगी नरहरिनाथ रहनपुगेको थियो । बलवीर सिंहलाई अक्षरारम्भको कार्य उनकै माताले गराएकी थिइन् । यसपछिको अध्ययन भने उहाँकै गुरु क्षिप्रनाथको सहयोगले नेपाल र भारतका विभिन्न शैक्षिक संस्थामार्फत् भएको थियो । भारतमा रहँदा त्यहाँको अङ्ग्रेज भगाओ आन्दोलनमा भाग लिई जेलनेल व्यहोरेका योगी नेपालमा आइसकेपछि यहाँको इतिहास आदि विधामा अनुसन्धान गर्न लाग्नुभयो । विदेशीहरूले बङ्गाएर उल्टो पुल्टो पारेका विषयलाई सच्चाई नेपालको वास्तविक इतिहासका बारेमा सबैका सामु छर्लङ्ग पारिदिनुभयो । आफूले मिहिनेत गरी अनुसन्धान गरी प्रकाशन गरिदिएको विषयको पत्यार नलागी विदेशीले भनेका कुराहरूलाई नै आप्तवचन मान्ने त्यतिखेरका सरकार एवं जनताहरूलाई उहाँले यसरी भन्नुहुन्थ्यो –
विदेशीको सिको गरिकन स्वदेशीहरू पनि
उपन्यासैलाई सकलि इतिहासै हुनभनी ।
पढी लेखी घोकी अरूकन बुझाई सब कुरा
अपुरा ती मिथ्या जब हुनगए भ्रान्त जनता ।।
असल वैदिक शिक्षाद्वारा नै मानव जीवनका प्रत्येक पाटामा सुधार ल्याउन सकिन्छ भन्ने मान्यता राख्दै उहाँले मानव सभ्यताको प्राचीन भाषा संस्कृतको अध्ययन÷अध्यापनमा विशेष जोड दिनु्भयो । त्यसैले उहाँबाट नेपालमा संस्कृत विश्वविद्यालय खोल्ने कार्य भएको हो । विदेशीले हामीलाई उल्टापुल्टा कुरा सिकाई मतिभ्रम गराइदिने हुनाले हामीले हाम्रो सभ्यता, हाम्रो संस्कार, हाम्रो धर्म, हाम्रो कर्तव्य जान्न आफुलाई चिन्न संस्कृतको नै अध्ययन गर्नुपर्दछ भन्नुहुन्थ्यो । उहाँद्वारा पटक पटक दोहो¥याइरहने पद्यांश थियो – शिक्षासुधारे सकलसुधारः शिक्षाविकारे सकलविकारः । अङ्ग्रेजहरूले भारतलाई कसरी गुलाम राखेका थिए भन्ने कुरालाई राम्ररी जानेका योगी शिक्षाका नाममा लिइने विदेशी अङ्ग्रेजी मोडलको बाँदरलाई पुर्खा मान्ने खाइसारे र लाइसारे शिक्षाले विकार मात्र ल्याउने भएकाले हामीले ऋषिमुनीहरूलाई पुर्खा मान्ने, विश्वको कल्याण सोँच्ने ज्ञान र विज्ञानले भरिपूर्ण हाम्रै वैदिक शिक्षामा ध्यान पुयाए मात्र सबै क्षेत्रको कल्याण हुने वकालत गरेर जीवनपर्यन्त हिँड्नुभयो । विदेशीका भ्रमपूर्ण इतिहास पढेर आफुलाई वाँदर ठान्ने एवम् तिनीहरूकै योजनामा आफुलाई विदेशबाट भागी यहाँ आइबसेको ठान्ने टपरटुइँया विद्वानहरूलाई यस किसिमका कविताद्वारा ठाडो चुनौति पनि दिनुभयो –
नभालु भ्यागुत्तावनकर न वानर्न त अरू
थिएपूर्खा हाम्रा ऋषिमुनी र द्यौतामनुहरू ।
नहामी आएका भटकि कहिँबाटै प्रकट यो
हिमालै हो हाम्रो उदयहिमधु हिन्दुहरूको ।।
सम्पूर्ण चराचर जगतको मात्र सृष्टि नभएर चराचर जगतका पिता–माताशिव र पार्वतीको प्राकट्य नै यहिँ हिमालैबाट भएको थियो र यहीँबाटै बसाइ सरेर मानवहरू टाढाटाढा गएका थिए भन्ने उहाँको मत थियो । राष्ट्रप्रेमी राष्ट्रगुरुले माता–मातृभूमिबाट टाढा टाढा गई उतै बसेकाहरूलाई यहीँ आफ्नै देशमा फर्की बस्नका लागि आग्रह गर्नुभयो भने विदेशी उपन्यासका कारणले आफूलाई भिन्न मानेकाहरूलाई एकजुट हुन यसरी आह्वान पनि गर्नुभयो –
यसैमा जन्म्यौँ यसैमा हुर्क्यौँ यसैमा विलाऊँ ।
फुटेका भाई जुटेर सबै छुटेको मिलाऊँ ।।
२००७ सालपछिको प्रजातन्त्र र त्यसपछि बनेका सरकारहरूले जनअपेक्षा अनुरूप काम नगरेका कारणले उनीहरूलाई झक्झाकाउँदै पनि आउनुभयो । त्यसैले त्यतिखेरका राजनीतिक दलले उहाँलाई राजाको मान्छे भन्न समेत भ्याए भने उहाँका ऐतिहासिक सङ्ग्रहालयमा आगो लगाउने काम समेत गरे । फेरि राजावादीहरूले चाहिँ जेलनेलसम्म राख्न भ्याए । तर उहाँ कसैको पनि नभई नेपाली आमाको सच्चा देशभक्त सुपुत्र हुनुहुन्थ्यो । राम्रा कुरालाई राम्रो र नराम्रा कुरालाई नराम्रो भन्न उहाँलाई कत्तिपनि हिच्किचाहट थिएन ।
वेदले मार्गनिर्देशन गरे अनुरूप उहाँले विश्वशान्ति र सृष्टिगतिको निरन्तरताका लागि जीवनभर वैदिक यज्ञ गर्दै आउनुभयो । सामान्य मानिसलाई एउटा पनि कोटिहवन गर्न गाह्रो पर्छ तर उहाँले आफ्नो जीवनमा १०८ भन्दा बढी कोटीहवन गर्नुभयो । यज्ञाद् भवतिपर्जन्यःपर्जन्यादन्नसम्भवः भन्ने वैदिक मान्यतामा उहाँ अडिग हुनुहुन्थ्यो । गोरक्ष परम्परा अनुरूप दीक्षित भएपनि उहाँ कहिलेपनि आफ्नो मात्र सम्प्रदायको अन्धभक्त भएर लाग्नुभएन । अनावश्यक चेलाचपेटा बनाएर मात्र हिँड्नुभएन । सबै सम्प्रदायका राम्रा कुराहरूलाई अङ्गिकार गर्नुभयो । वेद र वेदाङ्गका अपूर्व विद्वान् भएरपनि आफुलाई सधैँ एक कक्षाको विद्यार्थीका रूपमा परिभाषित गर्नुभयो । के गर्ने यस किसिमका विशिष्ट विद्वानलाई न त श्री ५ का सरकारले चिने, न त नेपाली नेताका सरकारले चिने । श्री ५ हरू विदेशी रक्सीमै डुबेर उहाँलाई चिन्न सकेनन्, उहाँले भने अनुरूप काम गर्न सकेनन् । नेताहरू विदेशीवादका कुराहरू ल्याएर जनता झुक्याउनमात्र लागे । वेद प्रतिपादित ज्ञान जसलाई गोरक्षावतार योगीद्वारा देखिएको थियो, त्यस्तो अमूल्य र अकाट्य वैदिक साम्यवाद त काङ्ग्रेसलाई कम्युनिष्टको जस्तो लाग्यो, कम्युनिष्टलाई काङ्ग्रेस जस्तो लाग्यो । श्री ५ हरूलाई फेरि कका (कम्युनिष्ट–कांग्रेस) जस्तो लाग्यो । विदेशी मोजमजामै रमेका तीनै किसिमकालाई तिरिमिरि झ्याइँ बन्यो, भेँडाका मुखमा कुभिण्डो हुनपुग्यो ।
तर अब के गर्ने, गएका कुरा गए गए तर पनि ती गएका कुराहरूको शिक्षा लिएर अझैपनि योगीद्वारा लेखिएका, भनिएका कुराहरूलाई हामी एवम् हाम्राहरूले अङ्गिकार गर्ने प्रयास गरौँ । उहाँले भनेका इतिहासका कुरा, आयुर्वेदका कुरा, शिक्षाका कुरा, राज्य प्रणालीका कुरा, सबैकुरा अत्यन्त महत्त्वपूर्ण छन् । नेपालका लागि मात्र नभएर विश्वकै शान्तिका लागि वैदिक साम्यवाद वैज्ञानिक वाद हो । त्यसैले उहाँका यी अमूल्य विषयहरूलाई अङ्गिकार गरी व्यवहारमा लागू गर्न सकियो भने २०५९ फागुन महिनाको १३ गते अर्थात् फाल्गुन कृष्ण दशमीका दिन राष्ट्रदेव पशुपतिनाथ र माता गुह्येश्वरीका काखबाट ब्रह्मलीन हुन पुग्नुभएका योगीप्रतिको सच्चा श्रद्धाञ्जलि हुन पुग्थ्यो ।