© २०२३
नेपालको बुटवल–दोभान क्षेत्रको सिद्धबाबा मन्दिर र भारतको उत्तर प्रदेश (युपी) क्षेत्रको गोरखपुर शहरस्थित गोरखनाथ मन्दिरवीच गाढा सम्बन्ध छ । उक्त तथ्यलाई उजागर गरी प्रचार प्रसार गर्दै धार्मिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले २०८० साल फागुन ४ र ५ गते बुटवलका युवा साइकल यात्रीहरूको एक समूहले बुटवलको सिद्धबाबा धामदेखि भारतको गोरखनाथ मन्दिरसम्म १ सय ३० किलोमिटर लामो दुईदिने साइकल यात्रा कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई र बुटवल युनाइटेड साइक्लिङ्ग क्लबका अध्यक्ष उत्तम श्रेष्ठको अगुवाइमा भएको सो साइकल यात्रा कार्यक्रममा ११ जना यात्री सहभागी थिए । वास्तवमै यी दुई मन्दिर वीच गाढा सम्बन्ध छ । यो सम्बन्धलाई प्रगाढ बनाउने वा जीवन्त तुल्याउने काम राजर्षि भर्तृहरिनाथले गरेका हुन् भन्दा अतिसयोक्ति नहोला । बुटवल–दोभानको सिद्धबाबा–कुहिरेभिर क्षेत्र धेरै साधु सन्तहरूको तपस्या स्थल हो । ति धेरै साधु सन्तहरूमध्ये राजर्षि भर्तृहरि लोकमा प्रसिद्ध भए । सिद्धबाबाको रूपमा कहलिए । भर्तृहरि भारतको उज्जैनका चक्रवर्ति राजा थिए । उज्जैन अहिले भारतको मध्य प्रदेश राज्यमा पर्दछ । राजकाज, भोगविलास र गृहस्थी जीवनकै क्रममा भर्तृहरिलाई बैराग्य उत्पन्न भयो । बैराग्य बोधपछि उनी राजपाट त्यागी ध्यान र ज्ञानको खोजीमा उत्तरापन्थ हिमालय क्षेत्रतर्फ लागे । त्यसक्रममा गोरखपुर शहरस्थित गोरखनाथ मन्दिरमा गुरु गोरखनाथसँग दिक्षा लिई उत्तरापन्थतर्फ अघि बढे । त्यसक्रममा बुटवल–दोभान क्षेत्रको कुहिरेभिरको जङ्गलवीचको गुफामा बसे । तल तिनाउ नदी बगेकी, माथि जङ्गल बीचमा गुफा र गुफा वरीपरी लटरम्म फलफूल फलेका, गुफाक्षेत्रबाट कलकल झरना बगेकी, नजिकै मानव बस्ती पनि रहेको जस्ता विशेषता बोकेको उक्त गुफा साँच्चै सुन्दर र मनमोहक छ । यही गुफालाई भर्तृहरिले ध्यानका लागि उपयुक्त स्थल ठाने र यही गुफामा ध्यानमग्न भए । स्वयं भर्तृहरीले आफ्नो कृति बैराग्य शतकको श्लोक नम्बर ५४ मा लेखेका छन् –“समय–समयमा ऋतु अनुसार आँप आदी मिठा फलफूल खाएर भोक मेटाउन सकिहालिन्छ । प्यास (तिर्खा) मेटाउन पानी पिउनलाई झरना छँदैछ । सुत्नका लागि भँुई र लगाउन (पहिरन) का निम्ति रुखका बोक्राहरू मनग्ये पाइन्छन् । यस्तो स्थितीमा तत्कालै पाइने वा पाउन सकिने धनरूपी मदिरापान गर्ने जस्ता कुमार्गमा आफ्ना इन्द्रिय लगाईरहने दुष्ट व्यक्तिले गर्ने गरेको अपमानलाई स्वीकार गर्नेतर्फ मेरो कुनै चाँसो छैन ।” यस्तो विशेषता भएको ठाउँ उक्त गुफा छ । अहिलेपनि यो गुफासँगै झरना छ । यहीँबाट निस्केको झरना हो चर्चित छरछरे झरना । ठाउँ एकान्त छ । अहिले जङ्गल घटेपनि पहिले सुन्तला र आँपको बगैचा थियो यहाँ । भर्तृहरिनाथले गोरखनाथबाट शिष्यत्व ग्रहण गरेपछि गोरखपुरदेखि उत्तरापन्थको हिमालय क्षेत्रतर्फ लागेको भन्ने भनाई छ । बुटवल–दोभान क्षेत्र उत्तर र दक्षिण ओहोर दोहोर गर्ने दोभान हो । तराइ र पहाडको सङ्गम स्थल हो । गोरखपुरदेखि यो ठाउँ सिधा १ सय ३० किलोमिटर उत्तरमा अवस्थित छ । घना जङ्गल वीचको गुफामा तपस्या गरेको भन्ने जनश्रुतिसँग यो गुफा मिल्दोजुल्दो छ । यसरी राजर्षि भर्तृहरिको तपस्या र अष्टसिद्धि ज्ञानप्राप्ती स्थल हो दोभानको कुहिरेभिर क्षेत्र । भर्तृहरिको बोधगया हो, यो क्षेत्र । अन्य साधु सन्तहरूले पनि यो क्षेत्रमा तपस्या गरी ज्ञान प्राप्त गरे होलान । तर लोकमा भर्तृहरि बढी प्रसिद्ध भए । सिद्धबाबाको रूपमा कहलिए । भर्तृहरिनाथ लगायत सिद्ध पुरुषहरूको तपस्या र ज्ञान प्राप्ती यो स्थलको महिमा फैलाउने वा पूजा आरधना गर्ने उद्देश्यले बुटवल–दोभान क्षेत्रमा सिद्धबाबा मन्दिर स्थापना गरियो ।
बुटवलको सिद्धबाबा मन्दिरमा भर्तृहरिको मुर्ति ससम्मान स्थापना गरिएको छ । यसमा भक्तजनले श्रद्धापूर्वक पूजा प्रार्थना गर्ने गर्दछन् । भर्तृहरिको नाम यस क्षेत्रमा मात्र नभई नेपालमै भरथरि बाबाको रूपमा निकै प्रसिद्ध छ । रूपन्देही क्षेत्रका बासिन्दाहरूले पहिले आफ्नो नयाँ अन्न आदी उत्पादन भरथरी बाबालाई अर्पण गर्ने चलन भएको यस क्षेत्रका बुढापाकाहरू सम्झने गर्दछन् । भर्तृहरिको नाटक पनि यस क्षेत्रमा श्रद्धापूर्वक मन्चन गर्ने गरिन्थ्यो । अहिले नयाँ पुस्तामा यो हराउँदै गएपनि यसलाई पुनर्जागरण गराउनु पर्दछ । जनश्रुति र बुटवलको सिद्धबाबा मन्दिरमा भर्तृहरिको मुर्ति स्थापना आदि तथ्यको आधारमा बुटवल–दोभान क्षेत्रको कुहिरे भिरको गुफा भर्तृहरिको ज्ञान प्राप्ती स्थल हो भन्नु गलत हुने छैन । जनश्रुति इतिहासको महत्वपूर्ण आधार हो । पाल्पा दोभानको गड्डा गाउँका बुढापाकाहरू यही जनश्रुति बताउने गर्दछन् । बुटवल क्षेत्रका बुढापाका र जानकार व्यक्तिहरू पनि यही नै बताउने गर्दछन् । बुटवलको सिद्धबाबा मन्दिरले २०७३ सालमा प्रकाशित गरेको सिद्धबाबा धाम स्मारिकामा समेत यो जनश्रुति सङ्कलन गरी प्रकाशित गरिएको छ । सो स्मारिकाले भर्तृहरिको तपस्या र ज्ञानप्राप्ति स्थल यहि दोभान क्षेत्रको कुहिरे भिरको गुफा हो भनि प्रमाणित गर्ने प्रयास गरेको छ । सो स्मारिकामा भर्तृहरिको विषयमा धेरै विद्वान व्यक्तित्वहरूद्वारा चर्चा गरिएको छ । दोभान क्षेत्र राजर्षि भर्तृहरिको ज्ञान प्राप्ती स्थल हो भनि चर्चा गरियो । अब गोरखनाथ मन्दिरसँगको सम्बन्ध बारे छोटो चर्चा गरौं । भारतको गोरखपुर शहरस्थित गोरखनाथ मन्दिरमा भर्तृहरिनाथलाई नवनाथमध्ये एक भनि ससम्मान मुर्ति स्थापना गरिएको छ । नाथ सम्प्रदायमा भर्तृहरिको उच्च स्थान छ । महिमा छ । नाथ सम्प्रदायका महत्वपूर्ण नवनाथहरू श्री मत्स्येन्द्रनाथ, गोरखनाथ, गहिनीनाथ, जालन्धरनाथ, कानिफनाथ, भर्तृहरिनाथ, रेवणनाथ, नागनाथ र चर्पटीनाथ हुन् । यसरी नाथ सम्प्रदायका नौ महत्वपूर्ण गुरुहरूमध्ये भर्तृहरिनाथ पनि एक हुन । यस्ता महत्वपूर्ण गुरुको तपस्या र ज्ञानप्राप्ती स्थल हो बुटवल–दोभान क्षेत्र । यसरी नाथ सम्प्रदायका अनुयायी वा सनातन धर्मावलम्बीहरूको महत्वपूर्ण तिर्थस्थल हो, बुटवल–दोभान क्षेत्र । भारतको गोरखनाथ मन्दिर र बुटवल–दोभानको सिद्धबाबा मन्दिर वीचको सम्बन्ध थप प्रगाढ बनाई भारतीय धार्मिक पर्यटकहरू बुटवल–दोभान क्षेत्रको पर्यटनमा आउने वातावरण निर्माण गर्नुपर्छ र नेपालबाट गोरखनाथ मन्दिरको भ्रमणमा जाने वातावरण मिलाउनुपर्छ । यो सम्बन्धलाई जोड्ने प्रयास बुटवलका साइकल यात्रीहरूले थालेका छन् । यो सराहनीय कार्य हो ।
भर्तृहरिनाथको जन्मस्थल भारतको उज्जैन क्षेत्र (मध्यप्रदेश), दिक्षा प्राप्तिस्थल भारतकै गोखरनाथ मन्दिर, ज्ञान प्राप्ती स्थल बुटवल–दोभान क्षेत्र (नेपाल) र समाधीस्थल भारतको उत्तर प्रदेशको चुनारगढ क्षेत्रलाई जोडेर भर्तृहरिनाथ पर्यटन सर्किट बनाउनुपर्छ । भर्तृहरिनाथ राजर्षि योगी मात्र नभई कवि र व्याकरणविद् पनि हुन् । उज्जैन स्वयम्मा भारतको एउटा महत्वपूर्ण पर्यटकीय तिर्थस्थल हो । महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । यहाँ हिन्दु धर्मावलम्बीका महत्वपूर्ण मन्दिरहरू छन् । उज्जैन भारतको प्राचीन शहर हो । क्षिप्रा नदी किनारस्थित भारतको यो सुन्दर शहरमा शताब्दीयौं पुरानो प्रसिद्ध महाकालेश्वर मन्दिर छ । हरिसिद्धि मन्दिर छ । उनको दिक्षा प्राप्ति स्थल गोरखनाथ मन्दिर पनि भारतको एउटा महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । भारतको चुनारगढ पनि महत्वपूर्ण पर्यटकीय सम्पदा हो । भर्तृहरिनाथको जीवनीसँग जोडिएका उक्त स्थलमध्ये ज्ञान प्राप्तिस्थल नेपालको बुटवल–दोभान क्षेत्र सबैभन्दा महत्वपूर्ण स्थल हो । यसकारण अब बुटवल–दोभान क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु आजको आवश्यकता हो । नेपालको गोरखा जिल्लामा भर्तृहरिनाथका गुरु, नवनाथ मध्येका एक गोरखनाथको तपस्यास्थल पनि रहेको छ । यसकारण उक्त पर्यटन सर्किटमा गोरखनाथको तपस्यास्थल गोरखा जिल्लालाई पनि जोड्न सकिन्छ । बुटवल–दोभान क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न बुटवल उपमहानगरपालिका र पाल्पाको तिनाउ गाउँपालिकाले सहकार्य गरी योजना तर्जुमा गर्नुपर्छ । बुटवल–दोभान क्षेत्रलाई सिद्ध भर्तृहरिनाथको ज्ञान प्राप्ति स्थल र आदीमानव रामपिथेकसको विचरणस्थलका रूपमा पर्यटकीय विकास र प्रबद्र्धन गर्नुपर्छ । बुटवल–दोभान क्षेत्रमा भर्तृहरिनाथ र अष्टचिरञ्जिवी मध्येका एक अश्वत्थामाका आकर्षक मुर्ति स्थापना गरिनुपर्छ । अश्वत्थामाले पनि यही क्षेत्रमा शान्ति र ज्ञान प्राप्त गरेको जनश्रुति छ । बुटवल–दोभान क्षेत्रको घनाजङ्गल र प्राकृतिक सुन्दरताको संरक्षण गरिनुपर्छ । छरछरे झरनाको संरक्षण गरिनुपर्छ । यसो गर्न सकियो भने यो क्षेत्र पर्यटकीय गन्तव्य बन्नेछ । त्यसैपनि यो लुम्बिनी–तानसेन–पोखराको पर्यटन मार्गमा अवस्थित छ ।