© २०२३
रूपन्देहीको सैनामैना नगरपालिकामा जनप्रतिनिधिले सञ्चालन गरेको विद्यालयमा अनुमति बिना कक्षा संचालन भएको पाइएको छ । यसरी सञ्चालन भएको विद्यालयको अनुगमन गर्न को जाला ? र अनुगमनपछि कार्बाही होला कि, नहोला ? भन्ने प्रश्न उब्जिएको छ । नक्शांकन बिना सामुदायिक विद्यालय समायोजन गर्दै कक्षा घटाएको नगरपालिका भने नीजि विद्यालयले अनुमती बिना कक्षा संचालनको जानकारी हुँदाहँुदै पनि मौन छ । सामुदायिक तथा संस्थागत बिद्यालयले आफ्नो बिद्यालयको विवरण नगर पालिकामा बुझाउनु पर्ने प्रावधान रहेपनि जनप्रतिनिधिको लगानी भएको सहित दुई विद्यालयले झुटो बिवरण बुझाएका छन् । प्याराडाईज ईंङ्लिस स्कुलमा वडा अध्यक्ष सहित कम्तीमा दुई जना जनप्रतिनिधिको लगानी छ ।
सैनामैना नगरपालिका वडा नं. १० मा सञ्चालनमा आएको प्याराडाईज इङ्ग्लिस स्कुल र सैनामैना वडा नं. ८ मा सञ्चालनमा रहेको सनराईज बोर्डिङ्ग स्कुलले कक्षा ४ सम्म अनुमति पाए पनि कक्षा ५ सञ्चालन गरिरहेका छन् । तर नगरपालिकामा भने उनिहरूको भरेको विवरणमा कक्षा ४ सम्म मात्र सञ्चालन गरेको देखाइएको छ । सैनामैना नगर शिक्षा समितिले शैक्षिक शत्र २०७५ का लागि ७ वटा बिद्यालयलाई कक्षा थप गर्ने अनुमति दिएको थियो । जसमा सामुदायिक तर्फ १ मात्र छ भने बाँकी ६ ओटा संस्थागत बिद्यालय रहेका छन् । नगरपालिकाका अनुसार कक्षा थप हुने बिद्यालयमा रेन्वो मन्टेश्वरी स्कुल कक्षा ३, प्याराडाइज ईङ्गलिस स्कुल कक्षा ४, नव प्रगति ईङ्गलिस स्कुल कक्षा ५, आर एच. डि. हिमाल ईङ्गलिस स्कुल कक्षा ८, रूपन्देही मोडर्न ईङ्गलिस स्कुल कक्षा ८, जनकल्याण मा.वि. कक्षा १२ कानुन संकाय र प्रभात ईङ्गलिस बोर्डिङ्ग सेकेन्डरी स्कुल कक्षा ११ होटल ब्यवस्थापन रहेका छन् । प्याराडाईज ईंङ्लिस स्कुलमा स्थानिय जन प्रतिनिधि पनि सञ्चालकको रूपमा रहेका छन् । तर आफैले बनाएको निति नियमलाई कुल्चदै बिद्यालय सञ्चालन भईरहँदा समेत आफुलाई थाहा नभएको भन्ने जवाफ दिने गरेका छन् ।
नीति नियम बनाउने र अनुगमन गर्ने ब्यक्तीबाट नै यस्तो कार्य गरेको पाईए पछि कस्ले अनुगमन गर्ने अब भन्ने शंका उठेको एक स्थानीयले बताए । स्थानीय सरकारलाई विद्यालय तहको शिक्षा हेर्ने अधिकार दिए संगै ऐन कानुन बनाएर अनुगमन र सञ्चालन गर्ने जिम्मेवारी पनि स्थानीय सरकारको हो । तर जिम्मेवार पाएका ब्यक्तीले नै संस्थागत बिद्यालय तर्फको नियगमनलाई वेवास्ता नगरि सामुदायिक तर्फमात्र कडाई गरिनुलाई अर्थपुर्ण रूपमा हेरिएको छ ।
प्याराडाईज ईङ्लिस स्कुलका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले नगरमा चार र पाँच कक्षाको अनुमति मागेकोमा चार कक्षाको मात्र अनुमति पाउँदा यस्तो भएको बताए । अन्य बिद्यालयले पनि यसरी नै चलाइ आएको र कतैबाट अनुगमनमा आएर यसो नगर्नुस् नभनेको जवाफ दिए । शिक्षा जस्तो सम्बेदनशील क्षेत्रमा मनोमानी गरिरहँदा स्थानिय सरकारको रूपमा रहेको सैनामैना नगरपालिकालाई भने हाइसन्चो छ ।
सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख धनिश्वर पन्थीले कुनै पनि बिद्यालयले अनुमति बिना कक्षा सञ्चालन गरेको आफुलाई थाहा नभएको बताए । उनले भने म भर्खर यस स्थानीय तहमा आएको छु यस बारेमा थाहा छैन । यदि अनुमति बिना कक्षा सञ्चालन गरेको पाइए त्यस्ता बिद्यालयले पाइरहेको कक्षा अनुमति समेत खारेज हुन सक्ने पन्थीले बताए ।
नगरपालिकासँग छैन छात्रबृत्ति विवरण
नगरमा रहेका १८ वटा संस्थागत विद्यालयहरूले नियमले दिनुपर्ने छात्रबृत्ति समेत दिएका छैनन् ।
नगरको शिक्षा नियमावली २०७४ मा संस्थागत बिद्यालयले कम्तीमा १० प्रतिशत छात्रबृत्ति दिनु पर्ने र सो छात्रबृत्ति दिएका बिद्यार्थीको नाम, कक्षा र अभिभावकको नाम समेत नगरपालिकामा पेश गर्नुपर्ने उल्लेख छ । शैक्षिक सत्र शुरु भएको ४ महिना पुग्दा समेत विवरण पेश गरेका छैनन् भने नगरपालिकाले पनि छात्रवृत्ती विवरणको लागि ताकेता गरेको छैन । यसरी एकातर्फ सामुदायिक बिद्यालयको शिक्षा सुधार गर्ने उद्देश्यले कडाईका साथ लाग्ने नगरपालिकाले संस्थागत बिद्यालय तर्फ कुनै चासो नदेखाउँदा स्थानियहरू सशंकित बनेका छन्