© २०२३
गत दुई अङ्कमा बुद्धवल्ली (बुटवल) मा बसेर झण्डै तीनदशक अवधी लामो सक्रिय पत्रकार र सामाजिक कार्यकर्ताको रूपमा विचरण गर्दा गरेको अनुभव–अनुभूति व्यक्त गरेँ । पहिलो अङ्कमा देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्था बारेमा अनुभव–अनुभूति व्यक्त गरियो भने दोस्रो अङ्कमा बुटवलको विकासका आधार सम्बन्धी अनुभव–अनुभूति व्यक्त गरियो । तेस्रो अङ्कमा लुम्बिनी प्रदेश क्षेत्रको विकासका आधार के के हुन सक्छन् भन्ने सम्बन्धमा अनुभव–अनुभूति व्यक्त गर्न चाहन्छु । पश्चिम नेपालको प्रमुख औद्योगिक, व्यापारिक, शैक्षिक नगरी बुटवललाई आधार बनाई राष्ट्रिय मूल धारका सञ्चार माध्यम कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, अङ्ग्रेजी दि हिमालयन टाइम्स दैनिक, राष्ट्रिय समाचार समिति र रेडियो नेपालमा आवद्ध भई साविक लुम्बिनी अञ्चलका ६ जिल्ला र अहिले लुम्बिनी प्रदेशका १२ जिल्ला क्षेत्रका राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, खेलकुद, स्वास्थ्य आदि विषयबस्तुबारे दुई दशक बढी लामो समयसम्म समाचार, फिचर र लेखहरू लेख्दा यस क्षेत्रलाई नजिकबाट केलाउने अवसर पाएँ । राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टको साविक लुम्बिनी (गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, रूपन्देही र कपिलबस्तु जिल्ला क्षेत्र), राप्ती (रुकुम, रोल्पा, सल्यान, प्यूठान र दाङ्ग जिल्ला क्षेत्र) र नारायणी (रौतहट, बारा, पर्सा, मकवानपुर र चितवन जिल्ला क्षेत्र) अञ्चल क्षेत्रका गरी १६ जिल्ला क्षेत्रको बुटवलमा स्थापित व्यूरोको प्रमुख (व्यूरो चिफ) रूपमा दुई वर्ष सेवा गर्दा उक्त क्षेत्रको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक आदि गतिविधि समस्या एवं विकासका सम्भावनाहरू राम्रोसँग केलाउने अवसर समेत पाएँ । यस क्षेत्रमा रहेर लामो अवधीको सक्रिय पत्रकारिताको अनुभवको आधारमा म स्पष्टसँग भन्छु– लुम्बिनी प्रदेश क्षेत्रको विकासको मुख्य तीन आधार–पर्यटन, कृषि र औद्योगिकरण हो । लुम्बिनी प्रदेश सरकारले २०८० साल माघ २१ गते सातौं स्थापना दिवस विविध कार्यक्रमकासाथ भव्यरूपले मनायो । प्रदेश क्षेत्रमा एक दिन सरकारी विदा नै दिइयो । तर दुःखकासाथ भन्नुपर्छ– प्रदेश क्षेत्रको विकासका आधार के के हुन सक्छन् भन्ने सम्बन्धमा बहस, छलफल वा प्रगति प्रतिवेदन सार्वजनिक गर्ने जस्ता कार्यक्रम गरिएन । यसबाट स्पष्ट हुन्छ – सरकारको काम गराई तदर्थवादी वा कामचलाउ प्रकृतिको छ ।
लुम्बिनी प्रदेशमा १२ जिल्ला रहेका छन् । गुल्मी, अर्घाखाँची, पाल्पा, रूपन्देही, कपिलबस्तु र नवलपरासी बर्दघाट सुस्ता पश्चिम, बाँके, बर्दिया, दाङ्ग, रुकुम पुर्व, रोल्पा र प्यूठान जिल्ला लुम्बिनी प्रदेश क्षेत्रमा समेटिएका छन् । यो प्रदेश नेपालको चौथो सबैभन्दा बढी जनसङ्ख्या भएको र क्षेत्रफल अनुसार तेस्रो ठूलो प्रदेश हो । यो प्रदेशका ठूला शहर रूपन्देहीका बुटवल र सिद्धार्थनगर (भैरहवा), बाँकेको नेपालगञ्ज, पाल्पाको तानसेन, दाङ्गका घोराही र तुल्सीपुर हुन । यो प्रदेशको विकासको पहिलो मुख्य आधार पर्यटन हो । दोस्रो आधार कृषि हो । तेस्रो आधार औद्योगिकरण हो । अन्य सहायक आधारहरू पनि प्रशस्तै छन् । लुम्बिनी प्रदेशको पर्यटनको विकासको लागि मुख्य सम्पदा शाक्यमुनि बुद्धको जन्मस्थल रूपन्देहीस्थित लुम्बिनी हो । बुद्धले राजकुमारको रूपमा २९ वर्षसम्मको उमेर व्यतित गरेको कपिलबस्तुस्थित तिलौराकोट राजदरबार र बुद्धको अस्थिधातु गाडीएको स्थल नवलपरासीको रामग्राम एवं मावली तथा ससुराली क्षेत्र देवदह आदि बुद्धको जीवनीसँग सम्बन्धित सम्पदा हुन । संसारभरमा करिब १ अर्ब ३० करोड सङ्ख्यामा बौद्ध धर्मावलम्बी भएको तथ्याङ्क छ । सबैले जीवनमा एकपटक बुद्ध जन्मस्थल लुम्बिनीमा पूजा प्रार्थना गर्न चाहन्छन् । एकपटक लुम्बिनी क्षेत्रको दर्शन गर्न चाहन्छन् । स्वयम् बुद्धले मेरो जन्मस्थल लुम्बिनीको तिर्थाटन गर्नाले पूर्व जन्मका पाप नष्ट भई देवलोकमा जन्म हुन्छ भन्नुभएको पाइन्छ । यस कारण सबै बौद्ध धर्मावलम्बीले लुम्बिनीको भ्रमण गर्न चाहन्छन् । अन्य धर्मावलम्बीहरूले पनि लुम्बिनीको भ्रमण गर्न चाहन्छन् । तर दुर्भाग्यको कुरा ! यति धेरै पर्यटक आगमनको चाहना हुँदाहुँदै पनि पूर्वाधार र राम्रो प्रचार प्रसारको कमीले गर्दा यसको १ प्रतिशत पर्यटकलाई पनि हामीले लुम्बिनीमा स्वागत गर्न पाएका छैनौं । सन् २०१९ मा सबैभन्दा बढी १५ लाख आन्तरिक र बाह्य पर्यटकले लुम्बिनी दर्शन गरेको सुचना शाखाको तथ्याङ्क छ । सरकारले तत्काललाई बार्षिक २० लाख पर्यटकलाई मात्र लुम्बिनीमा स्वागत गर्ने सोंच र कार्यक्रम बनाएको पाइन्छ । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि सबैभन्दा बढी बजेट विनियोजन र पहिलो प्राथमिकताको योजना बनाउनु आवश्यक देखिन्छ । लुम्बिनी मुलुककै विकासको लागि एक महत्वपूर्ण आधारस्तम्भ बन्न सक्छ । दोस्रो महत्वपूर्ण पर्यटकीय सम्पदा पनि रूपन्देहीमै छ – वि.सं. १८७१÷७२ मा नेपाल अङ्ग्रेजवीच बुटवलमा युद्ध भएको र नेपालले अङ्ग्रेजलाई जितेको स्थल–जीतगढी । यो महत्वपूर्ण ऐतिहासिक, सामरिक र पुरातात्विक सम्पदाको भ्रमण गर्न संसारभरका पर्यटक आकर्षित हुन सक्छन् ।
यस्तै रूपन्देही र पाल्पाको सिमा दोभानस्थित १ करोड १० लाख वर्ष पुरानो आदिमानव रामपिथेकसको विचरण स्थलमा पनि संसारभरका पर्यटक आकर्षित हुन सक्छन् । पाल्पाको तानसेन र रानीमहल एवं भैरवस्थान मन्दिर पनि पर्यटकीय आकर्षणका श्रोत हुन । प्राकृतिक सुन्दरताको खानी हो तानसेन । पाल्पाको रणउजिरेश्वरी भगवतीजात्रा र अमरनारायण जात्रा पनि पर्यटकीय सम्पदा हुन् । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गममा अवस्थित रुरु (रिडी) क्षेत्र हिन्दू धर्मावलम्बीहरूको महतवपूर्ण तिर्थस्थल हो । यहाँस्थित कालिगण्डकीमा स्नान गर्न वर्षेनी लाखौं भक्तजन पुग्छन् । नेपालका चार धाममध्ये एक हो रुरुक्षेत्र । यसको पर्यटकीय विकास र प्रबर्धन गर्ने हो भने राष्ट्रले ठूलो लाभ लिन सक्छ । गुल्मीको रेसुङ्गा डाँडा पनि एउटा महत्वपूर्ण पर्यटकीय सम्पदा हो । अर्घाखाँचीको सुपादेउराली मन्दिर, उलुक क्षेत्र, पणेना, ठाडा दह, अर्घाको भगवती मन्दिर आदि समेत लुम्बिनी प्रदेशका महत्वपूर्ण पर्यटकीय सम्पदा हुन । दाङ्गको घोराहीस्थित रतननाथ मन्दिर अर्को महत्वपूर्ण पर्यटकीय सम्पदा हो । बर्दियामा राष्ट्रिय निकुन्ज र कृष्णसार संरक्षीत क्षेत्र महत्वपूर्ण पर्यटकीय स्रोत हुन् । बाँकेमा बागेश्वरी मन्दिर र बाँके निकुन्ज पर्यटकीय स्रोत हुन । रोल्पामा हिमाल छन् । रुकुम पुर्व ५२ पोखरी ५३ डाँडा एवं यात्रा गन्तव्यका लागि प्रसिद्ध छ । यो जिल्ला पर्यटकीय सम्पदाकोलागि निकै महत्वपूर्ण छ । यो जिल्लाले धौलागिरी हिमालको पश्चिम भागमा रहेको ढोरपाटन शिकार आरक्षको ६० प्रतिशत भन्दा बढी भाग ओगटेको छ । हिमाली भेग, धौलागिरी हिमश्रृङ्खला र खाम मगर संस्कृतिको लागि यो जिल्ला महत्वपूर्ण पर्यटकीय सम्पदा हो । प्यूठानस्थित महत्वपूर्ण पर्यटकीय सम्पदा हो –स्वर्गद्वारी । महाभारत युद्धपछि पाँच पाण्डवहरू यहीँबाट स्वर्ग प्रस्थान गरेको भन्ने किम्बदन्ति छ । स्वर्गद्वारी महाप्रभु (हंसानन्द गिरी) को यज्ञस्थल एवं तपस्यास्थल पनि हो यो । स्वर्गद्वारी महाप्रभु शिव अवतारको रूपमा लोकमा पूज्य हुनुहुन्छ । यसरी लुम्बिनी प्रदेश पर्यटकीय सम्पदाको खानी हो । पर्यटन उद्योगको विकास र विस्तार एवं प्रबद्र्धनको माध्यमबाट यो प्रदेशले समृद्धि हासिल गर्न सक्छ । यो प्रदेश भौगोलिक, प्राकृतिक, जातीयता र सांस्कृतिक विविधताले पनि भरिपूर्ण छ । पर्यटकीय स्रोतले भरिपूर्ण छ । कपिलबस्तुको जगदिशपुर ताल, पाल्पाको सुकेताल आदी महत्वपूर्ण तालतलैया र सिमसार क्षेत्र समेत यस प्रदेशका महत्वपूर्ण पर्यटकीय स्रोत हुन । थारु, मगर, क्षेत्री आदि विविध जातजातिका परम्परागत सांस्कृतिक गतिविधि पनि पर्यटकीय स्रोतका रूपमा छन् । अतः लुम्बिनी प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर विकासका योजना बनाउनु उपयुक्त देखिन्छ ।
लुम्बिनी प्रदेशको विकासको दोस्रो महत्वपूर्ण आधार कृषि हो । रूपन्देही, कपिलबस्तु, नवलपरासी, दाङ्ग, बाँके, बर्दिया जस्ता तराईका अन्न भण्डार मानिने जिल्लाहरू यस प्रदेशमा छन् । गुल्मी, अर्घाखाँची, पाल्पा आदी पहाडी जिल्लामा पनि उब्जनीशील बेंसी र फाँटहरू प्रशस्त छन् । तर दुःखको कुरा ! तराइका उर्वर खेतहरू पहाडबाट तराई र शहरी क्षेत्रमा बसाईसराईका कारण कङ्क्रिटको जङ्गलमा रूपान्तरण हुँदै गईरहेका छन् भने पहाडका बेंसी र फाँटहरू बाँझीन थालीसकेका छन् । सरकारको विकास सम्बन्धी स्पष्ट नीति र कार्यक्रम नभएकाले यस्तो अवस्था बनेको हो । असन्तुलित विकासको कारण पनि यस्तो भएको हो ।
लुम्बिनी प्रदेशको विकास वा समृद्धिको तेस्रो आधार औद्योगिकरण हो । औद्योगिकरणको लागि स्रोत र पूर्वाधार प्रशस्त छन् यो प्रदेशमा । औद्योगिकरणलाई पनि सरकारले प्राथमिकतापूर्वक योजना बनाई अघि बढ्नु आवश्यक देखिन्छ । शिक्षा, स्वास्थ्य, सञ्चार, सडक जस्ता विकासका पूर्वाधारहरू धेरैजसो विकास भईसकेका छन् यो प्रदेशमा । यसरी यो प्रदेशले स्पष्ट योजना र कार्यक्रमकासाथ दूरदर्शी ढङ्गले अगाडी बढ्ने हो भने छोटो समयमै समृद्धि हासिल गर्न सक्छ । समग्र राष्ट्रको विकासमा समेत ठोस योगदान दिन सक्छ । महत्वपूर्ण आधार स्तम्भ बन्न सक्छ ।
यहाँ विकासका तीन महत्वपूर्ण आधार मात्र प्रस्तुत गरिएको छ । अन्य सहायक आधारहरू पनि धेरै छन् । लुम्बिनी भ्रमणमा आउने विदेशी र स्वदेशी पर्यटकलाई उनीहरूको बसाई अवधी लम्ब्याउन लुम्बिनी बाहेक अन्य महत्वपूर्ण पर्यटकीय सम्पदामा पनि पु¥याउने वातावरण तयार गर्नुपर्छ । प्रदेश सरकारले प्रशस्त सङ्ख्यामा पर्यटक पथ प्रदर्शक र पर्यटकीय सम्पदाका कथावाचक तयार गर्नुपर्छ । पर्यटन व्यवसायीहरूले पर्यटकहरूलाई घुमाउने वातावरण तयार गर्नुपर्छ । कृषि सम्बन्धी ठूल्ठूला उत्पादन र विक्री वितरणका केन्द्रहरू विकास गर्नुपर्छ । बौद्ध र हिन्दूका धार्मिक पर्यटकीय स्थलहरूको सन्तुलित ढङ्गले विकास गर्नुपर्छ । लुम्बिनीपछि जितगढी, स्वर्गद्वारी, रुरुक्षेत्र, रेसुङ्गा क्षेत्र आदि सम्पदालाई प्राथमिकतामा राखेर योजना बनाउनु आवश्यक देखिन्छ । हिन्दू मुस्लिमको समान आस्थाको केन्द्र नवलपरासीको मदारबाबाको मेलालाई पनि सुव्यवस्थित ढङ्गले सञ्चालन गरिनुपर्छ । अन्तमा, बुद्ध जन्मस्थल लुम्बिनीको नामबाट यो प्रदेशको नामकरण गरिएको छ । लुम्बिनीको पर्यटकीय विकास र प्रबद्र्धनबाट नै यो प्रदेशले समृद्धि हासिल गर्न सक्छ । पर्यटन, कृषि र औद्योगिकरणको गतिलाई तिव्रता पूर्वक अघि बढाउन आवश्यक देखिन्छ । यो प्रदेशको भविष्य उज्ज्वल छ ।